मनोबाद–हामी र हाम्रो कृषि प्रणाली

Posted on: 17 Aug, 2017 | views: 211

राजु विक
मिति : २०७४÷०४÷०३
समय : राति ९ः०० बजे
स्थान : शयन कक्ष
अवस्था : शयन
असारको मेलो अति व्यस्त हुनु पर्ने । कति काम गर्नु छ । खेतको । बाहिरफेरको ।
धेरै थकान र थोरै आराम ।
मानो खाएर मुरी उब्जाउने समय हो यो ।
खान र लाउनको पनि के नै फुर्सद छ र ?
त्यो त परैको कुरा ।
शौचालय जाने र बोल्ने फुर्सद समेत छैन ।
माटोसँग खेल्ने काम ।
असिनापसिना, धुलोमैलो भयो दिन कटायो ।
जुनबेला पनि हतारो ।
काम पनि कस्तो काम ?
गाईवस्तु । बालबच्चा । खेतबारी । कुलोपैना । वनबुतो । मेलापाता । कति हुन कति ? केके हुन केके ?
लहरो तान्दा पहरो गर्जिन्छ भनेझैँ एउटा काम गर्दा दशवटा काम लाइन लगाएर आउने ।
यति धेरै काम केका लागि ?
दुई छाक मामका लागि । खाइवरी जोगियो भने दुइचार पैसा दामका लागि । यति धेरै काम सासै फेर्न बिर्सिएर गर्नु पर्ने ।
(कोल्टे फर्किदै)
जिजुबाजेले यही काम गरे । बाआमाले पनि यही काम गरे । फेरि म पनि यही काम गर्दै छु । अब आउने हाम्रा छोराछोरीले यो काम गर्छन कि गर्दैनन् केही थाहा छैन । नयाँ पिढी कृषि कार्यदेखि विरक्तिएको छ । ऊ मिठोमसिनो खाने, राम्रो लाउने र रमाउने हिँड्ने कुरामा बानी परिरहेको छ ।
हुन त खेतिपाती पनि अनावश्यक टन्टा मात्रै बनिसकेको छ ।
जे खेती गरे पनि फाइदा होला भन्दा घाटा हुने अवस्था छ । वर्षभरि दुःख ग¥यो लगानी समेत नउठ्ने । घामपानी खायो । धुलोमैलो भयो । ज्यान पानी पा¥यो हात्ती आयो हात्ती आयो फुस्स । अन्तिममा ऋणमाथि ऋण थपेर दैनिकी चलाउनु पर्ने ।
नगरी पनि नहुने । गरेर पनि नहुने । नगरे जमिन बाँझो रहने । गरे दुःख मात्रै ।
दुःखसँग दिन कटायो आयु घटायो । यस्तै छ यो कृषि पेसा ।
कृषि केका लागि गर्नु ?
नामका लागि गरौँ भनेँ कृषि पेसा अपनाउनेलाई कसैले सम्मानका आँखाले हेरेको पाइन्न ।
दामका लागि गरौँ भनेँ घाटाजति कृषकलाई नाफा जति व्यापारीलाई छ ।
सुखका लागि गरौँ भनेँ पानी खाने फुर्सद समेत हुँदैन ।
यस्तो पेसा के अपनाउनु ?
जुन बेला पनि हतारो । जुन बेला पनि पिर र चिन्ता । कहिले वर्षा भएर चिन्ता । कहिले वर्षा नभएर चिन्ता ।
बल्लतल्ल जगाएको बाली कहिले रोग र किराले खाने डर । कहिले बाँदर र दुम्सीको डर । कहिले खडेरीको डर । यस्तै डर–त्रासको भकारी थापेर अपनाउनु पर्ने कृषि पेसामा केको जीवन पाइनु ? यो पेसा त मृत्युदण्ड सिबाय अरु केही नहुने भयो ।
सधैँ हतारो । हिलोमैलो भयो । घामपानी खायो । दिनरात खटो । हाता लाग्यो शून्य ।
रातको १०ः०० बजी सके छ । अझै निद्रा लागेन । धेरै थाकिएछ होला । धेरै थकान हुँदा पनि निद्रा राम्रो लाग्दैन । तर अब त निदाउनु पर्छ ।
(निदाउन खोज्दै ।)
मैले यो के सोचेँ ?
