'राजपासँग मिलेर नेपालमा बेथिति जारी राख्ने भारतको मास्टर प्लान सफल बन्दै...'

Posted on: 15 Jun, 2017

अनिल अधिकारी (काठमाडौँ) | छिमेकी देशलाई निरन्तर संक्रमणकाल कायम गराई आफुलाई शक्ति राष्ट्रको नामावलीमा नाम लेखाउने काममा भारतले नीति लिएको छ । यो आरोप भन्दा पनि भारतले नेपाल सहित अन्य छिमेकीसँग गरेको व्यबहारको स्पष्ट ऐना हो ।  

मैले शिर्षकमा नेपालको हालसालै जन्मिएको वा कसैले जन्माईदिएको राजनीतिक पार्टीको नामलाई दोष लगाई रहेको छु । मैले लगाएको दोष नितान्त मेरो व्यक्तिगत हुन् यस बिषयलाई कसैले स्वीकार वा अस्विकार गर्ने छुट हुन्छ ।

राजपा' यानेकि भाजपा 

मैले भनेको छु 'राजपा' यानेकि भाजपा' । यो भनाई मेरो मात्र हैन, सामाजिक संजालमा भाइरल भएको बिषय हो । हुन त संयोगले यो आरोप उठेको हुन सक्छ कि राजपाले भारतको प्रधानमन्त्रि मोदीको निर्देशनमा आफ्नो पार्टीको नाम राखेको छ । मोदीको पार्टीको नाम भाजपा (भारतीय जनता पार्टी), यता नयाँ जन्म लिएको पार्टीको नाम राजपा (राष्ट्रिय जनता पार्टी) । 

नामकै बिषयमा टिप्पणी गर्ने हो भने राजपा यानेकि राष्ट्रिय जनता पार्टी । राजपाका नेताहरुलाई 'राष्ट्रिय' नाम जोड्नु अघि चेतना हुनु पर्ने हो कि राष्ट्रिय भन्ने बित्तिकै हिमाल, पहाड र तराई जोड्ने नाम हो यानेकि हरेक नेपाली जोड्ने नाम हो । तर राजपा भनेर खोलेको पार्टीले राष्ट्रियतालाई बिर्सिएर एउटा भौगोलिक जनताको आडमा राजनीति गर्ने बाटो मात्र रोजेको छ । उसको ब्यबहारमा हिमाल र पहाड उसका सत्रु हुन्, त्यति मात्र नभनु मधेस बाहेक उसको अरुसँग कुनै सम्बन्ध नै छैन । उसले तराईको मात्र समस्या देखेको छ, जहाँ सम्भावनाको पहाड छ, रेल कुदाउन त्यहि सहज छ, उर्वर भूमिको कारण राम्रो कृषि नीति आए विदेशसम्म निर्यात गर्न सक्ने भुमी छन् । उद्योग-कलकारखानाको प्रचुर सम्भावना र ब्यबसायीहरुका लागि हरेक प्रकारले सुबिधायुक्त ठाउँको सम्भावना त्यहि छ ।

बिकासको सम्भावनाको कुरा गर्ने हो भने एउटा पहाडमा १० किलोमिटर खन्न पुग्ने बजेटले तराईको १०० किलोमिटर बाटो खन्न सकिन्छ । यस्तो सम्भावना युक्त स्थानमा बस्ने जनतालाई देशले राम्रो नीति लिन सके एक्कासि समृद्ध बनाउन सक्छ भन्ने कुरालाई बिर्सेर अनेक बहाना र बखेडा झिकेर भारतको नीति लाद्ने काम भई रहेको छ ।

अब भन्नुस कुनै एउटा मात्र भूगोल वा निश्चित जनता समेट्ने गरि बनाइएको पार्टीको नाम कसरी राष्ट्रिय भयो । राष्ट्रिय हुनको लागि नेपाल भरको जनता समेट्ने नीति हुनुपर्दैन ? हिमालको भोटेले भोट हाल्दा राजपालाई भोट हाल्ने आधार हुनुपर्दैन ? त्यसैले मलाई लाग्छ, राजपाको 'रा' ले राष्ट्रिय भन्ने कुरालाई कुनैपनि तरिकाले छुंदैन । यदी मधेशको मात्र जनता समेट्ने पार्टी हो भने 'मजपा' राखेको भए उत्तम हुन्थ्यो कि ! तर त्यसो गरिएन भारतको भाजपासँग मिलाउन राजपानै राखियो । 

