ट्याक्सीभित्र हत्या गरेको अवस्थामा शव फेला

Posted on: 08 Nov, 2017

कात्तिक २२, भक्तपुर  । मध्यपुर थिमि–२, सानोथिमिस्थित मनोहरा फाँट नजिकै ट्याक्सीभित्र एक व्यक्तिको हत्या गरेको अवस्थामा शव फेला परेको छ । 

दिव्यश्वरी जग्गा एकीकरण आयोजना क्षेत्रभित्र बा१ज १०४० नंको ट्याक्सीभित्र सर्लाही घुर्कौली घर भई हाल ललितपुरको कुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्काको शव हत्या गरेको अवस्थामा फेला परेको हो । 

मनोहरा फाँटमा रोकीराखेको सेतो रंगको ट्याक्सीको पछाडि सिटमा खड्काको शव फेला परेको हो । रातो हुकभित्र हरियो भेस्ट र खैरो पाइन्ट लगाएका खड्काको अनुहारमा चिन्न नसकिने गरी चोट लागेको छ । खड्काको अनुहारमा ढुंगाले हानेको जस्तो देखिएको प्रहरीको भनाइ छ । 

घटनाको जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण राणाको नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । 

घटनाका सम्बन्धमा अपराध महाशाखाको टोलीले समेत अनुसन्धान थालेको छ । शवको मुचुल्का तयार गरी अहिले शवपरीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी भइरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!