आहाराको खोजीमा बगेका आँशुहरु

Posted on: 15 Oct, 2016

नर बहादुर कार्की | 

गरिब अनाथ, बालक हामी, छैन कोई सहारा,

कटौरी बन्यो, जिन्दगी हजुर, खानलाई आहारा ।

अंकल आन्टी, दाइदिदी भनें, सहारा देऊन,

लात् मारे भने, निर्दयी हजुर, भिखारी यी हुन ।

भूँडिवाल आए, कड्केर बोले, खाते चुप् भनेर,

एक रुप्याँ माग्नु, बाध्यता हजुर, भिखारी बनेर ।

भोक लाग्यो दाइ, भाइले भन्यो, के दिऊ खानलाई,

चिच्याइ रोएँ, मन दुख्यो हजुर, ठाउँ छैन जानलाई ।

नाङ्गै छ शरीर, भोकै छ पेट, बाँचू म कसरी,

आमाबा दुबै, परलोक हजुर, चोट छ मनभरि ।

रुखको अडेस, बाटोमा बस्यौं, थापेर एक् भाडोँ,

आइजा हे काल, जप्दै छु हजुर, लगिजा हे चाडोँ ।

हे भगवान, किन जनम दिन्छौं, म जस्ता दुखीलाई,

न सक्छु मर्न, न बाँच्न हजुर, काल भो मुखिलाई ।

जन्म प्रकृतिको नियम । सन्तती बढाउन होस् या संसार चलाउन भनौ, हरेक सजिब प्राणीले आफूजस्तै अर्को प्रतिमुर्ति बनाइनै रहेका हुन्छन् । यसै संसारका प्राणीहरु मध्येकै थिए मेरा आमाबा पनि । चाहेर होस् या नचाहेरै होस् । जे होस् मेरो आमाबाले पनि यस संसारको रितिथिति पूरा गरेरै छोड्ने बिचार गरेछन् क्यारे । म आमाको पेटभित्र कोपिला भइसकेको रहेछु । मैले २०६१ साल बैशाख १२ गते सोमबार दिउसो २ बजे यस संसारमा पहिलो पटक स्वास फेरेँ । आँखा उघारें । हात खुट्टा चलमलाएँ । च्याहाँ च्याहाँ गरेर रोएको थिएँ ।

म आमाबाको पहिलो सन्तान थिएँ । बा पन्जाबको जलान्धर स्थित एक कम्पनिमा चौकिदारी गर्थे । मेरो जन्ममा खुशी मनाउन मेरा बा म जन्मेको तिन दिनमै भारतबाट तुरुन्त नेपाल घर पुगेका थिएँ । म जन्मेको ६ दिनमा खुब धुमधामसँग छैटी खेलाएका थिए । त्यसै दिन भाविनीले मेरो निधारमा भाग्यको रेखा कोरिदिएकी थिइन् । त्यो दिन मेरा आमाबा खुब रमाएका थिएँ । गाउँमा पनि मेरो खुब चर्चा चलेको थियो । गाउलेहरु हेर्न आउदा आमालाई भन्ने गर्थे, ’माइलीले त पहिलो जत्कालमै बाउसे पाई । साह्रै राम्रो बच्चा छ । चकोरका जस्ता आँखा । चौडा निधार । गोरो बर्ण । ठूलै मान्छे होला जस्तो छ ।’ आमा साह्रै खुसी हुन्थिन् रे । बाले मेरो न्वारनको दिन हेराइकोराइ गरेछन्। दशऔं दिन पुगेको अवसरमा मेरो न्वारन गराएरै छाडें । नभन्दै बाहुनले मेरो नाम धनपति राखिदिएका थिए अनि भनेका थिए, ’धनपति ठूलो मान्छे बन्छ । महिनाको लाखौं रुपैयाँ कमाउने योग छ । या त ठूलो नेता बन्छ । या त प्रख्यात उद्योगपति बन्छ ।’ आमाबा त्यो भबिष्यबाणी सुनेर साह्रै खुसी भएका थिए ।

