राज्यको पुनर्संरचना, शिक्षा र भविष्य

Posted on: 20 Jan, 2017

–प्रभात सुवेदी  (बर्दिया) | 

मानव चेतनाको विकासको माध्यम नै शिक्षा हो । जैविक मानिसलाई चेतनशील बनाउने काम नै शिक्षाले गर्दछ । शिक्षाविद्हरुका अनुसार शिक्षा भनेको मानवको व्यवहार परिवर्तनको माध्यम हो जसले मानिसका अन्र्तनिहित सम्भावनाहरुलाई प्रस्फुटन गर्ने कार्य गर्दछ । वर्तमान समयमा शिक्षाको अर्थ र परिभाषा प्रविधिमय हुँदै गएको छ । अहिले आम सञ्चारको तीब्र विकास र यसको प्रयोगले शिक्षाको परिभाषाको दायरा केही फरक होला तर पनि मानव समुदाय रहेसम्म शिक्षा व्यवहार परिवर्तनसँगै सामिप्यता गाँसिरहन्छ । 

मानिसको जीवन नै जन्म र मृत्युबीचको अवधि हो । यही अवधिभित्र नै मानिसले जे जति कार्यहरु गर्नु पर्ने हो गर्नु पर्दछ वा गरेको हुन्छ । जीवनभर गरिने कार्यहरु पनि विभिन्न प्रकृतिका हुन्छन् । कुनै कार्यहरु योजनामुताविक गरिन्छन् भने कुनै विनायोजना पनि हुने गर्दछन् । भविष्य वा आउने समयमा मानिसले मेरो जीवनमा यो काम गर्नेछु् भनी योजना तय गर्नु नै लक्ष्य हो । सो लक्ष्य अनुसार नै भविष्य निर्धारण हुने गर्दछ । मानव जीवनले एउटा आकार प्राप्त गर्दछ वा गन्तव्य प्राप्त गर्दछ । सो गन्तव्य अनुसार नै जीवनको दूरी अर्थात आयु छोटो हुँदै जान्छ । भविष्यमा सोचेको काम त्यत्तिकै पूरा हुन सक्दैन यसका लागि त्याग, समर्पणको भावना र लगनशीलता चाहिन्छ । 

आजभोलि विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा एउटा समस्या देखिएको छ । यो अहिलेको मात्रै पनि हैन । हामीमा पनि यो समस्या नभएको हैन । त्यसैले हामीले जीवनमा सोचेका कुराहरु कतिपय त्यसै ठिम्रीएर बसेका छन् भने कतिपय त यत्तिकै मरिसकेका छन् । बालबालिकाहरुलाई जीवनको महत्व र यसको उपयोगिताका बारेमा समयमा नै जानकारी दिनु आवश्यक छ । कुनै पनि मानिसले जीवनमा केही गर्ने सोच तब मात्र राख्दछ जब उसले जीवनको महत्व थाहा पाउँदछ । त्यही जीवनको महत्वलाई बुझ्नका लागि मानिस सधै उद्येत रहनु जरुरी हुन्छ । मानव मूल्य बुझेपछि मात्रै मानिसले समयको महत्व बुझेर आफ्नो भविष्य वा लक्ष्यप्रति प्रेरित रहन्छ । 

बालबालिकाहरुलाई भविष्य प्रति सजग बनाउनु जरुरी छ । सो अनुरुपको लक्ष्य तय गर्न र लक्ष्य अनुसार लगनशील भएर निरन्तर लक्ष्योन्मुख हुनका लागि प्रेरित गरिरहनु पर्दछ । अबको आवश्यकता भनेको त्यही रुपमा शिक्षा प्रदान गरेर तदनुरुपको मार्गमा लाग्नका लागि प्रेरित गरिनु हो । तर, आजको शिक्षा बालबालिकाहरुको रुची अनुकुल भैरहेको छैन । उनीहरुका व्यवहार र आचरणले पनि यो प्रमाणित गरिसकेको छ । त्यसैले अब राज्यले पनि यो मामलामा गम्भीर भएर सोच पुर्याउनु पर्दछ । बालबालिकाका अनेकन् चाहनाहरु हुन्छन् । उनीहरुको रुचीको पहिचान भनेको यौवनावस्था वा किशोरावस्थामा भैसकेको हुन्छ । त्यसैले यही उमेरमा उनीहरुमा भएको रुची र देखिएको व्यवहारका आधारमा शिक्षा दिनु अबको आवश्यकता हो । त्यसैले कुनै पनि बालबालिकालाई आधारभूत तहसम्मको शिक्षा दिएर लेखन र पठन सिपको विकास भैसकेपछि उसको रुची अनुसारको शिक्षामा समाहित गरिदिनु पर्दछ ताकि बालबालिकाहरु आफ्नो रोजाइ वा चाहनाबमोजिमको शिक्षा लिन पाएकोमा गौरवान्वित हुन सकुन् । तर यहाँ यसो हुन सकिरहेको छैन । चाहे रुची होस् वा नहोस् हामीले एकोहोरो जबरजस्ती रटानमय शिक्षामा समाहित गरिदिदा भने उनीहरुमा भएको सिर्जनात्मकता भने मरेर गएको अवस्था छ । 

