शिक्षामा कमजोर नैतिक धरातल

Posted on: 25 Oct, 2016

-प्रनिश गिरी
    विवेकशील प्राणी मानवका लागि नैतिकता सवैभन्दा ठुलो गुण हो । नैतिकता विनाको मानवको कल्पना नै हुँदैन । नैतिकता भनेको मानवीय गुणलाई अनुसरण गर्ने शक्ति मानिसमा हुनु हो । नैतिकता आफैमा मानवीय गुण पनि हो । महत्वपुर्ण मानवीय गुणमा पर्ने नैतिकताको हिजोआज खडेरी नै लागेको छ ।


    अझ शिक्षामा समेत कमजोर नैतिक धरातल देखा पर्दैछ । सरकारी विद्यालय जहाँ राज्यले अरवौको लगानी गरेको छ । सोही विद्यालयमा पढाउने शिक्षक विद्यार्थीलाई ईमान्दारिताका साथ पढाउनुको बदला बाहिर घाम तापेर हाई काढ्दै बस्छ । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा नचाहिदो राजनीति गरिन्छ । विद्यालय व्यवस्थापन समितिमा यो राजनीतिक पार्टी र उ पार्टीको भनी अध्यक्ष र सदस्यहरुलाई भागबण्डा गरिन्छ ।व्यवस्थापन समितिका सदस्यहरुको योग्यता र क्षमता भन्ने कुरा नै राजनीतिक पार्टीको सदस्यतालाई बनाएपछि उसले कसरी विद्यालयलाई शैक्षिक योगदान गर्न सक्छ ? त्यही राजनीतिको आडमा कामचोर शिक्षकहरुले लापरवाही गर्दैछन् र घाम तापेर समय कटाउँछन् । थोरैमा पनि वर्षभरिमा २९० दिन विद्यालयमा पढाई भएको हुनुपर्छ तर सामुदायिक विद्यालयमा गएर हेर्ने हो भने वर्षमा जम्मा ९० दिनभन्दा बढी पढाएको पाइदैन । कक्षाको विषयगत पाठ पनि पुरा पढाई नहुने विद्यालय र पुरा नपढाउने शिक्षकबाट कस्तो शैक्षिक सुधारको अपेक्षा गर्न सकिएला ?


विद्यार्थीको मनोविज्ञान बुझेर विषयगत पाठको अलावा अन्य ज्ञानविज्ञानका कुरा सिकाउने र अतिरिक्त क्रियाकलाप मार्फत् विद्यार्थीको बौद्धिक र शारीरिक क्षमताको विकास गर्नुपर्ने दायित्व शिक्षकको हो ।
    शिक्षा ऐनले तोके बमोजिमको पढाई गर्न नसक्ने विद्यालयलाई कारवाही गरेको पाइदैन । शिक्षा ऐन र शिक्षा विभागको निर्देशनमा शिक्षकले आफ्नो पढाउने काम छाडेर अन्य लाभको कार्य गर्नु हुँदैन भन्ने प्रष्ट हुँदाहुँदै राजनीतिकै आडमा राजनीतिक पार्टीको सदस्यता लिने, विभिन्न संघसंस्थामा सक्रिय हुने जस्तो सामुदायिक वन उपभोक्ता समिति, खानेपानी संस्था लगायतमा सक्रिय बन्ने गरेका छन् । अझ कतिसम्म भने राजनीतिक पार्टीको आमसभा, भेला, जुलुस भयो भने सवैभन्दा पहिले सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरु त्यहाँ पुगेका हुन्छन् । पढाइ नै छाडेर शिक्षकहरु यसरी दगुर्नु भनेको यो बडो विडम्वना र दुःख लाग्दो कुरा हो ।