मेरो न्वारन सकेर बा भारततिर गएका थिए । ६ महिनापछि बा फेरि घर फिरेका थिए । मलाई छ महिना पुगेपछि मेरो पास्नी पनि खुब धुम धामसँग मनाइएको थियो । खसी काटेर गाउँलेहरुलाई दरो भोज खुवाइएको थियो । जेहोस् मेरा बाल्यकालका दिनहरु रमाइलोसँग बितिरहेका थिए । म ठुलो भएर कक्षा १ मा भर्ना भइसकेको थिएँ । म जन्मेको ६ बर्ष पछि अर्थात २०६७ सालमा मेरो भाइ धनमालको जन्म भयो । दुनै दाइभाइको नाम ध पहिलो अक्षरबाट आयो । धनपति र धनमाल दुबै भाइका नामहरु धनैसँग जोडिए । म मेरो सानो भाईलाई खुबै माया गर्थे । खेलाउथेँ । आमाबा पनि रमाइ नै रहेका थिएँ । बा पनि भारतबाट चाडपर्बमा घर आइरहन्थे । मेरो लागि लुगा कपडा र चकलेट बिस्कुट आदि खानेकुराहरु ल्याइ रहन्थे ।

मेरो सानो भाइ धनमाललाई १ बर्ष पुगेको थियो । अकस्मात् एक दिन आमाका हात खुट्टाहरु सुन्निएर सिमलको फेदजस्तै मोटा भए । गाउँको स्वास्थ्य चौकीमा जादाँ आमालाई राम्रो अस्पताल गएर चेकअप गराउने सल्लाह दिए । आमाले बालाई फोन गरिन् । फोन गरेको तेस्रो दिन बा जलान्धरबाट घर पुगेँ । अरु ठाउँ लैजानु भन्दा इन्डिया नै लैजाने बिचार गरे । २०६८ साल चैत्र १८ गते बाले आमालाई इन्डिया लैजाने तयारी गरे । भाइ सानै थियो । उसलाई लैजानै पर्ने थियो । आमाबाले मलाई पनि आफूसँगै लगेर जाने बिचार गरे । गोठमा रहेको गाईलाई बाले गाउँलेका जिम्मा लगाइदिए । हामी चारै प्राणी आमाबा र छोराहरु जालन्धरको बाटोतिर लम्कियौं । दुई दिनको कठिन यात्रापछि बल्ल जालन्धर पुग्यौँ । मलाई जालन्धर नयाँ लाग्यौं । सायद ७ बर्षको कलिलो बालक हुनाले होला । गाडीहरु कुदेका देखें । रमाइलो मानेँ । आमा बढिबढि सुनिदै गएकी थिइन् । आमाको अनुहार पनि नचिनिने भइसकेको थुयो । बाले आमालाई हस्पिटल लगे। सम्पूर्ण बडिको चेक अप गराउनु पर्ने भयो । बाले पाँच हजार भारु जम्मा गरे । आमाको चेकअप गराए । आमाका दुबै मृगौला फेल भएको रिपोर्ट आयो । बा छाङ्गाबाट खसे जस्तै भए । आमा रुन थालिन् । बाले डक्टरसँग सल्लाह गरे । डाक्टरले तुरुन्तै अप्रेसन गरेर मृगौला प्रत्यारोपण गर्नुपर्ने नत्र बिरामीको ज्यान जान सक्ने कुरा बतायो । मृगौला प्रत्यारोपणका लागि ७ लाख भारु लाग्ने कुरा बतायो । ’हे भगवान के गर्ने ?’ बा अल्मल्ल परेका थिए । शरीरभरि चिटचिट पसिना आएको थियो । आमाको तुरुन्तै मृगौलाको डाइलसिस गर्नुपर्ने भयो । एक पटकको डायलसिको मात्र २००० भारु. खर्च हुदो रहेछ । मेरा बा त्यो दिनदेखि जिउदै लास बनेका थिए । कम्पनिबाट पनि काममा तुरुन्त आउनु पर्यो भन्ने फोन आउन सुरु भइसकेको थियो । आमालाई छोडेर बाले नोकरीको वास्ता गरेनन् । बरु गाउँ जाने योजना बनाए । गाउँमा रहेको जग्गाजमिन बेचेर भएपनि आमाको उपचार गराएरै छाड्ने निधो गरे । आमाको डायलसिसको लागि अस्पतालमा पैसा जम्मा गरिदिए । हाम्रा लागि १ महिना पुग्ने गरी रासनपानी पनि जम्मा गरेर बा डोटी नेपाल फर्के । हाम्रा गाउँमा १०र१० नाला बिउँ लाग्ने दुईवटा खेत थिए । अतासले गर्दा १० र १० लाखमा बिक्रिहुने खेत ५र ५ लाखमै राजिनामा गरिदिएछन् । साँग स्वाडो, उजगलो सबै बिक्रि गरे । १० लाख भारु जति जम्मा गरेर बा १६ औं दिनमा जालन्धर पुगे । दोस्रो दिन बिहानै कम्पनीको हालचाल बुझेर आउछु भनी कम्पनी पुगेका थिए। कम्पनीमा चौकिदारको जागिर चट् भइसकेको रहेछ । आँखाभरि आसुँ पार्दै अध्यारो मुख लगाएर बा घर फर्केका थिए ।

