लिने र दिने क्रममा नयाँ र पुराना वर्षहरु

Posted on: 14 Apr, 2017

राजु विक 

घडीले पाँच बजेदेखि नै आलाराम लगाउन थालेको थियो तर टेढिएन । छ बजे मात्रै उठेँ । मेरा छोराछोरी, जीवनसखी अझै निद्रालोकमै थिए । आमा र बुबा उठेर दैनिक नित्यकर्म गर्दै हुनुहुन्थ्यो । म दैनिक नित्यकर्म सकेर कपडा लगाउँदै थिएँ । आमाले चिया लिएर आउनु भयो । चिया पिउँदै थिएँ । भाइको छोरा सागर हयाप्पी न्यू यार ठुलाबाबा भन्दै आइपुगे । उनलाई मेरो शुभकामना लिन पनि निकै हतारो थियो । मलाई जस्तै अरुलाई पनि नयाँ वर्षको शुभकामना बाँड्न उनी हिँडिसकेका थिए । म हतार हतार गर्दै नयाँ वर्षको उपलक्ष्यमा गण्डकी नुहाउनका लागि मोदीबेनी पुण्यधाम तिर दौडिएँ ।

कुश्मा ज्ञादी झोलुङ्गे पुलमा धेरै मानिसहरु आतेजाते गर्दै थिए । धेरै जसो चिनेका मान्छे । सबैलाई नमस्कार र नयाँ वर्षको शुभकामना बाँड्दै अगाडि बढेँ । खेलमैदानबाटै सशस्त्र क्यामलाई फन्को मार्दै मुडिकुवा कुश्मा जोड्ने आकाशे पुलको मुखमा पुग्दा मेरा दुबै पैतलाले सिँढीहरु गन्न थालिसकेका थिए । भिरमा आमाको पिठ्यूँमा झुण्डिएका बालबालिका झैँ झुण्डिएका सिँढीहरुको कुनै उचाइ थिएन । न त थियो होचाइ नै । कुनै इतिहास थिएन । न त थियो वर्तमान र भविष्यनै । कुनै आफन्त थिएनन् । न त थिए पराइ नै । 

देवताहरुले हालेको स्वर्गको पुलझै आकाशको गर्भमा टाँसिएको पुल थियो मुडिकुवा कुश्मा जोड्ने झोलुङ्गे पुल । पुलको मुखमा उभिएका सशस्त्र पुलिसहरुको जमातले आउने जाने असंख्य तिर्थयात्रीहरुलाई नववर्षको सलाम ठोकिरहेका थिए । लाग्थ्यो, उनीहरु आआफ्नै शैलीमा मौन र प्रेमी पाराले शुभकामना बाँडिरहेका थिए । 

पुलमुनि स्वागत र प्रेमको शीतल छहारी बाँड्नका लागि उभिइरहने सालका रुखहरु थिएनन् । त्यहाँ त थिए केबल अवशेष धरी जरा र ठेट्नाहरु । बिचरा कहाँ गए हुनन् ती । उभिइरहन्थे ती । भिरमा । पिरमा । पहरामा । छहरामा । आगोमा । पानीमा । कहिल्यै पनि उभिन छाडेका थिएनन् तिनीहरु । हाम्रै लागि । संसारका लागि । संस्कारका लागि । सभ्यताका लागि । जीवनका लागि उभिन्थे ती । धेरै चराहरु ससाना गुँड बनाउथे तिनैका हाँगमा । वासन्ती कोकील लुकी लुकी गीत गाउँथ्यो तिनैको मञ्जरीमा । खै कहाँ छन् ती ? कहाँ गए हुनन् ती ? कहाँ लगियो होला तिनलाई ? आज भेट्न पाइएन । भोलि के हुन्छ ? लाग्छ । आज मैले धेरै प्रियजन गुमाइरहेछु । 

ओरालोमा । उकालोमा । धेरैलाई भेटियो । चिनेका । नचिनेका । प्रिय । अप्रिय । मोटा । दुब्ला । धनी । गरिब । जितेका । हारेका । सुखी । दुःखी । पापी । धर्मी । कर्मी । सर्मी । सबै अनुहार भेटियो । 