    राज्यले अहिले प्राथमिक स्तरको शिक्षकको तलव मासिक २० हजार भन्दा माथि दिने गरेको छ । माविस्तरको शिक्षकको तलव ४० हजार भन्दा माथि पर्न आउँछ । यत्रो तलव र सेवा राज्यबाट लिने शिक्षकशिक्षिका आफ्नो शिक्षण पेशामा ईमान्दार हुन नसक्नु नैतिकताको गिरावट हो । मुलुक र समाजमा रोजगारीको अभाव भयो भनी मरुभूमिमा रगत र पसीना कमाउने नेपाली युवाहरुको संख्या लाखौ छ । तिनै विदेशीएका नेपाली युवाहरुले पठाएको  रेमिट्यान्सको समेत मुलुकको राजस्वमा योगदान छ ।


     विदेश गएर दुई पैसा कमाएर स्वदेशमा पठाउने गरीव नेपाली युवाहरुका छोराछोरी पढ्ने स्कुल भनेको गाउँका सामुदायिक विद्यालय नै हुन् भने केहीले सहरका नीजि बोर्डिङ स्कुलहरुमा पनि पढाएका छन् । गरीव नेपालीका छोराछोरीहरु पढ्ने विद्यालयको शैक्षिकस्तर खस्कनुमा धेरै कारण भएपनि प्रमुख कारण भनेको शिक्षकहरुकै बेइमानी हो ।


वास्तवमा अल्छि, कामचोर, गफाडी, अदक्ष, जड्या, जागिरे मनोवृत्तिका शिक्षकहरुकै कारण सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर दिनप्रतिदिन खस्कदो छ । जागिरे मानसकिताका शिक्षकहरुकै कारण समग्र शिक्षा क्षेत्रकै बदनाम र शिक्षक जस्तो गरिमामय पदको समेत आलोचना हुने गरेको छ । कामचोर प्रवृत्तिका शिक्षकहरुलाई तत्काल कारवाही गर्ने र पेशाबाटै बर्खास्त गर्न सक्ने प्रणाली हुन आवश्यक छ । कामचोर शिक्षकको बचाउमा आउने राजनीतिक दलका छट्टु नेतृत्व र कार्यकर्तालाई सचेत नागरिक विशेष गरी युवापंक्तिबाट खवरदारी गरिनुपर्छ । हैन भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुध्रने छैन ।
     शिक्षकहरुले मेरो कर्तव्य विद्यार्थीहरुलाई पढाउनु र असल नागरिक तयार पार्नु हो भन्ने मनन् गरेर ईमान्दारिता देखाउने हो भने शिक्षा क्षेत्रको ९० प्रतिशत समस्या सुल्झने छ । एउटा शिक्षक जस्तो व्यक्तिलाई विद्यालयमै पढाउन छाडेर अन्य संघसंस्थामा सक्रिय भई लाग्न किन पर्छ ? विद्यालयमा पढाउनु पनि त ठुलो समाजसेवा हैन र ? अर्कोतर्फ समावेशी, समानुपातिकको कोटाको नाममा कम दक्ष नागरिकले स्थान पाईरहेका छन् भने दक्ष नागरिक सरकारी सेवाबाट बाहिरिनु परेको विडम्वना देखा पर्दैछ ।


     शिक्षा जस्तो गरिमामय क्षेत्रमा समेत अपांग कोटा राखेर तहसनहस पारिदैछ । सामान्य औलो काटियो, गोडा खोच्यायो, आँखाले टेडो हे¥यो भने पनि उसलाई अपांग घोषणा गरेर बढी प्राथमिकता दिई सरकारी जागिरे बनाईन्छ । आधुनिकताको नाममा मानिस वैचारिक हिसावले असन्तुलित बन्दै गईरहेको छ ।


    हाम्रो समाज र मुलुकले व्यहोर्दै आएको सामाजिक र राजनीतिक    अराजकतालाई गंम्भीर भई हेर्दा शिक्षामा नैतिक धरातल कमजोर भएको छनक मिल्छ । राजनीतिक नेतृत्वमा वैचारिक विचलन, बढ्दो भ्रष्टचार र अनेकौखाले विकृति र अपराधका गतिविधिलाई हेर्ने हो भने हामीले लिएको र पढेको शिक्षामै ठुलो कमजोरी त छैन भन्ने प्रश्न मनमा आउँदछ । हाम्रो शिक्षाले किन नागरिकका छोराछोरीलाई यही माटोमा केही गर्नुपर्छ भन्ने सिकाउन सकेन ? किन मुलुकले भौतिक सम्पन्नता हासिल गर्न सकेन ? किन अपराध र भ्रष्टचार संस्थागत जस्तै हुँदैछ ? किन युवाहरुमा पलायनवादी चिन्तन हावी हुँदैछ ? यस्ता धेरै प्रश्नको उत्तर सिधै शिक्षासँग गएर ठोकिदै छन् ।


