भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द

Posted on: 18 Oct, 2020

कार्त्तिक २, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । 

काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको दर अत्यधिक बढिरहेकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भई सेवाग्राहीमा समेत सङ्क्रमण फैलन सक्ने अवस्था भएको उहाँले उल्लेख गर्नुभयो ।  

गत असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लाको कुनै पनि भागमा कुनै पनि सेवा रोक लगाउन सक्ने निर्णय गरेको थियो । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाघेकाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयका अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय लगायतसितको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा सेवा प्रवाह बन्द गरिएको हो । जिल्लाका नगरपालिकाहरुले समेत अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । चाँगुनारायण नगरपालिकाले कार्यालयका कर्मचारी र केही जनप्रतिनिधिमा कोरोना सङ्क्रमण बढेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिका कार्यालयले आगामी १५ गतेसम्मका लागि कार्यालय खाले पनि सीमित कर्मचारीले अत्यावश्यक सेवा मात्रै दिने गरी व्यवस्था गरेको छ । 

यस्तै सूर्यविनायक नगरपालिकाले आफ्ना सबै कर्मचारीको स्वाब सङ्कलन गरी कात्तिक २ देखि नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ । नगरपालिकाले स्वाब दिएका सबै कर्मचारीलाई होम क्वारेन्टिनमा राखेको छ भने कात्तिक १२ गते पुनः कर्मचारीको पिसिआर परीक्षण गरी १५ गते रिपोर्ट आएपछि मात्रै १६ गतेदेखि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । 

यसैगरी मध्यपुरथिमि नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण भएपछि एक महिनादेखि अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्दै आएको छ । नगरपालिकाले दशैँ अगाडिसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!