शिक्षण अस्पतालमा उपचारार्थ शान्तालाई पुनः सहयोग

Posted on: 30 Jan, 2018

माघ १६, भोजपुर | ‘भोजपुर हातेमालो समाज युएई’ले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८, गोगनेकी शान्ता राईलाई थप रकम रु १८ हजार ५०० सहयोग गरेको छ । 

समाजले संकलन गरेको रकम काठमाडौँ शिक्षण अस्पतालमा उपचार गराइरहेकी शान्ता राईलाई पुनः सहयोग रकम हस्तान्तरण गरेको हो । समाजले यसअघि पनि रु ४० हजार रकम हस्तान्तरण गरेको थियो । राईको परिवार गोगनेमा जन्मभई हाल धरानमा अस्थायीरुपमा बस्दै आएका छन् । 

वैदेशिक रोजगारका क्रममा तीन वर्षअघि इराक पुगेकी राईलाई घरेलु कामदार बनाएर मालिकले शारीरिक यातना दिँदा चिन्ताजनक रुपमा नेपाल फर्काइएको थियो । 

मालिकको यातनाका कारण गम्भीर घाइते अवस्थामा नेपाल आएकी राईको ढाड र दुवै खुट्टामा समस्या देखिएको थियो । हाल ढाड र दुवै खुट्टामा गम्भीर समस्या देखिएको उनको धरानमा दुई हप्ता उपचार पछि काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

आर्थिक समस्याका कारण जीविकोपार्जनका लागि विदेशिएकी राई यातनाका कारण जटिल समस्यामा परेकाले उनको उपचारको लागि युएई समाजले रकम सहयोग गर्ने निर्णय गरेको समाजका महासचिव तीर्थ योन्जनले जानकारी दिनुभयो । कूल रु ५८ हजार ५०० रकम सहयोग गरिसकेको सो समाजले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!