दलित आन्दोलनका जेठाबाहरुलाई खवरदारी !

Posted on: 16 Jul, 2017

प्रेम सुनार । विहान उठ्दा प्रायः मेरो नजर तिनै तिन वटा घरमा पर्ने गर्छ । म  वस्ने ठाउँ अगाडीको ति तिन वटा घर एउटा  सरकारी जागिरेको हो, एउटा वर्षऔं देखि व्यापार गरेर बस्नेको हो भने एउटा कुनै एक राजनैतिक दलका नेताको हो । 

विहन उठेपछि कुनै न कुनै विषयमा मेरो मनमा चिन्तन सुरु हुन्छ । म एक छिन गम्भीर भएर सोच्छु आखिर यत्रो वर्ष जनताको कुरा उठाएर अनि दुनियाँको आँखी भएर मैले के पाएँ ? यत्रो वर्ष  यो क्षेत्रमा काम गरेर एउटा सानो भए पनि घरवास बनाउन नसक्ने म  हुतियारलाई श्रीमतिले सधै टोकास्नु पनि ठिकै हो भन्ने लाग्छ । 

ति तिन वटा घर मध्ये नेता ज्युको घर वर्षमा एउटा तला थप्नु कि ति केहि न केहि सजावटको काम भएकै हुन्छ । तर ति सरकारी जागिरेको एक तला घरको माथी छतमा खाना पकाउने ठाउँमा जस्ता पाताको अभावले यो वर्षायाममा चुलो सरेको छ । 

अर्का व्यापारीको हालत पनि उस्तै छ । मलाई मन बुझाउने बाटो तिनै दुई घर छन । सोच्छु तिनीहरु जागिरे र व्यपारीको हालत त त्यस्तो छ भने  मेरो पो कहाँ बाट वर्षिन्छ र भनेर चित्त बुझाउँ छु । तर मलाई सोचिरहन बाध्य बनाउने घर तिनै नेता ज्युको बनेको छ ।  राजनीति बाहेक जिवनमा देखालो न  कुनै व्यवसाय  छ उनको, न त उनका छोरा छोरी नै धन कमाउने ठाउँमा छन् । सधै राजनीतिमै हिडेको देख्छु ।

होईन उनलाई पैसा कहाँबाट वर्षिन्छ  र त्यसरी घर ठडिन्छ  ? हामी उमेरमा पनि  खासै फरक छैनौं । राजनैतिक यात्रा  पनि लगभग संगै हो । कतिपय बेला उनको तामझाम देख्दा म पनि सक्रिय राजनीतिमै लागेको भए हुने रहेछ भनेर पछुतो लाग्छ । फेरी सोच्छु उनि भन्दा पहिल्लै देखि राजनीतिमा लागेका त  दलित आन्दोलनका जेठाबा कान्छाबाहरु हुन अखिर उनले पो के पाए ? अघि पछि नपाए पनि जेहोस चुनावताका भने पाउँछन अरे । 

चुनावको एक महिने अन्तरालमा उनिहरु मार्फत  पाडा भैसी ढल्छन अरे, दोकान फ्रि हुन्छन् अरे । आखिर कतिञ्जेल हाम्रा जेठाबा कान्छाबाहरुको त्यही पाडा भैसी र रक्सीका बोतलमा भुली रहेन ? यो चिन्तन दलित समुदायले नगरेकै कारण मैले देख्ने गरेको एकथरी नेताको  त्यरी महल ठडिदै जाने उता तिनै दलितहरुको खरको छाना समेत छाउन नसकेर चुहिने घरमा बस्नु पर्ने अवस्था आएको हो भन्ने मेरो बुझाई छ । 

ति फरक फरक व्यवसाय गर्नेहरुको तिन फरक फरक घरको चित्रले यहि बुझाउँ छ कि अहिले न पैसा जागिरमा छ न अरु व्यवसायमा नै , केवल  पैसा छ भने राजनीति  आवरण मैं छ । अनर्थ नलागुस कि खास राजनीती गर्नेहरु संग भने पैसा छैन् । 

