महोत्सव र बालबालिका दुर्घटना

Posted on: 13 Jan, 2017

प्रभात सुवेदी । अहिले व्यापार र पर्यटनका नाममा विकृत कला र संस्कृतिको खेती गरी महोत्सव आयोजना गर्ने होड नै चलिरहेको छ । 

जताततै महोत्सव नै महोत्सव आयोजना गरिएको छ । एकातिर यस्ता महोत्सवहरुले राष्ट्रिय भन्ने उपमा पाएका कलाकारहरुका लागि आर्थिक जोहो गर्ने राम्रै अवसर बनेको छ भने अर्कोतिर महोत्सवका रङ्मञ्चीय कार्यक्रमहरुमा प्रस्तुत गरिने कतिपय कलाकारिताहरुले विकृति र विसङ्गतिहरुलाई प्रश्रय दिइरहेको पाइएको छ । यति मात्रै हैन कि महोत्सवमा व्यावसायीहरुलाई स्टकमा रहेका मालसमानहरु बिक्री गर्ने पनि एउटा अवसर भएको छ । यसका सकारात्मक तथा नकारात्मक पक्षहरु छन् जुन् अस्वभाविक पनि हैन ।

महोत्सव आयोजना गर्नुपूर्व महोत्सवको सामाजिक उद्देश्य के हो, यसको फाइदाबाट समाज र स्थानीय समुदायले के प्राप्त गर्न सक्दछन् भन्ने कुरा प्रष्ट हुनु जरुरी छ । हैन भने चटक देखाएर, जुवा खेलाएर, रमाइलो मेलाका नाममा बाल उद्यानका नाममा स्थापना गरिएका विविध भौतिक संरचनारुले ज्यान लिनेसम्मका घटनाहरु पनि हुन सक्दछन् । केही समय अघि सुर्खेतको कार्यक्रमा एक विद्यार्थी महोत्सवमा लाइनमा बसेर अतिथिलाई स्वागत गर्ने पालो पर्खँदै गर्दा बेहोस भएर ज्यान गुमाउनु परेको थियो । 

यति मात्रै नभएर परार साल बर्दियाको सानोश्रीतारातल नगरपालिकामा गरिएको महोत्सवमा खेल्ने क्रममा १० वर्षीय एक बालक लडेर टाउकोमा गम्भीर चोट लागेको थियो । (हे. तस्वीर) । यस्ता प्रकारका घटनाहरु पनि घट्ने गरेका छन् महोत्सवहरुमा । त्यसैले महोत्सवको आयोजना गरिनु र भव्य सजावट बनाइनु मात्रै ठूलो कुरा हैन । महत्वपूर्ण कुरा त के हो भने स्थानीय समुदाय कुन कोणबाट लाभान्वित भए भन्ने कुरा हो । 

त्यसैले महोत्सव आयोजकहरुले यस प्रकारका विषयहरुमा गम्भिर भएर सोचिदिएनन् भने कमाउने माध्यमका रुपमा स्थापित हुन्छ महोत्सव । कतिपय स्थानहरुमा आयोजना गरिएका महोत्सवबाट संकलित रकम र त्यसको खर्चको पारदर्शिताका साथ सार्वजनिकीकरण गरिएको छ । कतिपय ठाउँहरुमा सामाजिक कार्यहरु, एम्बुलेन्स खरिद, विद्यालय तथा क्याम्पसहरु स्थापनाका लागि महोत्सवबाट उठेको रकम खर्च गरिएका उदाहरणहरु पनि छन् । तर कहिँ कतै भने महोत्सवपछि यसबाट भएको आम्दानी र खर्चको विवरण पनि पारदर्शी गर्ने गरिएको हुँदैन । 

महोत्सव आयोजना गरिनु राम्रो कुरा हो तर त्यसले समाजका कुन कुन क्षेत्रहरुमा सकारात्मक प्रभाव पारेको छ भन्ने कुराको पनि आँकलन हुनु जरुरी छ । हैन भने स्टलहरुमा राखिएका बस्तुका गुणस्तर र तिनीहरुको मूल्य सूचीका सन्दर्भमा अनुगमन गरिनु पर्दछ । दरभाउ पनि निश्चित नभएका स्टक मालहरु विक्री गरेर आम उपभोक्तहरुलाई ठग्ने परम्पराका रुपमा महोत्सव स्थापित नहोस् । यी त भए उद्देश्यभित्रका कुरा । अब केही शिक्षाप्रद कुराहरु गरौँ । 

