सुखको खोजी

Posted on: 16 Oct, 2016


-राजु विक

जीवन संघर्षको अन्तिम लक्ष्य नै सुख प्राप्ती नै हो ।
मानिस मात्रै होइन संसारका सबै प्राणीहरु सुखका भोका हुन्छन् ।
प्राणीमध्ये सुखको अधिक भोको प्राणी मानिस नै हो ।
जो कोही मानिस सुखको लागि मरिरहेको हुन्छ । सुखको लागि अरुलाई मारिरहेको पनि हुन्छ भन्दा अतियुक्ति नहोला ।
तर जे गरे पनि कसैले त्यति सजिलै सुख भेटेको देखिदैन । बरु आफुले खोजेको सुखको बलि चढेको हुन्छ । फलतः अन्तिम र अनन्त सुख मृत्युलाई प्रेम गरिरहेको हुन्छ । अर्थात, मृत्यु वरण गरिरहेको  हुन्छ ।
हुन सक्छ, मृत्यु नै दुःखको कारण हो । दुःखको कारण यस अर्थमा हो कि जब मृत्युको अनुभव हुन्छ । जब मृत्युको बारेमा सोचिन्छ । जब मृत्युसँग भयभित भइन्छ । जब मृत्युकै कारण हामी चिन्तित बनिन्छ ।
मृत्यु ! मतलब अन्त्य, विनाश, वियोग तथा पहिलो र अन्तिम भेट ।
किनकि, मृत्युपछि कोही फर्किदैन । भेटिदैन । केबल सम्झनामात्रै बाँकी रहन्छ ।
जन्मबिना जीवन सम्भव छैन । तर तितो सत्य सँगसँगै सुरु हुन्छ । जन्मसँगै मृत्यु पनि जोडिएको   हुन्छ । यो सृष्टिमा जन्मेपछि एक दिन मर्नु नै पर्छ । यो निश्चित नै छ  । कारण मृत्यु अकाट्य छ । मृत्यु ध्रुवसत्य कुरा हो । यसलाई कुनै शक्तिले पनि टार्न सक्दैन ।
दुनियाको सबै प्राणी डराउने एउटै वस्तु छ । त्यो हो मृत्यु ।
त्यसो किन होला ?
हुन सक्छ, यो अकाट्य छ । यसलाई कसैले टार्न सक्दैन । यो सँग कसैगरी पनि फुर्सद पाइदैन ।
मानिलिऊँ कि हामी सबैको दुःखको कारण मृत्युभन्दा अरु केही हुनै सक्दैन ।
यसैले हुन सक्छ, हामीलाई असह्य पीडा हुँदा मुखबाट अनायासै आउने गर्छ ।
मरँे ! ऐया बा मरेँ ! ऐया आम्मै मरँे ! हे भगवान बँचाऊ !
कोही मरिहाल्यो भने कसैले पनि सोध्न छाड्दैन, “ फलानो के कारण म¥यो ?”
उत्तरमा मिल्छ, “वृद्धापन, रोग, दुर्घटना, युद्ध, भोकमरी, आत्महत्या, हत्या, दैविक प्रकोप................।”
सबैको मृत्यु एउटै तरिकाले नहुँदो रहेछ । अर्थात मृत्युका धेरै रुपहरु हुँदा रहेछन् ।
जति रुप भए पनि मृत्युको प्रकृति भने एउटै हुन्छ ।
अर्थात, मृत्यु जीवनको अन्त्य हो । जो एकपल्ट मिलेपछि कोही फर्केर आउँदैन । यो प्राकृतिक सिद्धान्त हो । यसलाई कसैले संशोधन गर्न सक्दैन ।
तर पनि हामी मृत्युको भयले भागिरहेका हुन्छौँ ।
मतलब, हामीले मृत्युलाई स्वीकार्न सकिरहेका हुँदैनौँ । यसैकारण हामीहरु बाँच्दा पनि मरिरहेका हुन्छौँ ।
उल्लेखित तथ्यलाई हेर्दा मृत्यु शारीरिक र मनोवैज्ञानिक गरी दुई प्रकृतिका हुँदा रहेछन् ।
शारीरिक मृत्युका तुलनामा मनोवैज्ञानिक मृत्यु खतर्नाक हुँदो रहेछ । किनकि शारीरिक मृत्यु अनुभव हुँदैन तर मनोवैज्ञानिक मृत्यु अनुभव हुन्छ ।