यसरी आमाको उपचारका लागि पैसा त जम्मा भयो । फेरि समस्या मृगौलाको पर्यो । प्रत्यारोपणका लागि कसको मृगौला माग्ने ? फेरि बाले अर्को ठूलो निर्णय गरे । आफ्नो एउटा मृगौला आमालाई दिने बिचार गरे। आमाले त नदिनु । मरे पनि मनै मर्छु । यी केटाकेटीहरुको राम्रोसँग हेरबिचार गरिदिनु भनेकी थिइन् । एक पटक होइन पटकपटक अनुरोध गर्दै भनेकी थिइन् । बाले मानेनन् । बाले अस्पतालमा ७ लाख रुपैयाँ जम्मा गरे । आमा र बा दुबैको अप्रेसन भयो । बाको दाँया मृगौला निकालेर आमाको शरिरमा टान्सपलान्ट गरियो । आमा बा दुबै ३ हप्तासम्म अस्पताल बसे । म बालक आमाबाको कुरुवा बसें । भाइ धनमालको पनि रेखदेख र समाल्ने काम पनि मैले गरेँ । भाइ रोएर खुब सताउथ्यो । म तिन हप्तासम्म निकै हैरान भइसकेको थिएँ । ३ हप्ता पछि आमाबा अस्पतालबाट डिसचार्ज भए । सबै जनाको अनुहारमा थोरै भएपनि चमक आएको थियो । त्योदिन खुसी हुँदै आफ्नो डेरा गएका थियौं । आमालाई सन्चो भए जस्तो लागेको थियो । त्योसाझँ मैले पानीसानी राखिदिए पछि आमाले खाना पकाएर सबैलाई खुवाएकी थिइन् । साँझ आमा आनन्दसँग सुतेकी थिइन् । बिहानै हामी तिनै बाउछोरा उठ्यौँ । तर आमा उठिनन् । मैले आमा आमा भनेर डाकेँ । बाले धनपतिकी आमा धनपतिकी आमा भनेर डाके । तर आमा उठिनन् । बाले आमालाई छामे । आमाले हामी सबैलाई छोडेर यस संसरबाट बिदा लिइसकेकी रहिछन् । त्योदिन हाम्रा बाउछोराहरु खुब रोएका थियौं । त्यस पछिका दिनहरु दुस्खका दिनहरु बन्दै गए । बाको नोकरी छुट्यो । नेपालतिरको भएभरको जग्गाजमिन सबै सखाप भयो । भएको रुपैयाँ पैसा पनि सकियो । न त आमाको ज्याननै बचाउन सकियो । न त सम्पतिनै बाकी रहयो । सानो भाइ धनमाल आमाआमा भनेर रात दिन रोइरहन्थ्यो । बा र मलाई सताइरहन्थ्यो । साचिक्कै मर्नु न बाच्नु जिन्दगी भइसकेको थियो । २ महिना पछिफेरि जीवन गुजारा गर्न बा अर्को कम्पनीमा चौकीदारी गर्न थाले । चौकीदारी गरेरै दुई बर्षसम्म बाले हाम्रो पालनपोषण गरे । भाइ चार बर्षको भयो । म नौ बर्षको भएँ । नजकैको बाडरडिङ् स्कुलमा बाले मलाई कक्षा २ मा भर्ना गरिदिए । भाइलाई नर्सरीमा भर्ना गरे । म आफूसँगै भाइलाई पनि स्कुल लगेर जान्थें । बा साझँ ८ बजे नाइट ड्युटीमा जान्थे । बिहान ६ बजे घर फर्कन्थे । खाना पकाउँथे । आफू खान्थे । हामीलाई खुवाउँथे । हामीलाई स्कुल पठाउथे । बाको ड्युटीको दैनिकी यस्तै थियो ।