कृषि पेसाप्रति यतिधेरै पूर्वाग्रही बन्ने अधिकार मलाई छैन ।
म सच्चा कृषक पनि त होइन ।
म त अतिथि कृषक मात्र न हुँ ।
बाआमाको सहयोगी ।
हेल्पर कृषक हुँ म ।
म विशिष्ट कृषक चाहिँ होइन ।
सच्चा कृषक त मेरा बाआमा हुनुहुन्छ ।
मेरो वास्तविक पेसा त शिक्षण हो नि ।
(पुनः उठेर बत्ती बाली पानी पिएर पल्टिदै)
बिचरा मेरा बाआमा !
बा ६७ वर्षको हुनु भयो । आमा ६३ वर्षको हुनु भयो । जीवनका सबै दुःख कष्ठ बिर्सिएर आराम र शान्ति लिने उमेर हो यो । अझै पनि कृषि पेसामा घनघोटी बञ्चरो गर्दै हुनुहुन्छ । सधैँको दौडधुप । धुलोमैलो । लौ यो बिग्रियो । त्यो बिग्रियो ।
उहाँहरुले जीवनको यो लामो संघर्षमा के पाउनु भयो ? के गुमाउनु भयो ?
हिजो मात्र एकजना हुनेखाने आफन्तले मेरा बालाई अन्य मान्छेसँग मेरो खेत कमाउने मान्छे भनेर परिचय दिएछन् ।
केही दिन अघिको घटना हो । मेरा बा र म पोखराबाट घर फर्किदै थियौँ । गाडीवालले मेरा बालाई साह्रै हेप्यो । त्यो हामीलाई असह्य भयो । बा र म गाडीबाट झ¥यौँ र ट्याक्सी रिजर्भ गरेर घर आएका थियौँ ।
बाआमालाई छोराछोरीभन्दा नाति–नातिनी धेरै प्यारा हुँदा रहेछन् । एक दिन बाआमा बजार जाँदा छोरो निरञ्जन र छोरी निहारिका पनि पछि लागेर गएछन् । उनीहरु साइकल नकिनी मानेन्छन् । व्यापारीले दुई हजार पर्ने साइकललाई चार हजार लिएछन् । मेरा बाआमालाई व्यापारीले समेत यतिसाह्रो हेपेको देख्दा मलाई निकै दुःख लाग्यो ।
(कोल्टे फर्किदै)
हाम्रो परिवारको आकार ठुलो थियो । तिन दिदी, तिन वहिनी, दुई भाइ, बा–आमा, हजुरबा–हजुरआमा । एक दर्जन सदस्यको परिवार ।
हाम्रो परिवार ठूलो थियो तर घरको आयआर्जन सानो थियो । खेतबारी पनि थोरै थियो । जिविकोपार्जनको मूल आधार कृषि नै थियो । अर्काको खेतबारी कमाएर भए पनि हाम्रो परिवारले पेटभरि खाएकै थियो । आङभरि लाएकै थियो ।
हाम्रा ती दुःखका दिनमा हाम्रो मूल सहारा कृषि पेसा नै थियो ।
त्यतिबेला कृषि हाम्रो लालनपालन कर्ता थियो । कृषि हाम्रो ईश्वर थियो । हाम्रो जीवनको मूल आधार थियो ।
समग्रमा कृषि हाम्रो आमाबा थियो । सहारा । दुःखको साथी । प्रियजन । प्राण । आत्मा । जीवन । संसार थियो कृषि ।
मेरी मामाकी हजुर आमालाई भेटिन किनकि म धेरै ढिलो जन्मिएको थिएँ । उहाँलाई निकै पहिले नै गुमाइसकेका थियौँ हामीले । हजुरबालाई भने जानेँ ।
मेरी जेठी दिदी लक्ष्मी डेढ वर्षको हुँदा हाम्री ठूलीआमा बितेकोले दिदीले दुःख पाउने देखि मामाको हजुरबाले आफ्नी एक मात्र जीवित कान्छी छोरी हाम्री आमा हाम्रो बुबालाई दिनु भएको थियो रे । आमाले लगातार तिन छोरी जन्माएकोले छोरा नजन्मिएको कारण पारिवारिक र सामाजिक तिरष्कार समेत सहनु परेको थियो रे । म गोठमा जन्मिएको हुँ रे । छोरी जन्मिने डरले आमाले प्रसुती पीडा समेत व्यक्त गर्नु भएनछ । म जन्मिए पछि आमा बेहोस हुन भएछ । आमा बिउँझिदा म गोबर र माटोमा टाँसिएको थिएँ रे । सुकिसकेको थिएँ रे । तर हाँसिरहेको थिएँ रे । म जन्मिएर आमालाई ठूलो सुख र आधार त मिलेको थियो किनकि म समाज र परिवारलाई नाजवाफ पार्दै मेरी आमाको सहारा भएर आएको थिएँ । आर्थिक अवस्था भने साँघुरो थियो ।