म सोच्छु  अझै पनि मेरा जेठाबा  र कान्छाबाहरुलाई  किन चेत  पसेन  ? हरेक चुनावमा तपाई हाम्रा खरका झुपडीहरुले दलका झण्डा पाई रहँदा किन टिनका छाना पाउन सकेनन् ? अँस्ती म वाग्लाको दलित वस्तीमा पुगेर आएको  थिएँ । 

२०६४ र २०७० को चुनावी रिर्पोटिङ्ग गर्न पनि म त्यहाँ धेरै पटक पुगेको  थिएँ । विभिन्न राजनैतिक दलका नेताहरुबाट चुनाव सकिए लगत्तै टिनको छाना दगाई दिने आश्वासन मेरै कानले सुनेको हो । तर २०७४ को स्थानिय तह निर्वाचनमा आई पुग्दा समेत ति दलित बस्तीको अवस्था जस्ताको त्यस्तै रहेछ । 

धुर्कोट रातामटामा मेरी सानिमाकी छोरी वहिनी छन । जसले भुकम्पले घर भत्काउँदा  गाई बान्ने सानो गोठमा बस्नु प¥यो तर उनलाई कुनै राजनैतिक दलले हेरेन् । दाई लौन केहि उपाय खोजि दिनुस भन्दै रुन खोजिन ।  

धन्न गुल्मी केयर विश्व सञ्चालन थियो र मैले वहिनीको मन राख्न पाएँ ।  उता घमिरको टुनिखोलाका दलित समुदाय आफुलाई सचेत नागरिक हुँ भन्न र मेरो भोट सहि ठाउँमा परेको छ भन्न  लाज मान्नु पर्ने हो ।  ति खरको झुपडीहरुले आफ्नो निजी भन्ने घडेरी पाउन सकेका छैनन् । हरेक चुनावमा सुकुम्वासी उनिहरुलाई जग्गाधनी लालपुर्जा पाउने आस्वासन पाउँछन तर उहिरु सधै त्यही आस्वासनमै सिमित छन । 

कुन चाँही ठाउँको मात्रै कुरा गरुँ ? जिल्लाका हरेक दलित वस्तीको अवस्था उस्तै छ ।  क्षेत्र नम्वर १ का दलितहरु त अरु समुदाय संग चर्को स्वरमा  वोल्न समेत पाउँदैनन् । जसले आएर एउटी दलित महिलाको अस्मीता  लुटेको छ उही ठालो हुन्छ तर लुटिएको अस्मीता लिएर गाउँ निकाला हुनुपर्छ तिनै दलित महिला । क्षेत्र नम्वर १ बाट अकला विकला हुँदै र रुँदै कहिले काँही त्यहाँका दलितहरुको फोन आउँछ मलाई । 

कतै खानेपानी रोक्का गरी दिए । कतै मोटरबाटा खन्दा घरबासै जाना लाग्यो र पनि गुहार पाईन भन्छन् । कतै फलानो पार्टीको फलानो नेताले दलितकी छोरी अलपत्र पा¥यो र पनि भोट दिएनौं भनेर थर्काउ छ हाम्लाई भनेर भन्छन् त्यहाँका दलितहरु । चुनाव ताका निकै काटियो र क्षेत्र नम्वर १ मा पनि पाडा भैसी  । दोकान फ्रि पनि निकै भए भन्छन सर्वसाधरण दलितहरु तर चुनाव सकिए लगत्तै सामाजिक न्याय  पाउन  गाह्रो छ उनिहरुलाई । 

यता दलित आन्दोलनका  मेरा जेठाबा र कान्छाबाहरु त्यो कुरा थाह नभएको होईन । किनकी उहाँहरु  जिल्ला स्तरकै  नेता भएकोले ति सवै  वस्तीहरुको अवस्था बुझ्नु भएकै छ । अखिर के  दिनु भयो त तपाईले तपाईको दल संगै  दलित आन्दोलन गरेर उनिहरुलाई ?  भै’गो अरु दलितलाई त दिन परेन कमसेकम तपाईकै हैसियतका म वस्ने  ठाउँ अगाडीका नेताले जति  त कमाउनुस् । आखिर न तपाईहरु कमाउनु हुन्छ न त ति दलित समुदायलाई बनाउनु हुन्छ । किन व्यर्थै त्यही दलको भजन किर्तन गर्दै दलितहरुका भोट खेर फलाउँदै हुनुहुन्छ ? 