धेरै जसो मोटा र बूढा आमाहरु बाटोमा भेटिने सबैलाई नयाँ वर्षको  शुभकामना बाँडिरहेका थिए । युवतीहरु कुन्नि के सोचेर हो मस्किरहेका थए । सुकिला र दर्बिला युवाहरु देखिन । थिए त केवल माथि बन्दुक बोकेर मौन रुपमा स्वागत र शुभकामना बाँडिरहेका सशस्त्र प्रहरी जवानहरु । जो माथि नै छोडिइसकेका थिए । 

उकालोमा । ओरालोमा । भेट्ने र छुट्ने युवक भनौँ या वृद्ध जसलाई सास लिन र छोड्न नै धौ धौ थियो । आफ्ना शरीरभन्दा ठूला भुँडी बोकेर उनीहरु रेलिङ या जीवनसखा हुन या अरु कुनै दर्बिला युवतीहरुका हात समातेर धकारो मेटाउँदै थिए । लाग्छ । उनीहरु गाडा तानेका वयल जस्तै थकित छन् । थकाइको केही अंश नव वर्षको उपलक्ष्यमा कालीको सङ्लो पानीमा बगाएर हलुको भएर फर्किदै छन् । 

पुरानो वर्ष छोड्न र नयाँ वर्ष लिनका लागि मोदीबेनी धाम हिँडेका र फर्केका धेरै तिर्थयात्रीको भीड छिचोलेर अगाडि जान नपाएपछि केही अर्धवयष्क महिलाहरुको पछिपछि हिडिरहेँ । उनीहरु शुभकामना बाँड्दै थिए । उनीहरुको शुभकामनाको एउटा वाक्य मेरो मनमा अड्किरहयो । “नयाँ वर्षसँगै नयाँ चुनाव आएको छ । नव वर्षले हाम्रो पार्टीलाई जिताऊन् ।”

मेरो मन थामिएन । भनिहालेँ । “पार्टी त सबैको हुन्छ । चोरको । सादुको । केटाकेटीको । बूढाबूढीको । सज्जनको । दुर्जनको ।”

“कमिलाको । धमिराको । किराको । फट्याङ्ग्राको ।”

“उड्नीको । गुड्नीको ।”

“झारपातको । रुखबिरुवाको ।”

“जिउनीको । मर्नीको ।” 

“सबैको पार्टी हुन्छ । यी सबै जित्न चाहन्छन् । कोही पनि हार्न चाहँदैनन् । एउटाले हार्ने र अर्कोले जित्ने जित कदापि जित हुँदैन । सबैले जित्ने जित मात्र जित हुन्छ ।”

एक जना महिलाले उपेक्षापूर्ण ढङ्गले सोधिन । “त्यो जित कुन जित हो त ?”

“त्यो जित देशको जित हो दिदी । देशले जितोस भन्नुहोस् । देश विदेशका नेपालीले जितुन भन्नुहोस् । समग्र मानव जातिले जितोस भन्नुहोस् । समग्र प्राणी जातिले जितोस भन्नुहोस् । समग्र पृथ्वीले जितोस भन्नुहोस् । समग्र व्रह्माण्डले जितोस भन्नुहोस् ।”

मेरो कुराको प्रभावले हो या अपरिचितसँग पनि परिचितसँग झैँ बोल्दै हिँड्ने बानीको प्रभावले हो । एक मिनेट सबै जना रोकिएका थिए । विष्मयसूचक आँखाले मैलाई हेरिरहेका थिए । 

हो । त्यहाँ कुनै अर्थ थियो । भाव थियो । सम्बन्ध थियो । 

कतै मिठो । कतै तितो । कतै स्वीकार्य । कतै अस्वीकार्य सम्बन्ध थियो ती नजरमा ।

पहिरोले लुछेको । थिचेको । मिचेको । पिसेको एउटा घुम्ती थियो । धेरै लाइन थिए आउने जाने । एउटा लाइनमा घुुसेँ । ती प्रिय नजरहरुलाई विदा गरेँ ।

माथि जाने । तल झर्ने । एउटै खुड्किलाहरु । जीवन चक्रका निर्माताहरु । उभोगति र उधोगतिका निर्णायकहरु । प्रिय । अप्रिय जनहरु । भावना । कल्पना । सपना । जपना । सम्झना । बिर्सना । तिर्सनाहरु गनिन छोडिएका थिए । 

