ओ... मेरी प्रियतमा !

Posted on: 19 Oct, 2016

वेद प्रकाश तिमिल्सैना | विजयादशमी अन्र्तगत अन्तिम दिनको कोजाग्रत पूर्णिमामा पूर्ण चन्द्रमाको दर्शन गर्ने अवसर मिल्यो । असोजको अन्तिमतीर मध्य रातमा चम्किरहेको चन्द्रमा निकै बेर हेरें । असोजको महिनामा पूर्णीमाका दिन चम्कने चन्द्रमा खुव मन पर्छ । त्यसैले यो पटक पनि एकोहोरो टोलाएर मैले निकै बेर चन्द्रमा हेरीरहें । 

पहिले-पहिले चन्द्रमाको फोटो खिचेर सिडिमा संग्रह गरेर राख्थे । फेसबुकमा जोडिएपछि ७ बर्षदेखी संधै असोजको पूर्णिमामा चम्किने चन्द्रमाको फोटो फेसबुकमा पनि साझा गर्ने गरेको छु । यो पाली पनि चन्द्रमाको फोटो खिचेर फेसबुकमा पोष्ट गरें । छ्याङग उघ्रेको आकासले सेतो चन्द्रमा ओढेको अवस्थामा आफुलाई प्रस्तुत गर्दा नजिकै तिमि पनि आएको भान परको थियो, अनी सेतो चन्द्रमामा अढेको आकास तिर हेर्दै फेरी तिमिलाई धेरै पटक सम्झिए पनि । किनकी तिमीनै मेरो जीन्दगी हौ । अनायसमै मैले मेरा सारा जीवन तिमीलाई सुम्पने प्रण जो गरेको थिए र त्यो प्रणमा अहिलेसम्म कायम छु । तिमीसंग राम्ररी कुराकानी हुन नपाएको पनि बर्षौ भयो । मलाइ राम्ररी थाह छ, तिमीले र मैले प्रेममय बात मार्न पाएका छैनौ । मेरो बाच्नुको सहरा मध्य तिमीपनि त एक हौ नि ! तिम्रो स्मरणले मात्रै जेलीएका तनहरु नाच्छन । तिमी र म परस्थितीले टाढा भएपनि, मेरो हृदयमा भने तिमीबाहेक अरुलाई स्थान छैन । तिमीले र मैले एक अर्कालाई सुम्सुम्यान नपाएको दुइ-दशक पुग्न आट्यो । यतीका धेरै बर्षसम्म हामी टाढा भएर बस्दा पनि तिमी प्रतिको मायाँ-प्रेम र स्नेहमा कमि आएको छैन । मेरा मन, मस्तिस्क र हृदयमा तिमीप्रतीको लगाव अझै झाँगीएको महसुस गर्दे छु । 

हाम्रो राम्रो मिलन नभए के फरक पर्छ र ? आखीर तिम्रो र मेरो बिछोड पनि त भएको छैन नि । बर-पिपलको सेरोफरोमा संगै लडीबुडी गर्दै हुर्केका हौँ । बाल्यकालको कुरा गर्दा तिमीलाई याद गर्दै सम्झनाका छालहरु उर्लिएर आउछन् । आजपनि म तिमीसंगका ति रोमाञ्चक क्षणहरु बोकेर हिडिरहेको छु । थाह छ ? म आज पनि तिमिलाई सम्झिदै जीवनका आरोह र अवरोह पार गर्ने कोशीस गरिहेको छु । एक दिन अवस्य हाम्रो मिलन हुनेछ भन्ने आशका साथ म मुस्कुराएर जीवनको गोरेटोमा दौडिरहेको छु । मेरो जीवन जिउने शक्ती मध्य तिमी पनि त एक हौ नि । तिमीलाई स्मरण गर्दा न्यानोपनको महसुस हुन्छ । मेरा हृदयका पानाहरुमा तिमी नै तिमी छौ । मलाइ पनि अचेल तिम्रो पछयौरीमा अल्झिएको भान भईरहेको छ । तर बास्तवमा धेरै बर्षदेखी हामी उसरी पहिले झै नजिक हुन पाएका छैनौं । बाल्यकालमा भने म तिम्रो नजिक थिएँ । तिमीसंगको दोस्ती दुनिया बुझ्न मेरा लागि निकै सहयोगी बन्यो । साच्चै तिमीसंगको संगत गर्दाखेरीका सबै सम्झनाहरु हृदयमा साँचेर राखेको छु । बाल्यकालका उकाली-ओराली गरेको, बनपाखामा हराएको, बनमा बाख्रा चराएको, कुइका गाडको सेरोफेरोमा रमाएको विगतका सबै पलहरु गाडा बनेर मस्तिस्कमा नाचीरहेका छन् । ति क्षणहरुलाई, त्यो बाल्य बिगतलाइ विलाउन दिएको छैन । 