अब झण्डा तिर जाउँ - यदी राजपा नाम राख्नु संयोग थियो भने राजपाले झण्डा पनि भाजपाकै रुपमा सृजना गरेको छ । उसको झण्डामा मिसाइएको रंगहरुलाई हुबहु राजपामा समेटेको छ । झण्डाको रुप हेर्दा भारतको राष्ट्रिय झण्डासँग मेल खान्छ । 

राजपासँग किन डराउँछ सरकार ?

सरकार राजपासँग डराउनुको पछाडी धेरै रहश्य लुकेका छन् । कांग्रेसका नेताहरुले नै २ नम्बर प्रदेशमा निर्वाचन गर्न नसकिने भनेका छन् त्यसको कारण के खुलाइएको छैन । कांग्रेसका नेताहरुले के बुझेर असार १४ गते प्रदेस २ नम्बरमा निर्वाचन गर्न सकिन्न भने ? कि त राजपाको जमात ठुलो देखे, कि त भारतले कुनै पनि हालतमा प्रदेस २ मा निर्वाचन गर्न दिंदैन भन्ने कुरा बुझे । नत्र उपेन्द्र यादव र गक्षधारको पार्टीले निर्वाचनमा भाग लिँदै गर्दा कसरी प्रदेस २ मा राजपाले निर्वाचन बहिस्कारको नीति लियो । राजपालाई यत्रो चुनावी बल कहाँबाट मिल्यो ? देउवा सरकार समेत झस्काउने कत्रो शक्ति छ राजपासँग ? बडो अचम्मको बिषय छ यो । 

पत्तासाफ हुने डर 

राजपालाई अहिले नै निर्वाचनमा जाँदा सिद्धिने डर छ । जनताको ठुलो समर्थन हुने र प्रदेश २ मा उसको आधा मात्र पनि सिट आउने स्थिति थियो भने राजपा निर्वाचनमा जाने निश्चित थियो तर परिस्थिति त्यस्तो छैन । तराईमा एमाले/कांग्रेस/माओवादी भन्दा केहि बढी प्रभाव मधेसवादीको पक्कै छ तर अरुलाई नै पछार्ने गरि राजपा बलियो भने छैन । उसले आफुलाई सुधार्न र आफुलाई संरचनामा बलियो देखाउन पनि अहिलेको निर्वाचनलाई पछाडी धकेल्न चाहन्छ । राजपाले यदी आफ्नो शक्ति ठुलो देखेको थियो भने मधेसमा तत्काल निर्वाचनमा गएर पनि उसले जनताको साथबाट केन्द्रसम्म दवाब दिएर आफ्ना नीतिहरु लागु गर्न सक्थ्यो । तर त्यस्तो अवस्था नदेखेपछि राजपाले पहिले सर्त त्यसपछि निर्वाचनलाई प्राथममिकता दिएको बुझ्न सकिन्छ । 

यही सन्दर्भमा राज्य हार्ने र एउटा स्वार्थि झुण्डले जित्दै जाने हो भने भोली देशको हालत के हुन्छ मुख्य दलले बुझ्नु जरुरी छ ? यदी राजपा राष्ट्रिय पार्टी हो भने ६ वटा प्रदेशले निर्वाचनमा उत्साहपुर्बक सहभागिता जनाउँदै गर्दा किन अर्कै देशबाट आए जस्तो ब्यबहार गर्छ ? त्यसैले सत्ता पक्षले कसैको स्वार्थ पुरा गर्ने तर्फबाट भन्दा पनि  सिंगो देशको स्वार्थ हेर्नुपर्छ । 

भाजपाले किन जन्मायो राजपा ?  