छातीमा हात राखेर भन्नुस के दियो तपाईका पार्टीले दलित समुदायलाई ? बरु के ग¥यो थाह छ ? दलितहरुको आरक्षण र ६० वर्ष देखिको बृद्ध भत्ताको विरोध ग¥यो । अहिले यति धेरै दलितहरुले गाउँ र नगरपालिकामा स्थान पाउँदा रहेछन् ।  

तर हिजो यसरी नै स्थान पाउँछन् भनेर समावेशी र  संघियाता नेपालमा टिक्दैन भनेर भन्यो  तपाईको पार्टीले होकी होईन ? अझ लाज लाग्दैन मेरो पार्टी यस्तो उस्तो भनेर दलित समुदायलाई भ्रम छर्न ? 

यहा सम्म कि तपाई जेठबा कान्छाबाहरुलै नै कुनै बेला आफ्नो पार्टीका मान्छेलाई संरक्षण गर्नका लागि दलितहरु माथी नै बञ्चरो हानेका  छौं । तिम्रो एउटा कार्यकर्ता बचाउन गोरु चुटिए झै चुटिएको दलितलाई घिउसिउँ खाने व्यवस्था मिलाई दिन्छु मुद्धा अगाडी बढाउनु भयो भने तपाईलाई नै अफ्ठ्यारो पर्छ भनेर पिडित ति दलितलाई आँट दिनुको साटो खुट्टा कमान लगाऔं । यहाँ सम्म की दलित कुटिएको समाचार लेख्ने मान्छेलाई समेत अफ्ठ्योरो पर्दैछ भनेर उनिहरुलाई थप गलाउने काम ग¥औं । यहि हो तिम्रो  राजनीति र दलित आन्दोलन ? तान्ने वेलामा दलितका भोट तानेर विष्टहरुलाई रिझाउने जव दलितलाई पर्छ त्यति वेला बढो मेलमिलापकर्ता बनेर कानुनी अधिकारबाट बञ्चित गराउने ?

जहिले पनि तिम्रो मनखुशीमा मेलमिलाप हुन्छ ? आफु निकट मान्छे पिडित भयो भने तिललाई पाहड बनाउे अरु दल विचारका दलितहरु पाहड जतिकै पिडित भए भने तिल बनाउने ? यो अधिकार छैन जेठाबा  कान्छाबाहरु तिमीहरुलाई । 

साँचो अर्थमा दलित आन्दोलनलाई खर्लप्पै निलेको तिमिहरुले नै हो । दलितका चेली गैह्र दलितहरुबाट गर्भधारण हुँदा थारो भैसीको  मोलमा मिलाउने पनि तिमीहरु नै हो ।  बरु हिजो  तिमीहरुले सामन्ती भन्नेहरु अहिले खासै जातिपाती मान्दैनन् । 

तर जेठबाहरुकी चेलबेटी  उनि भन्दा कथीत तल्लो जाती संग विहे गर्दा  उनको  घर भित्र पस्न पाउँदैनन् ।  उनिहरुको घरमा विवाह भोज भतेर भए दुई वटा भान्सा बनाईन्छ । दलितहरुलाई पाडो अरुलाई खसी ढल्छ । 

त्यही भएर हो जेठाबाहरु ति कमाउने नेताले घर ठडाए भन्दैमा म पनि घर ठडाउनका लागि राजनीति नगरेको । तपाईहरु जस्ता दलित माराहरुको आवाज बुलन्द गर्न बरु भोकै बस्न तयार तर यो क्षेत्र छोड्न नसकेको । दलितहरुका आवाज उठाउँदा अझ अफ्ठ्रो पर्छ भन्ने ? तपाईहरु जस्तो चुनावताका दलितहरुका भोटको ठेकेदार होईन म । अझ तपाईहरुलाई लाज लाग्नु पर्ने हो कि हाम्रा दलितहरु रक्सी र मासुमा विक्छन भन्न । विकाएकै तपाईहरुले हो । उनिहरुलाई ठाडो शिर लगाउन नदिएकै तपाईहरुले हो । 

