भक्तपुरमा ज्योतिर्लिङ्ग निर्माणका लागि महायज्ञ सुरु

Posted on: 22 Sep, 2017

असोज ६, भक्तपुर। भक्तपुर नगरकोट तेलकोटस्थित जालपादेवी मन्दिर परिसरमा चौसठ्ठी ज्योर्तिलिङ्ग निर्माण गर्न श्रीमत् भागवत महायज्ञ शुरु गरिएको छ । 

आजबाट नौं दिनसम्म चल्ने भागवतको श्री १००८ मुक्तिनाथ बाबा कमलनयना चार्यले उद्घाटन गर्दै धर्मको रक्षा र समाज कल्याण गर्न धार्मिक अनुष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 

जालपादेवी मन्दिर प्राङ्गणमा शुरु भएको महायज्ञबाट संकलन गरिएको रकमबाट मन्दिर परिसरमा चौसठ्ठी ज्योर्तिलिङ्ग निर्माण, मन्दिरमा विभिन्न देवीको मूर्ति निर्माण र मन्दिरको अन्य भौतिक संरचना मर्मत गरिने जालपादेवी रामायण भजन संगितकला कुञ्जका अध्यक्ष हरिराम बजगाईंले जानकारी दिनुभयो ।

उहाँले महायज्ञबाट रु ५० लाख रकम संकलन गर्ने लक्ष्य राखेको बताउनुभयो । महायज्ञको कथाबाचन बालव्यास आचार्य पण्डित रामहरि अधिकारीले गरिरहनु भएको छ ।   रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!