मृत्युको अनुभव जस्तो पीडादायक अनुभव दुनियामा अरु कुनै अनुभव हुनै सक्दैन । यसलाई सहन सक्ने हैसियत गुमाइयो भने जो कोही मानिसलाई आत्महत्या नगरी फुर्सदै मिल्दैन ।
दुःखको कुरा यो छ कि संसारमा दिनप्रतिदिन आत्महत्या गर्ने मानिसको संख्या बढ्दै गएको छ । अविकसित र विकासोन्मुख मुलुकमा भन्दा विकसित मुलुकमा यसले विकराल रुप लिदै गइरहेको छ ।
आत्महत्या गर्ने मानिसप्रति हामी कसैको पनि सहानुभूति रहदैन । हामीले त्यस्ता मानिसप्रति दोस्रोपल्ट सोच्दैनौँ । किनकि त्यस्ता मानिसहरुलाई हामी सबैले घृणा गर्न सिकेका छौँ ।
कृपया गम्भीर बन्न सिकौँ । आत्महत्या ठुलो कुरो होइन । कोही आत्महत्यासम्म पुग्छ भने उसलाई त्यो अवस्थासम्म पु¥याउने कारक नै सबसे ठुलो र खतर्नाक वस्तु हो । त्यो दुर्घटना भोलि हामी माथि पनि पर्न सक्छ । भोलि हामी पनि त्यो अवस्थामा पुग्न सक्छौँ । त्यसैले आत्महत्या गर्नेलाई प्रेम गरौँ । किन ऊ त्यो अवस्थामा पुग्यो ? अध्ययन गरौँ । ऊ र उसको परिवारप्रति सहानुभूति राखौँ । सहयोग गरौँ । सदभाव राखौँ । जसबाट शिक्षा लिन पछि नपरौँ । आफु र अरुमाथि पर्ने त्यस्तो दुर्घटनामाथि सजग बनौँ ।
आत्महत्याको प्रमुख कारक मनोवैज्ञानिक मृत्यु नै रहेछ । मनोवैज्ञानिक मृत्युको अन्तिम नतिजा आत्महत्या नै हो ।
हामी कोही पनि मनोवैज्ञानिक मृत्युबाट मुक्त छैनौँ । यसको अर्थ हामी हरबखत, हरचिजमा आत्महत्या गरिरहेका हुन्छौँ । त्यसलाई स्वीकार्ने कि नस्वीकार्ने ?
म गरिब छु । यसैकारण मैले मेरा छोराछोरीको लालनपालन राम्रोसँग गर्न सकिन । उनीहरुको शिक्षादीक्षा र स्वास्थ्योपचारमा ख्याल पु¥याउन सकिन । आज मेरा छोराछोरी दुनियामा खराब र असफल मानिस भनेर चिनिन्छन् । मेरो लागि यो भन्दा ठुलो दुःख अरु कुनै हुनै सक्दैन ।
म गरिब छु । यसैकारण मलाई मेरा आफन्तहरुले हेला गर्छन् । उनीहरुले जे गरे पनि सह्य हुने बानी परिसकेको छ । तर उनीहरुको एउटा कुरा मलाई खड्किरहन्छ । त्यो के भने उनीहरु मलाई नचिने झैँ गर्छन् । म चाहेर गरिब भएको होइन नि ? म चाहेर दुःखी भएको पनि होइन नि ? म मनको कति धनी छु । उनीहरु मलाई सुन्नै चाहन्नन् । भेट्नै चाहन्नन् ।
मैले अध्ययनमा यति धेरै लगानी गरिसकेको छु ।
तर असफल भएँ ।
सफल त भएँ तर बेरोजगार छु ।
सफल भएँ । रोजगार पनि भएँ । तर रोजगारी भएर के गर्नु ? खान लाउन नै पुग्दैन ।
पहिले पैसाभन्दा ठुलो वस्तु केही देखिएन । यसैका लागि विदेश आइयो । पैसा त कमाइयो तर के गर्नु आफैलाई गुमाइयो ।
गरिबीको कारण पहिले पहिले एकपेट राम्रोसँग खान पाइएन । तर अहिले खान लाउनको कुनै दुःख  छैन । जे खोजे पनि छ । तर के गर्नु ? मलाई केही खानै हुँदैन ।
किन ?
मलाई त सुगर छ । मलाई त प्रेसर छ । मलाई त एलर्जी छ । ..................