जो खुड्किला थिए । खुड्किला हुन् । र खुड्किला नै रहने छन् । रहिरहने छन् ।  जसले किच्नेहरुलाई पनि उठाउन छाडेनन् । छाड्ने छैनन् । 

हो । तिनै खुड्किला । जो मिच्नेहरुलाई पनि जिताउन छोड्दैनन् । तलका लाई माथि जान सघाउँछन् । माथिका लाई तल आउन सघाउँछन् । 

हो तिनै खुड्किलाहरु गनिन छोडिएका थिए ।

पहराका ती खुड्किलाहरु खौप्दा एक जना श्रकिकको आँखा फुटेको थियो ।

हुन सक्छ त्यस्तै खुड्किलाहरु खोप्दा कयौँ श्रमिक उछिट्टिएर परमधाम पुगेका थिए । कुनै घाइते र अपाङ्ग बनेका   थिए । 

हुन सक्छ आज तिनै । यिनै खुड्किलाहरुमा अचल मूर्ति झैँ बसिरहेछन् । उमिरहेछन् । ढुकिरहेछन् । अनि जीवनको भीक्षा मागिरहेछन् । 

अनि हामीले ! उनीहरुलाई ! माया, सम्मान, अपमान, घृणा, तिरष्कार र लाञ्छनाका मुठीचिम्टी बाँडिरहेछौँ । 

सबैलाई बिर्सिएर मेरा पैतला खुड्किला गन्न छोडिरहेका थिए । हो तिनै खुड्किलाहरु मेरा पदचापहरुमा अनुभूत  थिएनन् ।  

तल दुइटा पसल । जो आफ्ना पुराना दिनको सम्झनामा रोइरहे जस्ता । कस्ता कस्ता । 

मानौँ ती दुई तपस्वी तिनै दिन फिराउन समाधिस्त छन् ।  

जो ईष्ट र दुष्टका दुई पाटा जस्ता । कस्ता कस्ता । 

तल एउटा पुल । झोलुङ्गो झैँ थियो । दुधे बालकलाई बोकेर डोलिदै थियो डोलाझैँ । दायाँ । वायाँ । लठ्ठा समातेका यात्रुहरु त्यसैमाथिको चमत्कार हेरिरहेका थिए । त्यो स्वर्गको पुल । पुलमाथिको पुल । एउटा चमत्कार । एउटा सत्य र असत्यको अग्नि परीक्षा । त्यो विज्ञानको वरदान । 

ईश्वर ! कुनै दिन अभिशाप नबनोस्  ।

एउटा विशाल मैदान । किनारै भरि उभिएका तुलसीका मोठ । दक्षिणमा पहरा मुनि उभिएको रातो पानी टङ्की । एउटा लामो, रातो, सेतो, तरुण हवाइ घरको अगाडि उभिएको जीर्ण, रुग्ण लामो ससाना र अध्याँरा कोठा भएको लामो वृद्धघर जो वृद्धवृद्धालाई प्रेमले काखमा लिइरहेछ । एक नवजात शिशुलाई आमालेझै प्रेमका चुम्बनहरु वर्षाइरहेछ । हो त्यसैको वात्सल्यमा बिचराहरुका घृणा, तिरष्कार र अपमानका घाउहरु पुरिदै आउँछन् । खाता बस्दै आउँछन् । अगाडिपट्टिका एकलहरका मन्दिरहरु । आउँदै जाँदै गरेका मानिसहरु । सबैलाई छोडेर एउटी पगल्नी जस्ती, माग्नी जस्ती, मान्छेजस्ती, अमान्छेजस्ती कस्ती कस्ती वृद्ध आमा । एउटा मोठमा सुकिरहेको तुलसीको मोठसँग कुरा गरिरहेकी थिइन । जरा कोट्याउँदै थिइन । काण्ड सुमसुमाउँदै थिइन । बोलाएँ । एक आज्ञाकारी बालकझैँ आइन । “के गरेको ?” सोधेँ । 

“मैले सारेको तुलसीको बोट मरेछ । कतै पलाउँछ कि ? आँकुरा हाल्छ कि ? भनेर हेरेकी ।” 