अधिकाँश विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्दाको समयसम्म पनि आफ्नो लक्ष्य निर्धारण गर्न सकेका हुँदैनन् ।, यो तीतो यथार्थ हो । अध्ययनका समयमा उनीहरुलाई परीक्षा कसरी पास गर्ने वा उच्च अङ्क कसरी ल्याउने भन्नेतर्फ मात्रै ध्यान केन्द्रित हुने भएकाले पनि आफ्नो भविष्य के हो र गर्नु पर्ने काम के हो भन्ने कुराको कुनै हेक्का नै रहँदैन । त्यसैले गर्दा यहाँको शिक्षाको संरचना यस्तो छ कि कुनै पनि तहको परीक्षामा सफलतासँगै सुनिश्चित भविष्यको पनि सर्टिफिकेट हात परोस् भनेर भन्न पनि सकिँदैन । उसले उच्च अङ्कका साथमा परीक्षा उत्तीर्ण गरेतापनि समस्या उही नै हो कि उसले फेरी लामो समयसम्म वेरोजगारीको ट्याग झुण्ड्याएर हिडिरहने अवस्था आउँदछ । फेरि जीवन निर्वाह गर्नका लगि र सो अनुरुपको जागीर पाउनका लागि भने उसले आफूलाई फेरी थुप्रै वेरोजगारहरुको भीडमा खरो उभ्याउनु पर्दछ । समस्यै समस्याको थुप्राहरुमा कुल्चिएर अगाडि बढिरहुनको बाद्यता आजको शिक्षाले दिएको उपलब्धी हो । यही कारणले गर्दा नै सक्षम व्यक्तिहरु विदेशिनु परिरहेको अवस्था रहेको छ । 

हाम्रो मुलुकमा भएको शैक्षिक वेरोजगारको समस्याले गर्दा आज युवाहरु पलायन भैरहेको छन् । उच्च शिक्षा अध्ययन गरेका शिक्षित व्यक्तिहरु आफ्नै मुलुकमा नै केही गरौँला भनेर एक रति पनि चिताएका हुँदैनन् । पाएसम्म विदेश जान खोज्नेहरुको जमात प्रसस्त देखिएको हुन्छ । यसको ज्वलन्त उदाहरण भनेको डिभि भर्नेहरुको भिडबाट नै आँकलन गर्न सकिन्छ । शिक्षालाई हेर्ने र परिभाषा गर्ने परिपाटी नै फरक भैसक्यो कि ‘पढेर के हुन्छ र जागीर पाउन उही हो, आफ्ना मान्छेहरु माथि छैनन्’ यस्तै यस्तै भनाइहरु सुनिनु कुनै नौलो कुरा पनि हैन । यसो हुँदा शिक्षा व्यवहारमुखी नभएर विदेशमुखी त भएन भन्ने सवाल हो । हो, विदेश गएर त्यहाँका नयाँ नयाँ प्रविधिहरु सिकेर आफ्नै मुलुकमा केही गर्ने उत्प्रेरणा जगाउन सकिएमा भने अत्यन्तै राम्रो कुरा हो । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । तर आफ्नो मुलुकलाई छाडेर उतै पलायन हुने संस्कारका कारण आफ्नै मुलुकसँग विरानो बन्दै गएका सन्ततीहरुबाट यो मुलुक, समाज र घरपरिवारले के आशा गर्ने र ? 