भाजपा यानेकि भारतीय जनता पार्टी । भारतका प्रधामन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले नै राजपा जन्माएको भन्ने धेरैको आशंका छ । यही आशंकालाई प्रमाणित गर्ने आधार झट्ट हेर्दा भारतको नीति अनुसार काम, उसैको नाम जस्तै नाम र झण्डा समेत नक्कल गरिनु हो । यदी भारतले जन्माएको पार्टी राजपा हैन भने पनि भारतको मोदीको पार्टी भाजपाको फ्यान पार्टी भने राजपा हो भन्नेमा कुनै दुई मत छैन किनकी झण्डा र पार्टीको नाम नै प्रभावित भएर राखिनु संयोग हैन । झण्डामा एउटा मात्र रङ्ग मात्र फरक परेको भए पनि के हुन्थ्यो ? त्यत्रो नेताले मिलेर बनाएको झण्डा भारतको राष्ट्रिय झण्डा वा कुनै बिशेष पार्टीसँग मेल खानु संयोग भन्दा बढी प्रभाव भन्न सकिन्छ । त्यसैले पनि राजपालाई लागेको भारत प्रभावित छापलाई अझै प्रमाणित बनाउने गरेको छ । 

अर्को विश्लेषण पनि गरौँ । यदी भारतकै इसारा वा भारतले चाहेरै राजपा जन्मिएको हो भने त्यसमा भारतको स्पष्ट स्वार्थ छ । नेपाललाई कुनै न कुनै बहानामा नाटकीय रंगमंचमा नचाईरहने र त्यसको फाइदा भारतले लिने भारतको षडयन्त्र छ । भारतको सबैभन्दा बढी भर परेको देश भारत हो । नुनदेखि सुनसम्म भारतकै नेपालमा आयात हुन्छ । हामीले लगाउने चप्पलदेखि टोपीसम्म भारतकै ९० प्रतिशत भन्दा बढी हुन्छ त्यसोत हामीले खाने नुन, कपडा, खाने कुरा र लगाउने कुरासम्म भारतबाटै आयात हुन्छ । यसरी नेपाली बजारलाई केन्द्रमा राख्न नेपालमा भारतले सम्रिद्दी भन्दा बढी बेथिति चाहन्छ । किनकी बेथिति भएको ठाउँमा उद्योग, कलकारखाना संचालन हुँदैनन् । नेपाल आफैमा आत्मनिर्भर नबन्दा जनतामा सम्रिद्दी आउँदैन र उसले चाहेको तरिकाले संचालन गर्न सक्छ । नेपालमा राम्रो स्थिति बन्ने हो भने नेपाल आफै सबै कुरामा समृद्ध बन्ने प्रयास गर्छ । त्यसरी समृद्ध बन्ने चरणमा नेपाललाई चाहिने सबै कुराको उत्पादन आफ्नै देशमा हुन्छ । जसको प्रत्यक्ष बेफाइदा भारतलाई पर्छ । त्यसैले पनि भारत नेपालमा समृद्धि र अमन/चयन होस् भन्ने चाहँदैन । उसले नेपालको संबिधानलाई यस अघि पनि कार्यान्वयन गर्न दिने कसरत गरेको थिएन भने अझै पनि उसको नीति त्यहि हो तर फरक दाऊ मात्र चलेको छ । 

लक्ष्य संघ र प्रदेशसम्म 

असाेज २ गते निर्वाचन हुने सहमतिले धेरै हदसम्म त्यसको प्रत्यक्ष असर संघ र प्रदेशको निर्वाचनमा पर्छ । असोजसम्ममा देशमा अर्को निर्वाचन हुनुपर्नेमा स्थानीय निर्वाचनमै अड्किदा त्यसले राजनीतिमा निकै प्रभाव पार्छ र यस्तै बखेडाको कारण तोकिएको समय सिमामा निर्वाचन असम्भव बनाउनेसम्मको अवस्था आउँछ । यसरी भारतको पासोमा राजपाले असोजमा अर्को चरणको निर्वाचन गर्ने भन्ने सर्त तेर्स्याएको स्पष्ट छ । संघ र प्रदेससम्मको निर्वाचनलाई बिथोल्ने गरि सहमति हुनुमा कांग्रेसको समेत ठूलो त्रुटि भएको देखिन्छ । सक्छ भने सरकारले असोजमा निर्वाचन गर्ने निर्णय फिर्ता लिनुपर्छ अन्यथा संबिधान र हालसम्मको उपलब्धि गुम्ने ठूलो खतरा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!