प्रिय, तिमी पनि अछाममै, म पनि पुरै समय यतै तर बर्तमानमा विगत झैं सहज भेटघाटको वातावरण सृजना हुन सकिरहेको छैन । पहिले हामी बनपाखामा घण्टौसम्म पनि भलाकुसारी गर्थ्यौं । तर अचेल तिमी मेरो हृदयमा मात्र मुस्कुराइरहेकी छौ । तिम्रो एक मुस्कान देख्न महीनौ पर्खिनुपर्छ । भलाकुसारी नगरेरै एक अर्कामा मुस्कानको उज्यालो छर्दै छुट्टीनु पर्ने बाध्यता जो छ । म बालक छँदा तिमी जसरी मुस्कुराउने गर्थ्यौ अहिले पनि त्यसरी नै मुस्कुराउने गर्छौ । त्यही मुस्कानमा अल्झिएका कारण आज पनि तिमीलाई अती धेरै मायाँ गर्छु । बाल्यकालका सम्झना र मुस्कानले नै तिमीलाई मन-मुटुमा साचीरहने एकमात्र माध्यम बनेको छ । तिमी र म धेरै नजिक नबनेपनि आज पनि देवी देवता, मेरी बजै पछि मैले सबैभन्दा धेरै सम्झिने पनि तिमीलाई नै हो । तिमी मेरो मुटुमा टासीएकी छौ । यो जीवन रहँदासम्म तिमीसंगको सम्वन्ध कायमै रहने छ । अचेल तिमीलाई बाल्यकालको भन्दा बढी सम्झीन्छु । म त तिम्रो मेरो मायाँ-प्रेम अजम्वरी होस भन्ने चाहन्छु । बर्षौ अघि नियतीले हामीलाई एक-अर्काबाट टाढा बनाएको थियो । करिव दुइ दशक अघि तिमीसंग बिछोड हुँदा म खुव रोएको थिए । मेरो परिवारका सदस्यहरुसँग गाउँबाट विदा हुँदैगर्दा मैले तिम्रो गहभरी आँशु देखेको थिएँ । गैटाणको बजार जसलाइ अहिले गैरीटार पनि भनिन्छ, हो त्यही गैटाणमा मैले बिदाइका हात हल्लाउदै, रुमाल फट्काउदै गर्दा तिमी रोइरहेकी थियौ । म त तिम्रो समझनामा अहिले पनि रोइरहेको छु । हेर न ! बर्षौ अघिको त्यो मायाँ-प्रेम, घनिष्ट सम्वन्ध अहिले सामान्य सन्चो विसन्सो सोधेर आ-आफनो बाटो तताउने गर्छौ । यसमा मलाइ पनि खल्लो महसुस चाही हुन्छ । विनायक पुगेर फर्कीदा होस या बर्षमा एक-दुइ पटक गाउँ पुग्दा तिमीसंग भेट भएपनि एकान्तमा हाम्रा सुखना-दुखना चाही हुन सकेका छैनन् । बर्षौं अघिका ति दिन अहिले पनि सम्झनाको तरेलीमा बयली खेल्न आउछन् । त्यो समयको त्यो दोस्तीलाई म अहिले पनि झल-झली सम्झिन्छु, ओ मेरी प्रियतमा । 

सानोमा लामो बर्षे विदा सहितको स्कुल विदामा म पनि गोठालो जान्थे । कुइका गाडको सेरोफेरो लाटीफाले, सणाकोट, रान, कालीफाले, कोट बर्खा बाटोमा बाख्रा चराउने क्रममा तिमी र मसंगै भएका त्यो पलको सम्झना अहिले पनि मेरा आँखामा नाचिरहेको छ । कुइका गाडको सेरो फेरोमाजव म एक्लै बरालीन्थे मेरो भावना तिमीसंग पोख्थे । मेरो मनमा खुलदुली लागेपछि सणाकोटमा बसेर तिमीसंग बात मार्थे । स्वरले साथ नदिएको थाहा पाउँदा पनि कति पटक गोरु बर्खा चराउदै देउडा गित गाएर तिमीलाई सुनाएको थिएँ । 

