प्रदेश नं ३ : दुई विधेयक पारित

Posted on: 16 May, 2019

जेठ २ हेटौँडा । प्रदेश नम्बर नं ३ को प्रदेशसभाको बैठकले प्रदेशमा बीउबिजनको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशमा कृषि व्यवसाय प्रवर्द्धन गर्न बनेको विधेयक २०७६ लाई सर्वसम्मतिबाट गरेको छ । आज बसेको प्रदेशसभा बैठकमा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले ती दुवै विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।

 छलफलमा सहभागी सदस्यले उठाउनुभएको जिज्ञासालाई मन्त्री लामाले जवाफ दिँदै बहुसङ्ख्यक खेतीयोग्य जमीनलाई बाँझो राख्ने प्रचलनलाई अब प्रदेश सरकारले सामूहिक खेतीको माध्यमबाट अन्त्य गर्ने र कृषि उत्पादन वृद्धि गर्नेतर्फ नीतिगत कार्यक्रममा बजेट तर्जुमा गरिन लागेको बताउनुभयो । उहाँले सिँचाइ प्रणालीलाई नयाँ प्रविधिबाट प्रत्येक किसानको खेतमा नहरबाट पानी उपलब्ध गराउने परियोजना सञ्चालन गर्नेतर्फ सरकार क्रियाशील रहने जानकारी दिनुभयो । 

बजेटको सैद्धान्तिक र प्राथमिकताका विषयमा छलफल  

प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्ष ०७६/०७७ को लागि विनियोजित बजेटको सैद्धान्तिक र प्राथमिकताको विषयमा छलफलको लागि प्रस्ताव राख्नुभएको थियो ।

 सोही बैठकमा विधेयकमाथि छलफलमा सहभागी सदस्यले दलगत स्वार्थभन्दा माथि उठेर जनतालाई दिगो र पारदर्शी ढङ्गबाट नीति कार्यक्रम ल्याउनुपर्ने र सुगमभन्दा दुर्गम भेगका जनतालाई राहत पुग्ने विकास बजेट ल्याउन सुझाव राख्नुभएको थियो । 

उहाँहरुले प्रदेशको १३ जिल्लामा राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्न क्रमशः प्राथमिकता तोकिनुपर्ने र कर प्रणालीलाई सहज तरिकाबाट सर्वसाधारण नागरिकले कर तिर्न पाउनुपर्ने एवं ती निकायले छिटो छरितो ती सेवाग्राहीलाई नकुराइ सेवामा प्रभावकारिता ल्याउन आग्रह गर्नुभयो । प्रदेशमा राजश्व कर र अशुलीमा तीव्रता ल्याउने बहानामा स्थानीय निकायले सर्वसाधारणको लागि दिइने सेवामा जबर्जस्ती करको दायरामा वृद्धि गरिनुले सर्वसाधारणले निकै कष्ट भोग्नुपरेको तथ्य प्रस्तुत गर्दै कर असुलीमा सहज र चुस्त पार्न उहाँहरुले आग्रह गर्नुभयो । 

प्रदेश नं ३ मा पर्यटकीयस्थलका रुपमा रहेको गौरीशङ्कर हिमालदेखि राष्ट्रिय निकुञ्ज, ऐतिहासिक गढीलगायत महत्वपूर्ण धरोहर रहेको स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा आधुनिकरण गरी स्थानीय तहमा सर्वसाधारणलाई आयमूलक कार्यक्रमको सञ्चालन गर्नेतर्फ सरकारले नीतिगत कार्यक्रममा समेटिनुपर्नेमा जोड दिइएको थियो ।

 प्रदेशसभा बैठकमा सो विधेयकमाथि प्रदेशसभाका २२ सदस्यले बोल्ने समय माग गर्नुभएकोमध्ये आठ सदस्यले सहभागी भई आ–आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो । ऊक्त विधेयकमा बोल्नुहुने सदस्य त्रमशः ओमबहादुर घलान, कञ्चन खनाल, कल्पना नेपाली, कुसुमकुमार कार्की, कृष्णप्रसाद भुर्तेल, केशवराज पाण्डे, गणेशप्रसाद दुलाल र गीता वाग्ले हुनुहुन्थ्यो ।

प्रदेशसभा सदस्य रामेश्वर फुँयालले प्रदेश नं ३ को स्थायी राजधानी तोक्ने विषयमा कार्यविधिअनुसार प्रस्तावमाथि छलफल गर्न प्रस्ताव राख्नुभएको थियो । उक्त प्रस्तावमाथि छलफलमा सहभागी हुने सदस्यले प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा प्रस्ताव ल्याइदा राजधानीको नामकरण उल्लेख नगरिएको र कुन समयभित्र बैठकमा प्रक्रियाअनुसार अघि बढ्छ भन्ने निश्चित मिति उल्लेख नभएकोमा चिन्ता व्यक्त गरेका थिए ।

 प्रतिपक्ष दलले आ–आफ्नो अभिष्टभन्दा जनतालाई केन्द्रबिन्दुमा राखेर स्थायी राजनीतिको साथै शान्ति सुरक्षालाई सबल पार्ने खालको वातावरण सिर्जना गरी स्थायी राजधानीलाई प्रक्रिया पर्‍याई शान्तिपूर्ण वातावरणमा अवतरण गराउन प्रदेश सरकारलाई उहाँहरुले आग्रह गर्नुभयो । उक्त प्रस्तावमाथि प्रदेशसभा सदस्य प्रभात तामाङ, रमेश पौडेल, प्रेमबहादुर पुलामी, रत्नप्रसाद ढकाल, ओमबहादुर घलान र गीता वाग्लेले छलफलमा सहभागी हुनुहुन्थ्यो । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक जेठ ७ गते अपराह्न २ बजे बस्ने जानकारी दिनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!