ंआँखा रसाए । खल्तीबाट पाँचका तिनवटा नोट निकालेर दिएँ । समात्न मानिन् । करै गरेँ । सारङ्गी भुँडीमुनि झण्डिएको पटुकाको पोकोमा घुसार्नका लागि इसारा गरिन । सानो चरबाट हेर्दा त्यो पोकामा ढुङ्गा र स्याउला मात्र थिए । किन राखेकी होलिन त्यो । फाल्न भनेँ । मानिनन् । हिँडिन । पछाडि हेर्दै जाँदै थिए । कसैले दुइटा केरा दियो । लिन इन्कार गर्दै थिइन् । बलै हातमा थमाइदियो । उनले फेरि बोलाउँदै भनिन् । “आज कुन दिन हो ? कति गते हो ?”

“नव वर्ष हो आमा । एक गते हो आमा ।”

“त्यसो भने यो केरा खाम तो ?”

“खानुहोस् ।”

हाय जिन्दगी तैले दुनियाँलाई किन यस्तो गति र मतिको प्रसाद बाँड्दछस्

दोबाटोमा उभिएर काली र मोदीखोलाको दोभान हेरेँ । वारि, पारि, नजिक, टाढा समाधिहरु देखिन्थे । तिनै समाधिहरु मध्ये कुनै थिए ।

मैले चिनेका । जानेका । 

मेरा ईष्ट । दुष्ट । 

मेरा मित्र । शत्रु । 

मेरा आफन्त । पराइ । 

सबैलाई अन्तिम दर्शन गरेको विशाल र साझा घर थियो त्यो । 

त्यसैको ढोकामा बसेर मैले इतिहासका पाना पल्टाएँ । तिनै पानामा भेटेँ । उनीहरुका गुण र अबगुण । 

अबगुणलाई माफी दिएर प्रेम र पश्चातापका दुई थोपा आँसु झारेँ । 

मनमनै भनेँ । 

“हे मेरा प्रियजन ! उठिदेऊ न एकैछिनलाई । भत्काइ देऊ न एकै छिनलाई यो समाधि । खोलिदेऊ न यो विशाल र साझो घरको ढोका । र भनी देऊ न – हामी यहाँ छौँ । तर मन त उहाँ तिमीहरुसँगै छ । हाम्रा सपना जपना उहाँ तिमीहरुसँगै छन् । के गर्ने बल्ल बुझियो जीवनको मूल्य । समाजको मूल्य । आफन्तको मूल्य । प्रेमको मूल्य । मागेर पाइने भए अहिले त्यही ठाउँ माग्ने थियौँ । तिमीहरु नै माग्ने थियौँ । तिमीहरुकै प्रेम माग्ने थियौँ । र सबैलाई भन्ने थियौँ स्वर्गको समाजभन्दा हाम्रै समाज राम्रो रहेछ । सुखी रहेछ । भोग र स्वार्थको कालोपट्टी बाँधेकोले देखेका रहेनछौँ । अब त्यो कालो पट्टी हामीले पनि हटायौँ । तिमीहरु पनि हटाऊ । आऊ मिलिजुली बाँचौँ । बाँडिचुँडी खाऊँ । सँगै  हासौँ । सँगै रोऔँ । सँगै गाऊँ । सँगै नाचौँ । भत्काऊँ असमानताका पर्खालहरु । पुरौँ विभेदका खाडलहरु । ..........”

धकेलिदा धकेलिदै पुगेँ तल । ध्यान भङ्ग भयो । सहश्रधारा कहिले बनेछन् । कहाँबाट बगिरहेछन यी ? कहाँबाट आए यहा भेटिन ? पहाडको कोखबाट ? या कालिको कोखबाट ? कहाँबाट आए यी ? कसले ल्यायो यिनलाई ? कसरी आए   यिनी ?