मैले सबै दुःख छोडिदिएँ । खेतीपाती, जागिर, व्यापारव्यवसाय................ सबै छाडिदिएँ ।
त्यसैले मलाई सुख छ । आनन्द छ ।
भनेर के गर्नु ?
सुत्यो निद्रा छैन ।
खायो भोक छैन ।
आरामले बस्न खोज्यो शान्ति छैन ।
डाक्टरकहाँ गयो रोग र ऋण बोक्यो आयो ।
धामीझाँक्रीकहाँ गयो चिन्ता बोक्यो आयो ।
आफन्तकहाँ गयो सहानुभूति बोक्यो आयो ।
तीर्थ गयो पाप बोक्यो आयो ।

खै मलाई सुख ?
मेरो काम त कति मजाको छ । केही गर्नै पर्दैन । बस्यो । खायो । मस्ती ग¥यो ।
भनेर के गर्नु ?
यति घिनलाग्दो पाराले मोटाइयो ।
काम सुखको भएर के गर्नु शरीर कामै नलाग्ने भइसक्यो ।
अति अल्छी । अति निस्क्रिय ।
यस्तो पनि जिन्दगी हुन्छ ?
काम हुन्छ भने जिन्दगी किन नहुने ?
सम्झौँ त पहिले के भनिएको थियो ?
मेरो काम त कति मजाको छ । केही गर्नै पर्दैन । बस्यो । खायो । मस्ती ग¥यो ।
केही गर्नै नपर्ने पनि काम हुन्छ ? हुन्छ भने बेकामे जिन्दगी पनि किन नहुनु ?
म सुखी छु कि दुःखी छु ?
हामीले यो प्रश्न अरुसँग गर्दैगर्दैनौँ ।
आफैसँग पनि गरेका छैनौँ होला ।
सुख त खाना खाने र पचाउने जत्तिकै हुन्छ ।
दुःख भने सम्झिन्छ ।
किनकि दुःख खाना पचाउन नसकेर बिरामी परे जत्तिकै हुन्छ ।
यसो भने माथि उल्लेखित घटना दुःख हुन कि होइनन् ?
यदि तिनी दुःख हुन भने यस्ता घटना त हामीसँग असंख्य छन् त ।
अब भने भनौँ न हामीले भोगिरहेका छौँ कि छैनौँ मनोवैज्ञानिक मृत्यु ?
आत्मालाई नढाटौँ । हामी बाँचिरहेका छौँ तर मरिरहेका छौँ किनकि हामीले मनोवैज्ञानिक मृत्यु भोगिरहेका छौँ ।
मतलब, हामी कोही पनि केही न केही कारणबाट दुःखी छौँ । हामी कोही पनि दुःख मुक्त छैनौँ ।
हाम्रो दुःखको अर्को कारण शारीरिक मृत्यु अवस्य हो ।
शारीरिक मृत्यु अकाट्य छ । यो हाम्रो वसमा छैन । यसको हामीले अनुभव समेत गर्न पाउँदैनौँ ।
मनोवैज्ञानिक मृत्युको अनुभव हुन्छ । चिन्ता नगर्नुहोस् । यो हाम्रो वसमा पनि छ । यसबाट मुक्त हुन पनि सकिन्छ । मनोवैज्ञानिक मृत्युलाई जित्नेहरुले शारीरिक मृत्युलाई टार्न नसके पनि अल्लि पर भने धकेल्न सक्छन् । शारीरिक रुपमा नभेटिए पनि भेटिनेहरुको मनोविज्ञानमा भने बाँचिरहेका हुन्छन् ।
जीवन अस्थिर छ । विनाशी छ । किनकि यो विनाशी तत्वबाट निर्मित छ ।
साथै विनाशी अनुभवबाट ग्रसित पनि छ नै । जस्तै हाम्रा नकारात्मक सोचाइ, आनीबानी र व्यवहारहरु  आदि हाम्रो विनाश गर्ने अर्थात हामीलाई जलाउने दाउरा र आगो हुन् ।
हामीले यसलाई स्वीकार्ने कि नस्वीकार्ने ?
