भोजपुर ट्रेल रेस फागुन ४ मा, फ्रिवाइफाइ जोन उद्घाटन

Posted on: 11 Feb, 2019

माघ २८, भोजपुर (रासस) |  चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि यहाँ शुरु हुने भएको छ । 

मीरा राईको जन्मस्थलबाट शुरु हुने ३६ किलोमिटरको दूरीको दौडमा पौवादुङमा गाउँपालिकाको सानोदुङमा माध्यामिक विद्यालयबाट दीर्घेभञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचधारे देउराली हुँदै भोजपुर सदरमुकामको शहीद पार्कमा पुगेर सम्पन्न हुने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेमी भोजपुरले जनाएको छ । रेसमा आन्तरिकसँगै अन्य देशका धावकको पनि सहभागिता रहने जनाइएको छ । 

आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले खेलक्षेत्रको विकास र विस्तारका लागि नीति नै बनाएर लाग्ने बताउनुभयो । मीरा राई आफ्नो गाउँपालिकामा जन्मेर विश्वसमक्ष देशको नाम चिनाउन सफल भएकाले मीराको नाममा बहुउद्देश्य रङ्गशालासँगै सामुदायिक भवनसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो । 

फ्रिवाइफाइ जोन उद्घाटन 

भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन गरिएको छ । क्याम्पस प्रशासन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा इन्टरनेट जडान गरी क्याम्पसलाई फ्रिवाइफाइ जोन घोषणा गरिएको हो । 

आइतबार सरस्वती पूजाको अवसर पारेर जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले इन्टरनेट फ्रि जोन उद्घाटन गर्नुभएको हो । क्याम्पसमा स्ववियुको सक्रियतामा भोजपुरे हातेमालो समाज बहराइन, नेपाल बैंक लिमिटेड, क्याम्पस प्रशासनको सहयोगमा इन्टरनेट सेवा विस्तार गरिएको हो । क्याम्पसमा इन्टरनेट सेवा जडान गरिएपछि अध्ययन अध्यापनसँगै प्रशासनिक गतिविधि सञ्चालन गर्न सहज भएको भोजपुर बहुमुखी क्याम्पस सहायक क्याम्पस प्रमुख उत्तमसिं राईले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!