हरेक चुनावमा आफ्ना गाउँका टाउेकेहरु मार्फत पाडा भैसी ढलाउन र रक्सी फ्रि गराउन लगाउने पनि तपाईहरु हो की होईन  ? दलितहरुलाई क्षतिपुर्ति सहितको अधिकार दिलाउनु पर्छ भन्ने हामी हो, तर तपाईहरु त्यो चाहनु हुन्न । 

बरु तपाईहरु के चाहनु हुन्छ भने शहरमा बसेर तिनै मैले देख्ने गरेका नेताको घरमा जस्तै नदेखालो धन्दा गर्ने देखालो राजनैतिक गर्नेहरुको पक्षपोषण । तपाईहरु होईन ‘अग्रपंक्तिमा रहेर हिमाल पाहड तराई कोही छैन पराई ’ भन्दै नारा लगाउने ?  छातीमा हात राखेर भन्नुस को बाट को कति हेपिएका, थिचिएका र मिचिएका छन् यहाँ ? कुनै वर्ग समुदाय र क्षेत्र माथी यो देशमा पराईको मात्र होईन शरणार्थीलाई भन्दा पनि तुच्छ व्यवहार गरिएको छ  । 

यो देशमा सदियौं देखि भएको  वर्गिय र क्षेत्रिय असन्तुलनलाई मिलाउन पर्ने कि नपर्ने ?  तपाईले जस्तै दलित आन्दोलन र उत्पीडनका पिडा मैले केन्द्र देखि पनि केहि  भोगेको हुँला ।

नेपाली सेनामा मैले भर्ति गराउन लगेका  नवलपारासी प्रगतीनगरका लक्ष्मण परियारलाई छाती नाप्ने सैनिकले छातीमा –‘ ए दमै दाई यहाँ फिट छैनौं घर लुगा सिलाउन जाउँ’ भनेर लेख्दै सवैलाई त्यो पढ्न लगाएर हाँसेका थिए । 

सेना प्रहरी भित्र चरम छुवाछुद र अवसरमा विभेद थियो । अरुले कुर्चि टेवुलमा खाना खाँदा दलित सेना प्रहरीहरुले झिंगा भन्कीने नालीमा खाना खाना बाध्य हुन्थे । त्यस विरुद्ध विद्रोह गर्ने हामी हो  । अहिले सायद लाज नमानी भन्नु हुन्छ होला सेना प्रहरी सवैतिर छुवाछुद विभेदको अन्त्य गर्ने  हामी हौ भनेर ।  दलित आन्दोलनमा तपाईहरुले  सिन्को भाँच्नु भएको छैन् । बरु डलरको खेती गर्नेहरुको पिछालग्गु भएर दलितहरुको गास काट्नु भएको छ । 

दलितहरुको उत्थानमा आएको रकमले आफ्नै मान्छेलाई जिविकोपार्जनको व्यवस्था गरी दिनु भएको छ  । अव  सारा दलितहरुले तपाईहरुको डलरको खेतीमा अनिवार्य धावा बोल्नु पर्छ । त्यो खेतीमा धावा नबोले सम्म दलितहरुले कदापी मुक्ति पाउने छैनन् । तपाईहरु डलरको खेताला मात्र होईन  दलितहरुको भोट बैंक पनि हो ।  

जुन भोट बैंकलाई पनि ध्वस्त नपारे सम्म ति दलितका खरका झुपडीहरुले कहिल्लै टिनको छाना पाउने छैनन्  । उनिहरुलाई कहिल्लै विष्टावानको निमेक मजदुरीले छाड्ने छैन् । यसर्थ ख्याल गर्नुहोस दलित आन्दोलनका जेठाबा र कान्छाबाहरु अब तपाईहरु जस्ता विरुद्ध अर्कै  खाले आँधीबेरीको तयारी हुँदैछ ।  तपाईहरुको रवैयाले यहि बुझियो कि लातको मान्छे बातले मान्दैन अरे , हेरौंला दलितका भोट कति दिन डलरले  किन्ला र थेग्ला  ?

यस बिषयमा तपाइको प्रतिक्रिया...!