    मानवको समुच्च मानसिक, शारीरिक र भौतिक विकासका लागि नभई नहुने कुरा भनेको शिक्षा हो । समयसापेक्ष शिक्षाले आफ्नो उद्देश्य     पुरा गरेको देखिदैन । राज्यले वर्षेनी अरबौको लगानी गरेको सामुदायिक शिक्षा आर्जन गर्ने लाखौ युवा रोजगारीका लागि परदेश छन् । बदलिदो आधुनिक        परिस्थिति अनुुसार हरेक कुराहरुको       व्यापारीकरण र बजारीकरण हुँदैछ भने विश्वव्यापी पूँजीवादको प्रभावसँगै बजारमा तीव्र प्रतिस्पर्धा पनि त्यति नै      देखापरेको छ । यससँगै नेपाली बजारमा पूँजी, प्रविधि र सीपको माग अत्याधिक बढ्दो छ । यो बजारको मागलाई नेपालको शिक्षा प्रणालीले समेट्न किन सकेन ? यो खोजीको विषय हो ।
    शिक्षा व्यवहारमुखी छैन किनभने शैक्षिक वेरोजगारी नै मुलुकको ठुलो समस्या बनेको छ । दुनियाँ विज्ञानप्रविधिमा धेरै अगाडि पुगिसक्दा समेत हामीले हलो र कुटो छाड्न सकेको अवस्था छैन । मुलुकको प्रमुख आम्दानीको स्रोत मानिने कृषि क्षेत्रको कुरा गर्ने हो भने दयनीय अवस्था छ । कृषिमा आधुनिकीकरण गर्न नसक्दा युवावर्गको कृषि क्षेत्रमै अरुचि पैदा भएको छ । कृषि क्षेत्रमा कामदारको अभाव छ । कृषि शिक्षालाई कम खर्चिलो बनाएर साधारण नेपालीको पहुँचमा पुराउन सकिएको छैन । शिक्षा क्षेत्रबाट उत्पादन भएका शैक्षिक बेरोजगारीहरु राजनीतिमा होमिने प्रथा नेपालमा छ । जसका कारण नेपाली समाज राजनीतिक रुपमा संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ ।


    आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पनि त्यस्तै अवस्थामा छ । मुलुकमा सवैपक्षको संक्रमणकालीन अवस्थाका कारण नेपाली जनताले दुःख व्यहोर्नुपरेको छ । समाजमा भ्रष्टचार, बेरोजगारी, बलात्कार, साइवर अपराध, नचाहिदो महंगी, कालावजारीका घटनाहरु खुलेआम भइरहेका छन् । यी सवैमा कहि नकहि हाम्रो शिक्षा प्रणाली जोडिएर आउँद छ । यस्ता अपराधिक घटनाहरुलाई सरकारले निरुत्साहित गर्न सकिरहेको छैन । यस्ता अधिकांश घटनाहरुमा त्यस्ता व्यक्ति जो पढे लेखेका हौ भन्नेहरु संलग्न हुनु गम्भीर विषय हो । पढेलेखेको व्यक्ति नै अपराध र भ्रष्टचारमा सरिक हुन्छ भने उसले लिएका शिक्षा र ज्ञानमा स्वतः प्रश्न चिन्ह लाग्छ । यतिखेरको एउटा उदाहरण अख्तियार प्रमुख विरुद्ध नै अख्तियारको दुरुपयोग गरेको भनी संसदमा महाअभियोगको प्रस्ताव ल्याउनु परेको अवस्था छ । अख्यिार प्रमुख लोकमान सिंह कार्कीले संसदमा महाअभियोग भोग्दै छन् । यसका लागि राजनीतिक दलहरु विच समझदारी बन्दैछ ।