तल किनारामा नाङ्गा महिला, पुरुषको लहर । कोही कालीको चिसो पानीमा डुबुल्की मार्दै थिए । कोही पालो कुर्दै थिए । कोही धुप जलाउदै थिए । कोही फुल चढाउदै थिए । एकजना युवती मलाई घचेट्दै भिरमा उनीन आइपुगिन् । भिरमा फुलिरहेका फुल टिप्नु थियो तिनलाई । चढाउनु थियो कालीगण्डकीलाई । तिनको असफलतालाई सान्त्वना दिंदै भनेँ – “मैया ! आत्माभन्दा सुन्दर फुल दुनियामा कहीँ पनि छैन । यो न कहिल्यै ओइलाउँछ न त कहिल्यै झर्छ । यसका लागि न कुनै मौसम र गोडमेल नै चाहिन्छ । यही चढाऊ तिम्रो ईश्वरलाई । यदि छ भने उसले तिमीलाई तृप्ति दिने छ । सुख, शान्ति र समृद्धि दिने छ ।” लजाए जस्ता, रिसाए जस्ता, प्रेमका जस्ता, डाहाका जस्ता, प्रिय जस्ता, अप्रिय जस्ता कस्ता कस्ता आँखा देखाउँदै उनले बाटो छोडिन । म पनि अरु भक्त झैँ पुगेँ कालीको किनारामा उभिन । 

डुबुल्की मार्दै गरेका एक जना बूढाले भने, “तिमी पनि आऊ छोरा ।” घोरिएर हेरिरहेँ । 

धेरै पछि भनेँ, “बा ! म जीवनको नवीकरण गर्न आएको हुँ । २०७३ सालमा मरिन । यदि मरेको भए कहिल्यै पनि नफर्किने गरी डुबुल्की मार्न आइपुग्थेँ । अब २०७४ को विदाइ र २०७५ को स्वागतका लागि अर्को नव वर्षको विहान पनि आउन पाऊँ भन्ने याचना समेत गर्न आएको हुँ म त ।”

बूढा हाँस्दै किनाराका कपडा लगाउँदै थिए । म पञ्चस्नान सकेर प्रार्थना गर्न लागेँ । एकै छिनमा बूढा थिएनन् । 

आकाशतिर हेर्दा कुश्मा कैया जोड्ने झोलुङ्गे पुलका यात्रुहरु पैतलाको धुलो टकटकाउदै थिए कालीमा । र माग्दै थिए नयाँ जीवन यात्रा र गन्तव्य । त्यहाँभन्दा माथि आकाशमा यान्त्रिक पुल उड्दै थियो । अझै माथि बन्दिजमका लठ्ठा ठूलीएकादशीका तोरणझैँ लहराउँदै थिए । बग्दै थिए हावामा । फहराउदै थिए ती एक्काइसौँ शताब्दीका प्राविधिक ध्वजापतका । 

सहस्रधाराको पानी हातमा थाप्दै माथि नरसिंहको मन्दिरमा आइपुगेँ । भक्तजनहरुको ठेलम ठेल थियो । हाम्रै बाले बनाएको मन्दिर न हो त्यो । लाग्यो दर्शन गरुँ । एक जोडी तिखा आँखा मलाई घुर्दै थिए । म अपमानले गलेर नरसिंहको दर्शन गर्न जान सकिन । बाहिरैबाट अपमान र तिरस्कारको टिका र आशीर्वाद थापेर फर्किएँ । 

धेरै अनुभूति थिए मनभरि । भेटिएका सबैसँग नयाँवर्षको शुभकामना बाँडियो । लिइयो । 

कुश्माज्ञादी झोलुङ्गेपुलको मुखमा एउटा मानिस मुरली बजाएर बसेको थियो । बिके दर्जीको याद आयो । उनी यहाँ यसरी नै बस्थे । उनको सम्पूर्ण गुण अबगुण मनमा फिलिमी चित्र झैँ खेलिरहेका थिए । निष्कर्ष निकाल्दै थिएँ । उनी महान कलाकार थिए । कलाले बाँच्न सकिन्छ भन्ने पाठ सिकाउने व्यक्ति थिए । तर जीवन, समाज र कला मिलीजुली बस्ने चिज रहेनछन् । अन्तिम दिनसम्म यसै पुलमा रुँदै मुरली बजाएर बसेका देखिन्थे । मानिसहरुका मान अपमानका प्रसाद थापेर मुरली बजाएका देखिन्थे उनी यहाँ । सोच्दै थिएँ । हेर्दै थिएँ इतिहासलाई । वर्तमान दुइटा हात जोडेर मेरो प्रतिक्रियाको प्रतीक्षा गर्दै थियो । 

