भक्तपुरको भेलुखेल सिल गर्दैगर्दा...

Posted on: 20 May, 2020

जेठ ७, भक्तपुर | भक्तपुर नगरपालिका–६ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान हतियारसहित नेपाली सेना र प्रहरी टोली पुग्दा स्थानीयवासी नियमित काममा व्यस्त थिए । प्रहरी देखेपछि किन आए प्रहरी भन्नेबारेमा खैलाबैला भयो । आफ्नै छिमेकीको घरमा एक कोरोना सङ्क्रमित भएर बस्ती सिल गर्ने तयारीका लागि प्रहरी आएको पौने ८ बजेमात्रै थाहा पाए ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानको नेतृत्वको टोली ७ : ३० बजे भेलुखेल पुग्दा बस्तीमा कुनै त्रास थिएन, मान्छे ओहोरदोहोर गरिरहेका थिए, बालबालिका खुला ठाउँमा निर्वाध खेलिरहेका थिए । बस्तीमा बिहानको चहलपहल बाक्लो थियो । जब बिहान ८ बजे प्रहरीले बस्ती सिल गर्ने तयारी गर्दै स्थानीयवासीलाई घर बाहिर ननिस्कन आग्रह गरे तब बल्ल स्थानीयवासीमा एकाएक त्रास फैलियो । स्थानीयको त्रास देखेर प्रहरीले मनोपरामर्श दिन थाले । 

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा भक्तपुरका एक पुरुषमा कोरोना सङ्क्रमितको पुष्टि गरेपछि मंगलबार नै भक्तपुरमा हल्लीखल्ली भयो । भक्तपुरका चारैतीरबाट कहाँको मान्छे होला भन्ने खोजी र त्रास एकैपटक फैलियो । स्थानीय बासिन्दा हो कि, बाहिरबाट आएको मान्छे हो कि, आफ्नै गाउँमा पो पर्यो कि भन्ने त्रास चारवटै नगरपालिका बासिन्दामा रह्यो ।

साँझ पछि भक्तपुर नगरपालिकाभित्रको भन्ने जानकारी आएपछि आरडिटी र पिसीआर परीक्षण गराएका टोलटोलका जनप्रतिनिधिदेखि स्थानीय बासिन्दामा त्रास फैलियो । को हो त सङ्क्रमित भन्ने पहिचान नहुँदा त्रासका बीच बित्यो सिङ्गो रात । त्यो अवधिमा भक्तपुर प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मीदेखि पत्रकारसम्मलाई भक्तपुर कहाँको मान्छे सङ्क्रमित भनेर तारन्तार फोन आउँथ्यो । तर, सबैको एउटै जवाफ आउँथ्यो अझै पत्ता लागेको छैन । 


सुरक्षा निकायले सङ्क्रमितका बारेमा राति मात्रै पत्ता लगायो । मन्त्रालयले गरेको पत्रकार सम्मेलनपछि भक्तपुरका सुरक्षा निकायले समेत सङ्क्रमितको पहिचान र ठेगाना पत्ता लगाउन नसक्दा सुरक्षाकर्मीसमेत राति अबेरसम्म रणभुल्लमा परेका थिए । जब मध्यराति १:३० बजे भक्तपुर नगरपालिका–५ भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई आइसोलेटेड एम्बुलेन्समा राखेर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा लगियो तब मात्रै सुरक्षा निकाय ढुक्क भयो । 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विगतका दुई सङ्क्रमितको छिटो पहिचान हुँदा बस्ती सिल गर्न र ट्रेसिङ गर्न सहज भए पनि मंगलबार भने राति अबेरसम्म पहिचान गर्न गाह्रो भएको बताउनुभयो । काठमाडौँ महानगरपालिकामा फोहर बोक्ने सवारी चालकको काम गर्दै आएका उहाँको महानगरपालिकाले यही जेठ २ गते गरेको स्वाब सङ्कलनको पिसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट रहेको मन्त्रालयको पत्रकार सम्मेलनमा सार्वजनिक भयो । सङ्क्रमित व्यक्ति को हो भन्ने जानकारी मध्यराति मात्रै पाउँदा बस्तीमा धेरै जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित बनेका छन् । 

यो खबरले भक्तपुर नगरपालिका क्षेत्र निकै तरङ्गित बन्यो । भक्तपुरमा सफाइ मजदुर भेलुखेलबाटै जाने भएकाले भक्तपुर नगरपालिकामा पनि सङ्क्रमण फैलिन सक्ने त्रास नगरपालिकामा रहेको छ । मध्यराति पहिचान भएपछि सुरक्षा निकायले आज बिहान ८ बजे भेलुखेल पुगेर बस्ती सिल गरेको छ । बस्ती सिल भएका क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मीले बस्तीभन्दा बाहिर आउन दिएको छैन । स्थानीय बाबुरत्न द्यौलाले आफ्नो बस्तीमा बिहान ८ बजे एकैपटक हतियार बोकेका सेना र प्रहरी आएर तैनाथ हुँदै घर बाहिर ननिस्कन भनेपछि छक्क परेको बताउनुहुन्छ ।

स्वास्थ्य मन्त्रालयले पठाएको नाम र बस्तीबाट सङ्क्रमित व्यक्ति भनेर लगिएको व्यक्तिको नाम फरक परेको स्थानीयवासीको दाबी छ । सुरक्षा निकायका अनुसार सङ्क्रमित भनिएका व्यक्तिको नामको बीचको शब्द फरक परेर नाम आउँदा राति अबेरसम्म सङ्क्रमित पहिचान गर्न गाह्रो भएको हो । प्रहरीले बस्ती सिल गरेसँगै आजै बस्तीमा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने र परीक्षण गर्ने तयारी गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो । 


लकडाउनले नछोएको यो बस्तीमा दिनभर मानिस हिँड्ने, बजार खोल्न कुनै रोकतोक कसैले गरेको थिएन । फलस्वरुप सङ्क्रमित भनिएका व्यक्ति आफ्नो समाज र बस्तीमा सहजरूपमा हुलमिल भएको पाइएकाले अरुको ट्रसिङ र परीक्षण गर्न कठिनाइ भएको सुरक्षाकर्मीको भनाइ छ । बलम्बुको आइसोलेसनमा रहेका सङ्क्रमित भनिएको व्यक्तिले आफूले राति १० बजे यसबारे  थाहा पाए पनि राति १:३० बजे मात्रै एम्बुलेन्स लिन आएको जानकारी दिनुभयो । यसअघि चाँगुनारायण दुवाकोट बस्ने एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र सुनसरीबाट मध्यपुरथिमि शङ्खधर चोकमा साथीको कोठामा बसेकी २५ वर्षीया महिलामा सङ्क्रमणको पुष्टि भएको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!