यदि स्वीका¥यौँ भने हामीले मृत्युलाई पनि स्वीका¥यौँ । जब हामीले मृत्युलाई स्वीकार्छौ तब बाँच्ने अधिकार पनि राख्छौँ । अर्थात जीवनको मूल्यलाई बुझेका हुन्छौँ । हरेक पलमा जीवनको सार्थकता खोजिरहेका हुन्छौँ ।
जीवन सार्थकताको सम्बन्ध सबैका लागि दिलचस्पी हुन्छ नै । किनकि सबैले सार्थक जीवनको अपेक्षा गर्छन नै । यसैका लागि सबैको जीवन संघर्ष चलिरहेको हुन्छ ।
हाम्रो जीवन सपना जस्तै छ । जसरी निद्रा टुटेपछि सपना भेटिदैन त्यसरी नै समय वितेपछि पनि जीवन भेटिदैन । समय वितिसकेपछि जीवन खोज्दा पश्चाताप र आत्मग्लानी मात्रै हाता पर्छ ।
मेरो जीवनको आयु कति छ ?
के हामीले उक्त प्रश्नको विषयमा कहिल्यै सोचेका छौँ ? सोचेका छैनौँ । फुर्सद नभएर हो या सोच्न नसकेर या सोच्न नचाहेर हो थाहा छैन ।
वास्तवमा हामीले उक्त प्रश्नको विषयमा कहिल्यै सोचेका छैनौँ र सोच्ने पनि गर्दैनौँ ।
हामीले आफुलाई अजम्मरी ठान्छौँ । हाम्रा व्यवहार यस्ता हुन्छन् कि हामी कहिल्यै मर्नु पर्दैन । हामी आफु अति शक्तिशाली छौँ ।
यसैले हुन सक्छ । हामी निकै स्वार्थी बनिरहेका छौँ । आफ्नो विषयमा मात्रै सोच्ने गर्छौँ । हामीलाई आफ्नो मात्र चिन्ता लाग्ने गर्छ ।
जति चिन्ता गरे पनि हामी सुरक्षित र अजम्मरी भने छैनौँ । हामी मर्न पर्छ । हाम्रो जीवन अति क्षणिक र विनाशी छ ।
हाम्रो जीवनको आयु कर्कलाको पातमा टल्किने पानीको जत्तिकै छ । जलिरहेको आगोको कोइलालाई पिसेर फुकिदिँदा त्यहाँबाट असंख्य फिलिङ्गाहरु उड्छन् । अति आकर्षक र खतर्नाक पनि देखिन्छन् । तर निमेशभरमै ती सबै खरानी बनेर जमिनमा झर्छन् । हो जीवनको आयु त्यस्तै छ ।
प्रकृतिमा फुल्ने सुन्दर फुलहरु केही समयमै झरे जस्तै पछुतो लाग्दो आयु छ जीवनको ।
जीवनको यो क्षणिकतालाई हेरेर हामीले हाम्रो जीवनको मूल्य बुझ्नु पर्छ ।
जीवनको क्षणभङ्गूरतालाई बुझ्न हामी धेरै टाढा जानु पर्दैन । हामीले आफैलाई हेर्दा हुन्छ ।
हामी सास नफेरी कति समय बाँँच्न सक्छौँ ? हामीलाई हरेक समय भोक लाग्ने गर्छ । बँच्नका लागि खानु पर्छ । खाएर मात्र हुँदैन । पचाउनु पर्छ । उत्सर्जन गर्नु पर्छ । हामीलाई थकाइ लाग्छ । आराम गर्नु पर्छ । कुनै रोग लाग्यो भने हामी कमजोर बन्छौँ । भोक, प्यास, निद्रा, थकाइ, रोगव्याधी आदि हाम्रो जीवन क्षणभङ्गूरताका उदाहरण हुन् । यसर्थ हामीले हाम्रो प्राकृतिक कमजोरीको क्षतिपूर्ति गर्नका लागि जीवनको लगभग सबै समय खर्चिनु पर्ने बाध्यतामा हामी छौँ ।
कति दुःख लाग्दो अवस्था छ जिन्दगीको  । कति दयनीय अवस्था छ यसको ।
खै हामीले बुझेको ?
खै हामीले जीवनको सार्थकता खोजेको ?
समयमै विचार गरौँ है ।
आफ्ना आनीबानी, व्यवहार र समयलाई व्यवस्थित गर्न सकिएन भने अन्त्यमा सबै इच्छा र सपनाहरु अधुरै रहन्छन् । जीवन नै निरर्थक बनिदिन्छ ।
त्यसो भने सार्थक र सुखी जीवनको निर्माण कसरी गर्न सकिएला ?