राज्यको पुर्नसंरचनासँगै शिक्षाको पुर्नसंरचनाको कुरा पनि उठिरहेको छ । यहाँ शिक्षाको पुर्नसंरचनाको कुरा गर्दा केवल पाठ्यक्रम वा पाठ्यपुस्तकमा केही परिवर्तन गरिनु मात्रै पुर्नसंरचनाको परिधीभित्र पर्दैन होला । अझ परीक्षाको प्रणाली नतिजाप्रणाली मात्रै परिवर्तन गरिनु पनि पुर्नसंरचना हैन होला । यसले कुनै परिवर्तन होला भन्ने आशा गर्नु व्यर्थ छ । जबसम्म कुनै बालबालिकाहरुले आफूलाई चिन्ने र आफ्नो क्षमताको पहिचान गरी तदनुरुपको अवसरहरु पाउँन सक्दैनन् तवबसम्म शिक्षाको पुर्नसंरचनाले कुनै पनि अर्थ राख्दैन । त्यसैले शिक्षा भनेको मानिसले आफूले आफूलाई चिन्न सक्ने र आफ्नो क्षमताको पहिचान गरेर सो अनुरुपको मार्गलाई पछ्याउँदै सम्भावनाका सुनिश्चित भविष्यको खोजी गर्नका लगि सहज हुनु पर्दछ । 

भविष्यको लक्ष्यका सन्दर्भमा केही बालबालिकाहरुलाई प्रश्न गरियो भने उनीहरु निउत्तर भएर बस्छन् । माध्यमिक तहसम्म पुगिसक्दा पनि उनीहरुलाई आफ्नो भविष्य के हो र लक्ष्य के हो भन्ने कुराको ज्ञात नै हुँदैन भने हामी यो कस्तो शिक्षा प्रदान गरिरहेका छौँ । ‘खाए खा, नखाए घिच’ को यो शिक्षा प्रणालीले कुनैपनि उपलब्धी दिन सकिरहेको छैन मात्र भकाभक शिक्षित वेरोजगारको उत्पादन गरिरहेको छ एउटा फ्याक्ट्रिजस्तै । यो निकै दुःखलाग्दो कुरा हो । बालबालिकाहरुको आनीबानी र स्वभावका आधारमा उनीहरुको रुचीको सहि पहिचान गरेर तदनुरुपको शिक्षाको व्यवस्था गर्न सकिएको खण्डमा मात्रै अबको समयमा शिक्षाको अर्थ रहन्छ हैन भने यसरी नै चल्दै जाने र जवरजस्तको शिक्षा दिँदै जाने हो भने बालबालिकाहरुमा वर्तमानमा देखिएको विकराल समस्या अझै विकराल बन्दै जाने कुरालाई नकार्न सकिँदैन । 

वर्तमानमा बालबालिकाहरुले अनुशासनको मार्गलाई पछ्याउन सकिरहेका छैनन् । बालमैत्री शिक्षा दिने नाममा हामीले बालबालिकाहरुलाई अत्यन्तै सिमा नाघेर गरेको माया र ममताका कारण आज उनीहरुको शैली र व्यवहारले पनि सिमा नाघिसकेको छ । ती बालबालिकाहरु जसले घरमा अभिभावकहरुले निगरानीका साथ माया पाइरहेका छन् उनीहरुको भने व्यवहार केही फरक पाइन्छ भने अभिभावकहरुको निगरानी नभएका अलि बढी स्वतन्त्रता पाएका बालबालकिाहरु नै कुलत र कुसङ्गतको चङ्गुलमा थाहै नपाइकन फँसिरहेका छन् । 

त्यसैले, अवको शिक्षा भनेको बालबालिकाहरुले आफूलाई सहज रुपमा चिन्न सक्ने हुनु पर्दछ । शिक्षा व्यवहार परिवर्तनको कसी हो तर व्यवहार परिवर्तन गर्नका लागि सवैभन्दा पहिले आफ्नो व्यवहारका सन्दर्भमा जानकारी पनि त पाउनु पर्यो नि ! अनि मात्रै व्यवहारलाई आकार दिन सजिलो हुन्छ । शिक्षा यस्तो होस् कि, जसको माध्यमबाट बालबालिकाहरुले सहज रुपमा आफ्नो लक्ष्य वा भविष्यलाई स्वीकार गर्दै निरन्तर अगाडि बढिरहने प्रेरणा पाइरहन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!