रिहा भएलगत्तै विप्लव समूह परित्याग

Posted on: 30 Apr, 2019

बैशाख १७, भोजपुर । विप्लव समूहका दुई कार्यकर्ताले रिहा भएलगत्तै पार्टी परित्याग गरेका छन् । भैँसीपङ्खाका दीपचन्द्र राई र रमेश राईले रिहा भएसँगै आज पार्टी परित्याग गर्नुभएको हो ।

विप्लव समूहमा संलग्न भई विभिन्न गैरकानूनी क्रियाकलापमा लागेको भन्दै दुवै जनालाई प्रहरीले गत चैत २३ गते पक्राउ गरेको थियो । हिरासतमा रहेका दुवैलाई जिल्ला प्रशासन कार्यालयले रु छ हजार धरौटीमा रिहा गरेको हो  । 

प्रेस विज्ञप्तिमार्फत आफूहरु पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको बताएका हुन् । विज्ञप्तिमा विगतका गतिविधिप्रति आत्मसमीक्षा गर्दै अबउप्रान्त विप्लव समूहमा कुनै किसिमको आबद्धता नरहने उल्लेख छ । 

प्रतिबद्धता विपरीत गतिविधि गरेमा कानूनअनुसारको सजाय भोग्न तयार भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । दुवै जनालाई साधारण तारिखमा रिहा गरिएको प्रजिअ नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!