वाणीमा विष या अमृत दुबै हुन्छ । विष पचाऊँ र अमृत पोखौँ । अर्थात मिठो र सत्य बोलौँ । अन्यथा बोल्दै नबोलौँ ।
समय, साधनस्रोत र अवसरको सदुपयोग गरौँ । मितव्ययी बनौँ ।
आफ्ना हरेक क्रियाकलापहरुलाई योजनाबद्ध र व्यवस्थित गराऊँ ।
अरुको भन्दा आफ्नो आलोचना बढी गरौँ । अर्थात कमजोरी स्वीकारौँ र सुधारौँ ।  
व्यक्तिगत स्वार्थबाट माथि उठौँ । सामाजिक स्वार्थलाई आत्मसात गरौँ ।
आफुलाई भन्दा बढी अरुलाई स्वीकारौँ ।
ईष्ट र दुष्ट चिनेर व्यवहार गरौँ ।
आत्मालाई मन नपर्ने व्यवहार त्यागौँ । किनकि हामी आफुलाई मन नपर्ने कुरा अरुलाई पनि मन पर्दैन भन्ने तथ्यलाई स्वीकारौँ ।
रिस, राग, द्वेष, घृणा, तिरस्कार, लोभ, डाहा, हिंसा र कुविचारलाई त्यागौँ ।
सध्रैँ सकारात्मक सोचौँ, सकारात्मक बनौँ ।
आफ्नो कारणले कसैलाई दुःख भएको त छैन ? विचार गरेर चलौँ ।
मानवतालाई व्यवहारमा उतारौँ ।
परोपकारबाट नै आफु र अरुको मुक्ति हुन्छ । कहिल्यै नबिर्सौँ ।
सधैँ धर्मको बाटो हिडौँ । किनकि धर्म अरुलाई र पाप आफुलाई हुन्छ । अर्थात धर्मको फल बाँडेर लिने दुनिया पाइन्छ तर पापको फल बाँडिचुँडी गर्ने दुनिया पाइँदैन ।
प्राणै किन नजाओस तर कर्तव्य पालना गर्न नछोडौँ ।
इच्छाश    िक्त जगाऊँ किनकि दुनियामा इच्छाशक्ति भन्दा ठुलो सफलता अरु केही छैन ।
आफ्नो पेशामा मर्यादित बनौँ । हामी नै हाम्रो पेशाप्रति असन्तुष्ट छौँ भने हाम्रो पेशाले हामीलाई कदापि सन्तुष्टि दिन सक्दैन ।
हामीसँग यस्ता धेरै उपायहरु हुन सक्छन् । तिनको खोजी गरौँ । आत्मसात गरौँ । व्यवहारमा उतारौँ । कतै सुख भेट्न सकिन्छ कि ?
जीवन सुखी त्यतिबेला मानिन्छ जतिबेला सार्थक जीवन बाँच्न र बँचाउन सकिन्छ । सुख रुखमा फलेको फल अवश्य होइन । यो कल्पना र अनुभवमा मात्र प्राप्त हुन्छ । यो महसुस हुने कुरा मात्र हो । कतिपय मानिसलाई हामीले दुःख देखेको कुरा सुख लागिरहेको हुन्छ । सधैँ प्राप्त हुने एउटै सुख पनि कहिलेकाही दुःख लाग्न थाल्छ । कलिेकाही दुःखमा पनि रमाइलो लाग्छ । कहिलेकाही सुखमा पनि नरमाइलो लाग्छ । त्यसैले सुखको वास्तविक परिभाषा छैन । सुखको एउटै रुप पनि छैन । सुख कसैले दिन र लिन सक्ने वस्तु पनि होइन । हामी सदा सुखको खोजीमा हुन्छौँ तर दुःखको गर्तमा परिहेका हुन्छौँ । सुख के हो ? दुःख के हो ? त्यो त सार्थक र आत्मसन्तुष्टिपूर्ण जीवन बाँँच्नेहरुलाई मात्र थाहा हुन्छ । हामी कस्तो जीवन बाँचिरहेका छौँ । त्यसको मूल्याङ्कन गर्ने व्यक्ति त हामी स्वयम नै हौँ । जीवन हाम्रै हातमा छ । यसलाई कस्तो बनाएर जिउने हो ? त्यो पनि हाम्रै हातमा छ । अब सुख लिने कि दुःख लिने ? आत्मनिर्णय आफै लिनुहोस् है ।
 लेखक प्रेस सेन्टर नेपाल पर्वतका सल्लाहकार हुन । उनी शिक्षक पेशामा आवद्ध छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!