सधैझैँ त्योदिन पनि बा ड्युटीमा गएका थिए । सधैँ बिहान छ बजे डेरा पुग्थे । तर त्योबिहान छ बजे डेरा आएनन् । सात बजे पनि आएनन् । ८, ९, १०, ११ बज्यो । बा आएनन् । कुर्दा कुर्दा आँखा दुखे । ’दाइ भोक लाग्यो, दाइभाइ भोक लाग्यो’ भनेर मेरो भाइ रुन थाल्यो । तर पनि बा आएनन् । बा आएर खाना पकाउलान् भनेर कुर्दाकुर्दै भोकै बस्नुपर्ने स्थिति आयो । त्योदिन स्कुल पनि गएनौ । अध्याँरो मुखपारेर बाको बाटो कुर्दै डेरामा बसिरहेका थियौँ । बाहिर सानो पट्याङ्पुटिङ् हुदाँ पनि बा आए भनेर मन फुल्थ्यो । खुशी हुन्थ्यो मन । ’भाइ बा आए’ भन्दै बाहिर हेर्न जान्थे । बाहिर अरु कोही हुन्थे । बा हुन्थेनन् । निरास हुदै कोठा भित्र जान्थे । ’दाइ बाबा आए ?’ भाइ सोध्थ्यो । दिउंसोको बाह्र बज्यो । अझै बा आएनन् । आउदै छन् भनेर दिउँसभरि भुल्याइरहेँ । दिउँसोको १ बजेतिर कसैले डेराको ढोका खटखटाएको आवाज आयो । बा आए भनेर दुबै भाई खुसीले गद् गद् भयौं । मैले प्रफुलित हुदै ढोका खोलेको थिएँ । तर पनि बा आएका रहेनछन् । त्यो नचिनेको बिरानो मान्छे थियो । बा उसलाई बिहारी हो भन्थे । सगैँ चौकीदारी गर्छ भन्थे । ऊ कहिलकहीँ हाम्रो डेरामा आउथ्यो । ऊ केही बोलेन । पटक्क मेरो हात समात्यो । म डराएँ । किन यसरी मेरो हात समात्यो होला ? तर केही बोलिनँ । उसले बाहिर लग्यो । नबोलेरै सरासर उसैसँग बाहिर गएँ। मेरो पछिपछि रुदैं मेरो भाइपनि सँगै बाहिर आएको थियो । ’यो तेरो बुवाको लास । बाटोमा आउँदा गाडीमा ठक्कर लागेर मर्यो । घर मालिकले गेटभित्र लान दिएन । गेट बाहिरै राखिदिएँ । म गएँ ।’ ऊ हिड्यो । मेरो भाइ पनि रुन थाल्यो । मेरा बाको लास जीउभरि रगतले पोतिएको थियो । कपडा च्यातिएर लास ठाउँठाउँ नाङ्गिएको थियो । गुप्त अङ्ग समेत नाङ्गिएको थियो । मेरो होस हवास उड्यो । म बेहोस भएर त्यही ढलेछु । पत्तै पाइनँ । मेरो भाइ रुन सम्म रोएछ । केही सीप नलागेपछि बाको रगताम्य लासमाथि टाउको राखेर सुतेको रहेछ । ३ घन्टा पछि मेरो होस् खुल्यो । हामी दुबै भाइका लुगा कपडाहरु रगतले पोतिसकेका थिए । आफ्नो शरीरमा कट्टु मात्र बाकी राखेर सबै रगताम्य कपडाहरु शरीरबाट उतारेँ । बाको लासलाई ओढाएँ । भाइलाई ब्युझाएँ । भाइका रगताम्य कपडा पनि उतारेँ । ती पनि बाको लासलाई ओढाएँ । डेराभित्र फर्केर हेर्न समेत मनले मानेन । बाहिरै रहेको सानोडिक्ची समाते । त्यसैलाई माग्ने भाडो बनाएँ । साँझको पाँच बजिसकेको थियो । सडको पेटीपेटी हिडेँ । जा जा सकिन्थ्यो हिडेँ । भाइलाई पिठ्युमा बोक्दै रुदै कराउदै डेढ घन्टा डिडेपछि साह्रै थाइ लाग्यो । भाइलाई समातेर रुदै चिच्याउदै रुखमा अडेस लाएर बसेको थिएँ । घाम डाँडोमा डुब्न थालिसकेको थियो । बाटोमा मान्छेहरुको ओहरदोहर हुदै थियो । साह्रै भोक लागेको अनुभूति गरिरहेको थिएँ । तर खाने के ? जाने कहाँ ? अत्तोपत्तो थिएन । यसरी जीवन गुजाराका लागि रुदै कराउदै भिख मागिरहेको छु । मेरो भाइ ’भोक लाग्यो दाइ, के खाऊ ?’ भनेर रोइरहेको छ । अब म के गरौ ? मेरो जिन्दगीको बेहाल भएको छ । आहाराको खोजीमा सडक पेटीमा बसी आसुँहरु खसालिरहेको छु ।

