प्रदेश ३ को नाम गौरीशङ्कर राख्नुपर्ने बहस

Posted on: 26 May, 2019

जेठ १२ काठमाडौँ । प्रदेश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्नुपर्ने प्रस्तावमाथि बहस शुरु भएको छ । प्रदेशसभा सदस्य विशाल खड्काले उक्त प्रदेशको नामकरण गौरीशङ्कर राख्नुपर्ने प्रस्ताव प्रदेशसभामा दर्ता गराएपछि नामकरणका विषयमा बहस शुरु भएको हो ।

प्रदेश ३ का प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदले सो प्रदेशको नाम गौरीशङ्कर  राख्नपर्ने प्रस्तावमा आज आयोजित कार्यक्रममा हिमालको नामबाट नामकरण गर्दा उपयुक्त हुने विज्ञ तथा सांसदले सुझाव दिएका छन् ।

प्रदेश ३ का प्रदेशसभा सदस्य पूर्वमन्त्री राजेन्द्र पाण्डेले नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रियजगत्मा अझै परिचित गराउन पनि प्रदेश ३ को नाम गौरीशङ्कर राख्न उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले सात वटा प्रदेशमध्ये अन्य प्रदेशले हिमालको नामबाट नामकरण नगरेको हुँदा प्रदेश ३ को नामकरण हिमालको नामबाट राख्न उपयुक्त हुने देखिएको तर्क राख्नुभयो ।

 प्रस्तावक विशाल खड्काले नेपालको पहिचान हिमाल पनि भएकाले आफूले प्रदेश ३ को नामकरण गौरीशङ्कर हिमाल राख्न उपयुक्त हुने प्रस्ताव प्रदेशसभामा पेश गरेको स्पष्ट पार्नुभयो । उहाँले प्रदेश ३ हिमालय शृङ्खलाको बाहुल्यता रहेकोे प्रदेश भएकाले पनि यहाँका सबै समुदायको साझा प्रस्तावका रुपमा गौरीशङ्कर हिमाललाई अघि सारिएको बताउनुभयो ।

सोही प्रदेशसभा सदस्य पशुपति चौलागाईंले पनि प्रदेश ३ को नामकरण गौरीशङ्कर नै राख्नुपर्ने र यसले धार्मिक, सांस्कृतिक तथा १३ वटै जिल्ला देखिन सक्ने धारणा राख्नुभयो । 

 प्रतिनिधिसभाका सांसदहरु पार्वत गरुङ र जीपछिरिङ लामा, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, नेपाली काङ्ग्रेस दोलखा जिल्ला कार्य समितिका सभापति द्रबहादुुर खड्काले प्रदेश ३ को नामकरण गौरीशङ्कर राख्नुपर्ने प्रस्ताव सही भएको धारणा राख्नुभयो ।

वरिष्ठ कलाकार मदनदास श्रेष्ठले सबैको साझा भएकाले प्रदेश ३ को नाम गौरीशङ्कर राख्न राम्रो हुने सुझाव दिनुभयो । संस्कृतिविद् डा जगमान गरुङले गौरीशङ्कर हिमालको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!