करिव ३ वर्ष अघि महोत्सवमा देखिएको दृश्य देखेर यो स्तम्भकारले एउटा शीर्षकमा एउटा आलेख लेखेको थियो ‘महोत्सव, अश्लिलता र कक्षाकोठा’ विषयमा । जुन आलेखलाई कक्षाकोठाको विषयसँग जोडिएको थियो । किनभने महोत्सवको समयमा विद्यालयका कक्षाकोठाहरु खाली थिए । विद्यार्थीहरु कोही दोस्रो, तेस्रो पिरियडपछि भागेर महोत्सव हेर्नका लगि जाँदा कक्षाकोठाहरु खाली हुन्थे । अझ टिफिन समयपछि भने त पूर्ण रुपमा विद्यालय नै सुनसान नै बन्ने गर्थे । त्यो अवस्था अझै पनि आइरहेको छ । 

विद्यार्थीहरुका लागि यति र उति प्रतिशत टिकटमा छुट भन्दै आकर्षण गर्दै गर्दा उनीहरुमा विकृत मानसिकताको जन्म भैरहेको छ । महोत्सवमा जानकै लागि पैसाको जोहो गर्न अनेक प्रकारका तुक्ष्छ क्रियाकलापहरु समेत गर्न पछि पर्दैनन् बालबालिकाहरु । तर, त्यहाँ राखिएका स्टलहरुमा बालबालिकाहरुका लागि उपयोगी सामग्रीहरु एउटा पनि हुँदैनन् । 

यदि बालबालिकाहरुलाई मध्यनजर गर्ने हो भने उनीहरुका लगि कुनै उपयोगी स्टलहरु जस्तैः विभिन्न बाल सन्दर्भ सामग्रीहरुले भरिपूर्ण पुस्तकका स्टलहरु राखिनु पर्दछ । जहाँ उनीहरुले निःशुल्क रुपमा केही पुस्तकहरु पढ्न पाउन् वा केही विक्रीका लागि पनि पुस्तकहरु वा कुनै श्रव्य दृश्य सामग्रीहरु पनि राखियोस् जसबाट उनीहरुले ज्ञान र विज्ञानका कुराहरु सिकेर लाभान्वित हुन सकुन् । 

बालबालिकहरु जिद्दि स्वभावका हुन्छन् । यो स्वभाविक पनि हो तर अभिभावकहरुले उनीहरुका जायज मागहरु भने पूरा गर्नैै पर्दछ र अनावश्यक मागहरुलाई बडो सावधानीपूर्ण तरीकाले सम्झाई बुझाईकन निराकरण गर्नु आवश्य ह्ुन्छ । बाल उद्यानका नाममा राखिएका गाडिहरु, पिङहरु, घुम्ने खालका खेलौनाहरु आदिहरुमा चढेर आनन्द लिन त सकिन्छ तर सानो पनि सावधानी नअपनाएको खण्डमा भने ठूलै दुर्घटना निम्तिन सक्दछ । यसर्थ अभिभावकहरुले आ–आफ्ना बालबालिकाहरुलाई खतरा नभएको खेल्ने स्थानहरुको पहिचान गरेर मात्रै खेलाउनु पर्दछ । हैन भने कसैलाई बेहोस हुने, चक्कर लाग्ने, वाकवाकी लाग्ने जस्ता समस्याहरु पनि देखा पर्दछन् । 

कोही बालबालिकाहरु आत्तिएर पिङको माथिबाटै खस्न सक्दछन् । यी र यस्ता सम्भावित दुर्घटनाका पक्षहरुमा ख्याल राखिएन भने रमाइलोका नाममा परिवारको वातावरण नै निरस र उजाड हुन पुग्दछ । त्यसैले बरु उनीहरुलाई केही कुरा बुझाएर त्यस्ता स्थलहरुमा नजानको लागि उत्प्रेरित गर्नु असल अभिभावकहरुको जिम्मेवारी हो । यसका लागि हामी सबै अभिभावकहरुले आफ्ना बालकालिकाहरुलाई विशेष ख्याल राख्नु जरुरी छ । हैन भने सानो लापार्वाहीका कारणले गर्दा ज्यानै जान सक्ने वा अङ्गभङ्ग हुने सम्भावनाहरु हुन सक्दछ । 

