प्रचण्डको बारेमा कलम चलाउन जो कसैलाई पनि डर लाग्छ होला !

Posted on: 28 Dec, 2016

गणेशमान सिंह । असल जीवन जिउने कसैले पनि, यो जीवनको ठोस परिभाषा दिएनन् । जीवन भनेको यस्तो हो, उस्तो हो भनी दुनियालाई कहिल्यै रटाएनन् । तर आफूले यस्तो जीवन जीए कि, धर्ती छोडेको सयौँ वर्ष पुग्दा पनि त्यही जीवनको महिमागान गाउन बाध्य छ, आज दुनिया । हामी माक्र्सलाई सम्झीरहेका छौँ, माओलाई सम्झीरहेका छौँ । गौतमबुद्ध देखि ओशो सम्म, आईन्सटाइन देखि हकिङ्गसम्म । ति महापुरुषले जीएका जीवनका हरकुरा आज सिङ्गो मानवजातिको शिक्षा, ठूलो पाठ भएका छन् ।

यतिबेला हाम्रो देशका प्रम प्रचण्डको बारेमा कलम चलाउन जो कसैलाई पनि डर लाग्छ होला । कहिले उनी रामदेव सँग बसेर शरीर तन्काउँछन् त कहिले चुनवाङ्गमा गएर जनताका अगाडि सकिन मैलेँ भन्दै धुरुधुरु रुन्छन् । 

कहाँ गएर के बोल्ने ? के गर्ने ? सायद त्यो उनलाई नै थाहाछैन होला भने जाबो यो लेखकको कलमलाई के पत्ता होस ? तरपनि उनी अनौठा नेता भने अवश्य हुन । एकपटकको भाषणमा उनले भनेका थिएर्– हामी माओवादी हरेक पटक ठूलो मूल्य चुकाएर अगाडि बढेका छौँ । चुक्दै चुक्दै जनयुद्ध शुरु गरेका हौँ । चुक्दै चुक्दै जनयुद्धलाई निरन्तरता दिएका हौँ । फेरी पनि चुक्दै चुक्दै शान्ति सम्झौता ग¥यौँ अनि चुक्दै चुक्दै संविधान जारी पनि ग¥यौँ । आज पनि त्यही गरिरहेका छौँ ।’ प्रचण्डको क्षमता त्यही हो, जो उनको अगाडि पर्छ त्यसलाई उनी कन्भिन्स गर्न सक्छन् ।

अहिले यो आलेख लेख्दै गर्दा, म उनले बोलेको शब्द सापटी लिँदै भन्छु –जीवन पनि चुक्दै चुक्दै गरिने एउटा यात्रा रहेछ । 

जीवनका हरेक मोडमा केही न केही चुकाएर अगाडि बढ्नु पर्दो रहेछ । आज किन एकाएक मलाई फल्यासब्याक स्टोरी लेख्न मन लागेको छ । केही समय अतितसँग बात मार्न मन लागेको छ । मैले के के गुमाएँ ? कहाँ कहाँ चुकेँ ? कता – कता विराए ? भुईपत्ताल खोज्न मन लागेको छ । अर्को महिना मेरो जन्म दिन पर्छ । म जीवनको एउटा खुट्किलो पार गरी अर्को खुट्किलो चढ्छु । सायद त्यो दिन सम्म मैले लेख्न थालेको कितार्ब हाम्रो यात्रा’ पनि पुरा हुन्छ । जब मेरो जीवनमा जन्मदिन आउँछ, हमेशा म भित्र एक अनौठो भावना उत्पन्न हुन्छ । उमेर बढ्यो भनेर होइन, उपलब्धी अलि कम भयो कि भनेर हो । तौलिन्छु आफै । जोखिन्छु आफै, त्यो बेला । आफूलाई हरेक कोणबाट नाप्न मन लाग्छ । आफू सँग भएका कति कमजोरीहरु सुधारेँ ? कति सबल गुणहरु भित्राएँ ? बितिआएका दिनका केस्रा केस्रा केलाउँछु, सायद फेरी पनि अपुरो हुन्छ, अपुग्दो हुन्छ त्यो मेरो प्रयास ।

के–के लेख्न खोज्ने यि औँलाहरु हेर्छु– झन भन्दा झन सुन्दर भावना लेख्न मन लाग्छ । यि आँखाहरुले झन भन्दा झन सुन्दर सपना सजाउन मन गर्छन । अनि यो मस्तिष्क, जिवनमा भईपरि आएका हरजटिलतालाई सजिलै फुकाउने कसरत गर्छ । बाँचीरहेको, चलीरहेको आफ्नै जीवनलाई हेर्छु, धेरै कुरा पुगेकै छ जस्तो लाग्छ । फेरी अर्को पाटो पल्टाउँछु जीवनको, अपुगै अपुग देख्छु । ठिक ठिकै त छ हौ, भन्ने पनि लाग्दैन त !