    शिक्षा लिने भनेको समाजमा गतिलो काम गरेर सभ्य समाज निर्माण गर्न सहयोग पुराउनका निम्ति हो तर यो कुरालाई मनन् गरेर व्यवहारमा उतार्ने शिक्षित नागरिकको संख्या न्यून छ । नैतिकता र मानवीय मूल्यमान्यता भन्दा बढी पूँजी ठुलो मान्ने नागरिकहरुको समूह धेरै छ भने शक्ति र सत्तामा समेत त्यस्तैको हाईदुहाई चलेको पाइन्छ ।  समाजमा अराजकता मौलाउँदो छ । मान्छेमा संवेदनशीलता हराउँदैछ । अपराधका जघन्य घटनाहरु पनि सामान्य लाग्न थाल्ने परिस्थिति निर्माण भएको छ । यसो हुनु खतराको घण्टी बज्नु हो । यसबारेमा सचेत नागरिक जसले मानवतामा विश्वास राख्छन् । उनीहरुले बेलैमा सोच्नु पर्ने भई सकेको छ । समाजमा राजनीतिक परिवर्तन र  भौतिक विकास मात्र भएर केही हुने वाला छैन । हामीले दिएको शिक्षाबाट यदि सभ्य र मूल्यनिष्ठ समाज बन्न सकेन भने सवै कुरा फिका हुनेछ ।


 नैतिकता, मानवता, सदाचार, दया, प्रेम,राष्ट्रियता, स्वाभिमान, इमान्दारिता लगायतका मूल्यनिष्ठ मानवीय गुणहरुलाई मानवको मनमा विजारोपण नगरेसम्म अहिलेको अपराध रोकिने छाँटकाँट देखिदैन । शिक्षाबाट मानवको मनमा कसरी सद्गुण भर्न सकिन्छ भन्नेबारे गंम्भीर भई सोच्नुपर्ने देखिन्छ । अहिले जसरी हुन्छ पैसा मात्र कमाउ र वस्तु थुपार भन्ने पूँजीवादी सोच मान्छेको मनमा हावी भइरहेको छ । शिक्षालाई व्यापारिकण गरिदैछ । पूँजीवादी एकोहोरो चिन्तनका कारण मान्छेले मानवीय मूल्यलाई त्यागेर जस्तोसुकै कर्म गर्न पछि परेको छैन । विद्यालयमा पढाउने शिक्षक कसरी धेरै पैसा कमाउने भन्ने धुनमा कक्षामा राम्ररी नपढाउने र ट्युशन पढाउन लालायित हुन्छ ।


    द्रव्यपिशाच शिक्षकले शिक्षाकै बदनाम गर्दैछ भने नियमनकारी निकाय जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुको    जागिरे मनोवृत्ति समेत समग्र शिक्षाको गुणस्तर खस्काउने कारकतत्व बनेको छ । यस्तो गलत चिन्तनलाई निस्तेज पारेर मानवको मनमा मानवीय गुणलाई जगाउन पनि शिक्षामा खस्कदो नैतिक  धरातललाई माथि उठाउनुपर्छ । नैतिक धरातललाई कसरी माथि उठाउने ? यो प्रश्नको जवाफ सजिलो छैन । यो गहन विषय हो । यसका लागि अगुवा हौ भन्नेहरु चाहे शिक्षक होस् या अन्य जवाफदेही व्यक्तिहरुले ईमान्दारिता देखाउनै पर्छ । त्याग गर्नैपर्छ । अनुकरणीय व्यवहार गर्नेपर्छ । नैतिकताका  साथ जिउन सक्नुपर्छ । तब मात्र शिक्षामा देखिएको कमजोर नैतिक धरातल उजिलिदै सभ्य र सुसंस्कृत समाज निर्माण संम्भव हुनेछ ।
लेखक प्रेस सेन्टर नेपाल पर्वतका अध्यक्ष हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!