ओ ! म त मुरली बाधकको नजिकै आइपुगेछु । तिनी त रहेछन् उनै बिके दर्जीका जेठा छोरा बाबु । मेरा प्रिय बाबु  दाइ । मेरा साथी । मेरा मित्र । मेरा छिमेकी । उनी डराउदै भन्दै थिए, “भाइ ! मैले हारिसकेँ । अब मेरो केही उपाए भएन ।” 

आज मैले उनलाई गाली गरिन । स्वाभिमान र संघर्षको पाठ पढाइन । 

निशब्द भएँ म । अवाक भएँ म । 

पाँचका दुइटा नोट झिकेर दिएँ । अल्लि पर उभिएर केके सम्झिने प्रयास गर्दै थिएँ । 

उनको मुरली बजिरहेको थियो । 

मुरलीका धुनमा बगिरहेका थिए जीवन कहानी । जीवनका सुख । दुःख । कालीका शान्त र अशान्त रुप झैँ अविरल बगिरहेका थिए । समाजका आस्था र अनास्थाका रुप ।  धर्र्म र कर्मका मर्म ।  सुख र दुःखका गीतहरु । अविरल बगिरहेका थिए जीवनहरु । अनुभूतिहरु ।  .........

घरमा आएँ । कता कता के हो के गुमाए जस्तो लागिरहेको थियो । धेरै सम्झिने प्रयास गरेँ । सुझमा आएको थिएन । 

छोरी निर्णायिका आएर सम्झाइन । “आज ममीको जन्म दिन ।” बाहिर बुबाले गाीता दिदीलाई पनि जन्म दिन र नव वर्षको शुभकामना फोनबाट पठाउँदै हुनुहुन्थ्यो । सम्झिएँ । आज नव वर्ष २०७४ को पहिलो दिन । वैशाख एक गते ।  मेरी जीवनसखा सोनिया पाठेश्वरी जाने तयारी सुनाउदै आइन् । मैले उनलाई नव वर्ष र जन्मदिनको शुभकामना दिएँ । बुबा र आमाले टिका लगाउँदै नव वर्षको शुभकामना र आशिर्वाद दिनुभयो । 

जीवनसखा सोनिया, छोराछोरी निर्णायिका, निहारिका र निरञ्जन मन्दिर पुगिकन आइसकेका थिए । मैले मेरा पाठकको एउटा प्रश्नको जवाफ सोच्दै थिएँ । “आजभोलि तपाइका लेख कता हराए ?” को उत्तर बन्न सक्छ कि नव वर्ष २०७४ को एक विहानको अनुभूति । निर्णय लिदैँ थिएँ । 

छोरा निरञ्जन र निहारिका लुसुक्क आएर भन्न थाले । 

निरञ्जन ः बाबा ! बाबा ! आज भगुमान रुनु भएको छ ।

म ः किन छोरा ?

निरञ्जन ः मान्छेले भगुमानलाई फोहोर गरिदिएर । 

निहारिका ः अब भगुमान रिसाउनु हुन्छ । 

म ः अनि के गर्नु हुन्छ छोरी ?

निहारिका ः अनि हामीलाई माऽऽ गर्नु हुन्छ । 

आफैलाई सोधेँ, “यी चार वर्षका मेरा जुम्ली छोराछोरीको यो बालबोलीमा यो के हालिदयौ भगुमान ?” 

धेरै जिम्मेदारी मेरै प्रतीक्षा गर्दै थिए । धेरै व्यस्तता र बाध्यताहरुको माझमा उठ्ने प्रयास गर्दै थिएँ । हयाप्पी न्यू यार 

भन्दै निर्णायिकाका साथीहरु आइपुगेका थिए । हतार हतार तयारी सक्दै घरबाट हिडेँ ।

बाटोमा सोच्दै गएँ । 

वर्ष ।

समय । 

यसको कुनै आदि, मध्य र अन्त्य छैन । न यो नयाँ हुन्छ । न यो पुरानो हुन्छ । यो त कालीगण्डकी झैँ अविरल बगिरहने गति, शक्ति र रुप मात्र न हो । यसैको कुनै एक विन्दुबाट शुरु हुने र विलय हुने यात्रा न हो जिन्दगी । नव वर्ष त एउटा संस्कार न हो । बानी न हो । यसै आस्थाको आधारशिलाबाट जन्मिएका हाम्रा शुभभाव अमर बनून् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!