जीवनमा आईपरेका हरेक कुरालाई क्लाईमेक्समा हेर्न पुग्छु, यही नै मेरो ठूलो भूल हो जस्तो लाग्छ । सन्तुलन मिलाउन जान्दिन । कोशिस गरेपनि सक्दिन । मेरो नजरमा एकपटक मन परेको मान्छे, लास्टैसम्म मन पर्छ । मन परेन भने, औधी मन पर्दैन । यही नेरै मदन पुरस्कार विजेता साहित्यकार जगदिश घिमिरे सबैकुरा अलि अलि हुन्छ है भनेको कुरा बिर्सिन्छु । हो, हरेक मान्छे अलि अलि राम्रो हुन्छ अलि अलि नराम्रो हुन्छ ।

म १३÷१४ वर्षको उमेरमा हुँदा, देशमा सङ्कटकाल थियो । मुसिकोटा खलङ्गा पढ्थेँ । घरबाट पिठो र दालचामलको थैलो बोकेर जान्थेँ । सिम्रुतु माथिको घना जङ्गलमा कहिलेकाँही बिसाउथेँ । बिसाउँदा बिसाउँदै कहित त भुसुक्कै निदाउथेँ । कयौँपटक बिउझ्दा सेनाले आफूलाई घेरको पाउँथे । आज सम्झीदा अच्चम्म लाग्छ, जंगलमा भएका सेनालाई किन अघि नै देख्न सक्दिनथेँ ? जब एउटा सँग जम्का भेट हुन्थ्यो तब मात्र हरेक रुखमा अडेसलागेर हतियार सोझ्याएका सेना देख्थेँ । किन हुन्थ्यो त्यस्तो ?

पहिलो पटक बसबाट तुल्सीपुरको बजारमा झर्दा, एक्लै थिएँ । मामाघर खोज्दै हिडेँ । जाँदा जाँदा, खोज्दा खोज्दा म त मामा भएकै नजिक पुगेछु । मामाले बोलाउँदा झस्केँ । अनि सम्झीन्छु, भर्खर खुलेको त्यो एफ एर्म रेडियो तुलसीपुर’ जहाँबाट बारम्बार त्यो बेला–तिमी आउने बाटोमा फूल रोपी दिएँ तिमी आईनौ भन्ने गित बज्थ्यो । त्यो गित सुन्दै, सकिनसकि स्टोभमा दम दिँदै, सोही गित गुनगुनाउँदै खाना पकाएको आज पनि सम्झीन्छु । जब जब सम्झीन्छु ति पल अनौठो भाव उत्पन्न हुन्छ, मनको कतै कुनामा ।

फेरी पनि सम्झीन्छु, राप्तीबबई पढ्दा, क्याम्पस पर पर घाँसे मैदान थियो । जहाँ मन परेकि केटी सँग, पढ्न मन नलागेको बेला सँगै डुल्थेँ, घुम्थेँ । मनका कुरा पोख्थेँ । कयौँ पटक गोजीमा पैसा नहुँदा पनि नास्ता खाम के खाम भनी अफर गर्थेँ । झन्डै भो खान्न भन्थी र पो........। एकदिन त्यो मेरो एकतर्फी प्रेम भंग भयो । उसले त मलाई सिर्फ साथी मात्र मान्दी रैछे । यि केटीहरु कति बेला के मान्छन् कति बेला के ठान्छन् थाहै नहुने । अब भयो ? उफ पागल प्रेमी भएँ । अनि त के चाहियो ? एफ एम बाट सुनेको गित कण्ठ जो थियो । त्यै गितलाई बंग्याएर गाउन थालेँ– तिमी आउने बाटोमा बम रोपीदिएँ तिमी मरिनौ......। ठिक त्यतिबेला स्टोभ बल्दैन्थ्यो, धुवाँ हुन्थ्यो कोठाभरि अनि हिर्काइदिन्थेँ लात्तीले कुनातिर । भोकै जान्थेँ फिल्महल, निखिल र रेखा रमितको धडकन फिल्म हेर्न ।

आज सम्झेको छु, सानो झोलामा मार्कसिट बोकेर मन परेको मान्छे बस्ने शहरलाई सदाका लागि बाई भन्दै काठमाडौँको रात्रीबसमा यात्रा गरेको । पहिलो पटक एक्लै गोँगबु बसपार्क झर्दा, तिन छक परेको थिएँ लस्करका लस्कर गाडी देखेर । यत्रा गाडी कहाँ जान्छन ? अनि सोझै पुगेको थिएँ अनामनगरको त्यो अध्यारो गल्लीमा जहाँ एकजना बस्नेत भन्ने साथी बस्थे । अनि यतिबेलै सम्झना हुन्छ, मुसिकोट पढ्दा साथीहरु सँग लागेर राति राति कला चोर्दै खाएको । अनि सम्झन्छु भक्तपुर शिक्षा क्याम्पस पढ्दा, काभ्रेको एउटा डाँडोमा पिकनिक खान जाँदा, पहिलो पटक वियर खाएर मर्नेगरी वान्ता गरेको । अनि सम्झीन्छु मन परेका मान्छेहरु सँग चितवनको देवघाट देखि बुद्धस्थल लुम्बीनी सम्म एकहप्ता डुलेघुमेको । अनि सम्झीन्छु पोखराका भिआईपी होटेलमा मिठो नास्ता गर्दै, फेवातालको दृश्य हेर्दै, सहयोद्धाहरु सँग राजनीतिका लामा लामा बहस गरेको ।

याद न हुन, एकैछिनमा आईहाल्छन् । फेरी, एकैछिनमा गैहाल्छन् । कल्पना गर्छु, अबको दश वर्ष पछि सल्यानमा बिताईरहेका आजभोलीका यी दिनलाई म कसरी सम्झन सकुँला ? 