कुरा २३ बर्ष अघिको हो, असोजको महिनामा दशैको त्यो क्षण मेरो मानसपटलमा अझैपनि ताजै छ । महा-नवमीको दिनमा बर-पिपलको सेरोफेरोमा दशैको रमझम थियो । पुरै बरपीपल सौणाका बासिन्दा खनेनादेखी बुडेलीइजर हुँदै खारेबाट, कालीकाथानसम्म र नावखेत देखी ढकालटोल हुँदै बुकानेसम्म राइतो सहितको बाबर (सेल रोटी), लाउन (पुरी) बोका, खसीको मासुको स्वादसंग रमाइ रहेका थिए । म भने घरमा रमाउन नपाए पनि केहीदिन अघि घोणीकाठ काटेको जग्गामा बाख्रा चराउदै तिमीलाई ठाणी भाका गित सुनाउदै रमाइरहको त्यो समय मेरो मानस पटलमा घुमिरहन्छ । मैले बम्मै टेलीफोनका“नौ रन्का अठार फन्का, बम्मै टेलीफोनका”भन्ने गित एउटै गित धेरै पटक गाएर तिमीलाई सुनाएको विगत सम्झिदा एक्लै हासीपनि दिन्छु । किनकी मैले जीवनमा पहिलो पटक गित गाएको २३ बर्ष अघिको त्यही दिनमा मात्र हो । असोज र असारमा तिम्रो मेरो साथ पहिलेभन्दा बढी नै हुन्थ्यो । असार र असोज तिर स्कुल विदा हुँदा म बाख्रे गलो भएर तिमिसंगै लुकामारी खेल्न गएको याद अहिलेसम्म ताजै छ । सायद तिमीलाई पनि सम्झना होला बाल्यकालमा कसैसंग नखोलेका कुरा तिमीसंग खोल्ने गर्थे । तर के गर्ने केही बर्ष तिमीसंग बिछोड पनि भयो । माओवादीका कारण गाउँ जान नसक्ने अवस्था सृजना भएपछि तिमीबाट बिछोडिनु पार्यो, त्यो विछोडले अहिलेसम्म पिडा दिइरहेको छ । किनकी पछिल्लो अवस्थामा तिमी र म पहिले झैं नजिकिन नसकेर अली टाढा भयौं । म आज पनि तिमीलाई सम्झिदै सुपरहिट हिन्दी फिल्म सोलेको त्यो गित 'यह दोस्ती नही टुटेगी' गुन्गुनाइ रहन्छु । सोलेमा नायक द्धय धर्मेन्द्र र अमिताभ बच्चन मोटर साइकलमा हुइकिदै गित गाउँछन् । म भने तिमीलाई सम्झीदै बिनायक बागफालबाट कुइका गाड र सणाकोट रानलामो सालघारी हेर्दै मन-मनै 'यह दोस्ती नही टुटेगी' भनीरहन्छु । 

बाल्यकालमा तिमी भेट्दा, हेर्दा, देख्दा र स्पर्ष गर्दा तिम्रो रुपका सामु म नतमस्तक हुन्थे । उमेर ढल्कँदै गएपनि तिम्रो जोवन र सुन्दरताको चार्मिङ कायमै छ । तिम्रो रुप देखेर म फेरी तिमीसंग नजिकिन खोजेको पक्कै होइन । यो विषयमा त तिमीलाई राम्ररी थाह छ । तर तिम्रा र मेरा विचमा रहेको भावनात्मक सम्वन्धका बिषयमा दुनीया गलत तरिकाले नबुझोस । तिम्रो सदाबहार जवानीले जो कोहीलाई पनि लोभ्याइरहन्छ । बर्षौंअघि तिम्रो मुस्कानको जालमा अल्झिएको म आखिर तिमीबाट कसरी टाढा रहन सक्छु । यो सत्य कुरा पनि दुनीयालाई थाहा हुनुपर्छ । तिम्रो सुकोमल स्पर्शको न्यानो अनुभूती सम्झनाको तरेलीमा ताजै छ । तिमी यति सुन्दर छ्यौ की, तिम्रो सौन्दर्यताको बर्णन गर्न अरु कोही चाहीदैन तिमी मुस्कुराउदा त्यो सजिलै ज्ञात भैहाल्छ । तिमी टाढाबाट भएपनि मुस्कुराइदिएपछि तिम्रो त्यो सुमधुर मुस्कानमा मेरो जीन्दगी मुस्कुराइदिन्छ । प्रिय कुईका तिम्रो मायाँ पाउन म शहर छोडेर फकीर झै अछामका गाउँबस्तीमा बरालीईरहेको छु । त्यसैले तिमी र म टाढा हुन सक्दैनौ किनकी मेरो जीवन त तिम्रो एक मुस्कानमा अल्झीएको छ । 

'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' साच्चै जन्म दिने आमा र जन्मभुमी सबैका लागी प्रिय हुने गर्छ । मेरी तीन आमा हुर्काउने पलान-पोषण गर्ने बजै (हजुर आमा), जन्मदिने मम्मी (आमा) र दुध-खुवाउने कालीकाथानकी आमा (जेठी आमा) र मेरो जन्म स्थान, स्थाइ ठेगाना, मातृभुमि कुइका सबै भन्दा प्रिय हुन् र आज पनि उत्तीकै प्रिय छन् ।

- लेखक तिमिल्सैना पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!