यसरी एउटै दिन, एउटै समय, एउटै पल, एउटै घडी कसैका लागि रजाँइ बनेर बहिदिन्छ । कसैका लागि सजाय बनेर बुनेका सम्पूर्ण सपनाहरु चकनाचुर पारिदिन्छ । क्षणभरमै जिन्दगीनै मरुभूमि पारिदिन्छ । मनभरि बनाइका सपनारुपि बालुवा उडाएर टाढाँ टाँढा लगिदिन्छ । कहाँ लग्छ । लग्छ । अत्तो पत्तो नहुने ठाँहरुमा बिलिन गराइ दिन्छ । समय फलिफाप भइकाहरु आलिसान महलका मालिक बन्छन् । महलको पदर्दा्भित्र जिन्दगीरुपि मदिराको रसदपान गर्नमै जीवन बिताइरहेका हुन्छन् । बिडम्पना म जस्तै धनपति नामका मजुर, किसान, गरिबका छोराछोरीहरु अभाबको जीन्दगी बिताइरहेका छन् । आहाराको खोजीमा आँसुका थोपाहरु खसाल्दै गल्ली गल्लीमा खाते बनेका छन् । असहाय बनेका छन् । टुहुरा बनेका छन् । अनि बेसहारा पनि बनेर मेरा पाइलाहरु हरेक दिन सडकको दुरी नापि रहेका छन् । महलका पर्दा भित्रबाट हेर्दा हरियाली देखिने यो संसार महल पर्दा बाहिर आएर हेर्दा साचिक्कै फरक देखिदैन होला र ?........

(फोटो साभारः प्रेम रोदनको फेसबुक स्टाटसबाट)

लेखकः (शिक्षण पेशामा आबद्ध हुनु हुन्छ । ) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!