एउटा घर हुनेछ, साथमा श्रीमती । सायद एउटा सानो सानो बच्चो पनि । व्यस्त जीवनलाई रोक्नेछु जर्बजस्ती । यी फोन, यी सामाजिक सञ्जाल सब कनेक्शन टुटाउनेछु केही दिन । सुन्दर परिवार सँग, अति सुन्दर पलहरु बिताउँदै एकान्तमा बस्दा डायरीको एउटा पानामा यसरी लेख्नेछु –

“जिवनको यो सुन्दरतम मोडमा आउँदा, सल्यानलाई खुब मिस गरिरहेछु । ति राजनैतिक गफगाफ, मिडियाका साथीहरु सँगको दोस्ती, अनलाईनमा लेखिने लेखहरुको तातो बहस, अनि थरिथरिका कार्यक्रममा हुने सहभागीता । कति कति कार्यालयका हाकिम, कर्मचारीहरुसँगको आत्मीए सम्बन्ध, नेता नेताका छेडखानी, कार्यकर्ता कार्यकर्ता बिचको घोचपेच, सहकर्मी साथीहरुका दाउपेच । वाह ! कति सुन्दर पलहरु भोगीछु । आज फर्केर फेरी पनि यिनै आँखामा टाँस्न मन लागेको छ, तिनै मायालुहरु । जसलाई म मन पराउथेँ तर भन्न सक्दिनथेँ । जो सँग म, मेरो भित्री मनका घाउहरु, गुनासाहरु, पिडाहरु र अभावकाकुराहरु पोख्न चाहन्थेँ । सेयर गर्न चाहन्थेँ । अहँ, कुनै पहल पनि गर्न सकिन । एकपटक भेटेर खरररर मनको भारी किन बिसाईन होला ? मारित हाल्दैन्थे होला नी । भो ! नभनेकै बेस भो । भनेको भए यत्ति गुनासो कहाँ बाँकी रहन्थ्यो र .....हुन त अर्कै रामकहानी पो लेखिने थियो कि ? 

अनि फेरी ति भूल्नै नसकिने घरबेटी आमा । जसले विहान विहानै बावु चिया भन्दै मात्र होइन, कहिले कहिले त साँझमा .....चिसो फाल्छ के बावु....केही हुन्न खाउ....म आमाले भनेको त मान....भन्दै तातो गिलास समात्न कर गर्ने..........वाह कति सुन्दर र सहयोगी थियो त्यो परिवार । अनि मेरो कोठा । त्यो पनि त कम थिएन । बाहिरका जत्तिसुकै तनाव भएपनि जब म भित्र पस्थेँ, कोठामा पुग्थेँ, सब भूल्थेँ । दराजभरि, कोठाभरि थरिथरिका किताबहरु थिए । .....कहिलेकाँही आधारातमा उठेर पढ्थेँ....ल्यापटपमा लामालामा लेख लेख्थेँ । कहिले घाम ताप्दै पढ्थेँ । कहिले ओछ्यानमा गुटमुटिदै । कहिले सोफामा पल्टेर, पढ्दा पढ्दै निदाउथेँ ।”

एसएलसीको मार्कसिटमा मात्र दुई नम्बर पुगेन । फस्र्ट डिभिजन मार्ने मेरो योजना पूरा भएन । अनि त डाक्टर पढ्ने, इन्जिनीयर बन्ने सपना त्यागेँ । पहिलो वर्ष पढ्दा क्याम्पस टपेको थिएँ, अर्को वर्ष प्रेम रोगी भएँ । काठमाडौँको खाल्डोमा भविष्य खोज्दा खोज्दै, भनेको जत्ति विदेशबाट दाईले पैसा पठाईदिएन भन्ने झोकमा आफै कमाउन भनि हिँडे । मन, वचन र कर्मले जत्ति राम्रो गरे पनि, जत्ति राम्रो पढाए पनि जस नदिने हेडमास्टरको अफिसमै टाउको फुटाएर राजनीतिमा होमिएँ । 

कति चोट खाएँ, कति चोट दिईरहेछु यो बाटोमा पनि, त्यो मलाई मात्र थाहा छ । आज फेरी जिवनका अन्य सारा रहरहरु, सपनाहरु त्यागेर आफू होमिरहेको राजनीति, यो जटिल जिवन र अपरिभाषित प्रेमको त्रिवेणीमा हिडिरहँदा यत्ति भन्न सक्छु –जीवनमा म फेरी कतै चुक्छु । चुक्दै चुक्दै अगाडि बढ्छु । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!