पूर्वप्रजिअ सहकारीमार्फत चिया खेतीमा रमाउँदै

Posted on: 06 Feb, 2018

माघ २३, भोजपुर । काम गर्दा सानो होइन्छ या ठूला मान्छेले काम गर्दा लाज हुन्छ भन्ने मानसिकता रहेको नेपाली समाजमा एक पूर्व प्रमुख जिल्ला अधिकारी उदाहरणीय बन्नुभएको छ । 

सिडिओ भएर विभिन्न जिल्लामा काम गर्नुभएका र हाल अवकाश प्राप्त भोजपुरको रामप्रसाद राई गाउँपालिकाको होम्तोकका गणेश राईले सहकारी संस्थामार्फत एक हजार रोपनी जग्गामा व्यावसायिक चिया खेती विस्तार गर्न थाल्नुभएको छ । 

काठमाडौँ महानगरमा प्रमुखको रुपमा समेत सेवा गरिसक्नुभएका पूर्वसहसचिव राईको आजभोलि अधिकांश समय चियाको बिरुवा विस्तार, हेरचाह, कर्मचारी व्यवस्थापनलगायतमा दिन बित्ने गरेको छ । निजामतीमा लामो समय खर्चिनुभएका राईले कृषि पेशालाई सम्मानजनक पेशाका रूपमा विकास गर्न चाहनुभएको छ । 


राईले कृषि सहकारी संस्थामार्फत रु दुई करोड स्थीर पूँजीसहित कूल रु तीन करोडको लगानीमा यो कार्यको शुरुवात गर्नुभएको हो । नेपाली युवा रोजगारीको खोजीमा दिन प्रतिदिन विदेश गइरहेका बेला नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने हिम्मतका साथ कृषिमा लागेको उहाँको भनाइ छ । 

खाद्यान्न बालीबाट भन्दा चिया खेतीबाट धेरै आम्दानी लिन सकिने राईले बताउनुभयो । थामडाँडा टेम्के कृषि सहकारी संस्था लिको हाल अध्यक्ष रहनुभएका राईले आफूसँगै १३ जनालाई रोजगारसमेत दिनुभएको छ । 

सहकारीका ओख्रे बगान, बतासे चिया नर्सरी, भन्ज्याङखर्क चिया बगान, भस्मेचौर चिया नर्सरी, चखेवा चिया बगान, कुइभिर चिया बगानलगायत १६ वटा बगानमा छ लाख चियाको बिरुवा विस्तार गरेको बताउँदै राईले भन्नुभयो अझै बिरुवा विस्तार गर्ने सोचमा छु । 

यो कृषि सहकारीलाई अर्थोडक्स चिया प्रशोधन कारखाना स्थापना तथा चिया खेतीको व्यावसायिकतामा जोड दिन उन्नति समावेशी वृद्धि कार्यक्रमले समेत आर्थिक सहयोग गरेको छ । राईले उन्नति कार्यक्रमसँगको सहकार्यमा चिया खेतीसम्बन्धी ७१ जना सदस्यलाई तालीमसमेत दिइसक्नुभएको छ । 

भोजपुरमा पछिल्लो समय उहाँको उदाहरणीय कार्यलाई देखेर धेरै युवा कृषि व्यवसायतिर आकर्षित हुन थालेका छन् । राई सहकारीका साथै नेपाली काँग्रेसको राजनीतिमा समेत आबद्ध रहँदै आउनुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!