जीवन अमूल्य छ, केही गर्नु छ तर यही जीवनको महत्वलाई बुझ्न सकिएन भने र यसलाई सही रुपमा सदुपयोग गर्न जानिएन भने ठूलो पश्चाताप हुने कुरालाई नकार्न पनि सकिदैन । त्यसैले यहाँहरु सबै अत्यन्तै संवेदनशील हुनुहुन्छ भन्ने लाग्दछ । घर परिवारमा पनि यस विषयमा गहन छलफल हुनु जरुरी छ । 

यति मात्रै हैन विद्यालयमा गुरु गुरुआमाहरुले पनि बालबालिकाहरुलाई यसका बारेमा जानकारी गराउनु पर्दछ । बरु शैक्षिक भ्रमण र पारीवारिक भ्रमणहरुमा लगेर धेरै कुराहरु सिकाउनुका साथै उनीहरुसँग नजिकिन सकिन्छ । महोत्सवमा जाँदा त्यहाँको प्रदुषित वातावरणले पनि स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्दछ । एकातिर धुलो अनि अर्कोतिर ध्वनि प्रदुषण जसका कारणले मानसिक रुपमा तनावित बनाउने मात्रै हैन हामीलाई शारीरिक रुपमा पनि असर पार्दछ । 

कुलत र कुसङ्गतमा फँस्ने उमेर भनेको नै विद्यालय उमेर भएको कारणले गर्दा उनीहरुलाई हर तरहले नैतिक शिक्षा दिनु आवश्यक छ । आजभोलि नैतिक शिक्षाको खडेरी नै परेको छ । दिनानुदिन बालबालिकाहरु विकृति र विसङ्गतिहरुमा फँसिरहेका छन् । आजभोलि उनीहरुले आफ्नो सिर्जनात्मक क्षमतालाई नै हत्या गरिरहेका छन् । अनेकन सम्भावनाहरु बोकेका बालकालिकाहरु कलुसित मानसिकतामा बाँचिरहेका छन् । उनीहरुको सोचको पर्खाल निकै साँघुरिरहेको छ । 

जसले गर्दा संसारलाई चिहाउन सक्ने नजरहरुको दृष्टि समेत साँघुरिएको अवस्था छ । यदि हामीले आजैबाट यस्ता कुराहरुलाई गम्भीरतापूर्वक लिएनौ भने तपाईं हाम्रा बालबलिकाहरु असल बाटो समात्न सक्ने छैनन् । यति मात्रै हैन उनीहरु त असफल हुन्छन् हुन्छन् हामीलाई पनि असफल बनाउँछन् अनि हामीले देखेको बालबालिकाहरुको सुन्दर भविष्यको सपनाहरु सिसा जस्तै गरि झ¥याम्म फुट्दछन् । यो अवस्थामा अभिभाकहरुको अवस्था र सोच के होला ? एक क्षण आँखा बन्द गरेर साँच्चिकै मनदेखि नै विचार गरौँ त । भोलि यो अवस्था तपाईं हाम्रो घर परिवारमा नआओस् । 

मनोरञ्जनका अनेकन तौर तरीकाहरु हुन्छन् । मानिस स्वभावैले मनोरञ्जन गर्न चाहन्छ । बालबालिकाहरुका पनि अनेकन इच्छाहरु हून्छन् ती सबै इच्छाहरुलाई हामीले पूरा गर्न त नसकौँला तर पनि केही हदसम्म हाम्रो सामथ्र्यले भ्याएसम्मका जायज इचछाहरुलाई पूरा गर्नु असल अभिभावक हुनुको पनि दायित्व हो । 

त्यसैले यदि हामी असल अभिभावक बनेर असल सन्तानहरुको अपेक्षा गर्दछौँ भने हामीले नै उनीहरुलाई असल संस्कार दिनु पर्दछ र यसको शुरुवात भनेको आँफैबाट पनि गर्नु पर्दछ । अतः सावधानी र सजगता अपनाऔँ बालबालिकाहरुका लगि जोखिम हुने क्षेत्रहरुमा कदापि नलैजाऔँ उनीहरुको ज्ञानको दायरा र सम्भावहरुलाई प्रस्फुटित हुने असवर प्रदान गरौँ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!