मेरी हजुर आमा मर्दा मामाहरुले हजुरआमाको माउ बाख्रो मेरी आमाका लागि दिनु भएछ । त्यो माउ बाख्रोले धेरै नै राम्रो आम्दानी दिएछ । एक दिन छिमेकीको खाली बारीमा बाँधेको बखत छिमेकी रिसाएर सबै बाख्रा फुकाएर जङ्गलतिर लखेटी दिएछन् । त्यो दिन र रात आमाका बाख्रा घरमा फर्किएनछन् । कहिल्यै फर्किएनछन् । किनकि उनीहरुले यमराजका दूत बाघराजालाई भेटेछन् र बाख्राको जीवनबाट विश्रान्ती लिएछन् । मेरी आमाले त्यस दिनदेखि आफ्नी आमालाई पूर्णतः गुमाएको महसुस गर्नु भएछ । उहाँ निकै रुनु भएछ । उहाँलाई भुलाउन कसैले सकेनछ । अन्तिममा मेरा मामाका हजुरबाले आशीर्वाद दिएर उहाँलाई भुलाउन सक्नु भएछ ।
“छोरी तिमीसँग धेरै जग्गा हुने छ । तिम्रो घरमा हलगोरु हुने छन् । गोठभरि गाई भैँसी हुने छन् । तिमी दूधघिउमा डुब्ने छौ । तिम्रो घरमा प्रशस्त अनाज हुने छ । तिमीसँग धेरै भेँडाबाख्रा हुने छन् ।” मेरो मामाको हजुरबाको यस्तो आशीर्वादले मेरी आमाको चित्त पूर्णतः बुझेछ । हजुरबाको यो आशीर्वादलाई साकार पार्न मेरा बाआमाले कडा मेहेनत गर्न थाल्नु भएछ । उहाँहरुको यो बानी अहिले पनि उस्तै छ ।
मामाको हजुरबाले आफ्नो आशीर्वाद साकार भएको देखेर निकै शान्ति लिँदै अन्तिम सास फेर्नु भयो ।
हजुरबालाई स्वर्गमा अहिले पनि उही शान्ति मिल्दै होला तर यहाँ हामीलाई हाम्रो पूर्वजको गौरव, अनुहार, जीवन, आशीर्वाद, वरदान कृषि प्रणाली अभिषाप बनिरहे झैँ लाग्दै छ ।
कृषि प्रणालीको गिर्दो र दयनीय अवस्थाले हामी र हाम्रा आउने सन्ततीको भविष्यमाथि कस्तो संकेत गरिरहेछ ?
हामीले सोचिरहेका छौँ कि छैनौँ ?
हो, हामीसँग एउटा वास्तविकता त छदै छ । हामीलाई उत्पादन गर्नभन्दा किनेर खान सजिलो छ । उत्पादन गर्ने भन्दा किन्ने लागत सस्तो पर्ने अवस्था पनि सत्य हो ।
तर सजिलो, राम्रो र मिठोको वहानामा हामीहरुले दिनप्रतिदिन विष खाइरहेका छौँ । कडा विषादी हालेको तरकारी खाइरहेका छौँ । पालिस र विषादी मोलेको चामल र दाल खाइरहेका छौँ । रासायनिक र केमिकल मिश्रित प्रक्रियाबाट तयार गरिरहेको तेल खाइरहेका छौँ । चिनीमा प्राकृतिक तत्वभन्दा रासायनिक तत्व बढी मिलेकोले अहिलेका धेरै मानिसहरुलाई सुगर रोग लागिरहेको छ । धेरै मानिसहरु सुगर, प्रेसर, मुटुरोग, हृदयघात, मृगौला, पाठेघर, क्यान्सर जस्ता असंख्य घातक रोगहरु बाट ग्रसित छन् ।
हामीले सजिलोका लागि आफैलाई पुस्तौली तवरले समस्यामा होमिरहेका छौँ । खेती गर्दा दुःख त हुन्छ नै तर त्यसको दीर्घकालीन लाभ भने सुखदायी छदै छ नि । आफ्नै प्राकृतिक मौलिक उत्पादन हाम्रो लागि अमृत सरह हुन्छ । दुःख र घाटा किन नहोस् तर लाभदायी त हुन्छ नै ।
खान, लाउन पनि अर्काको मुख ताक्न थालियो भने भोलि अर्को रिसाउँदा भोकै रहने कि नरहने ?
(पानी पिउँदै)
जीवनको मूल आधार कृषि प्रणाली नै हो । खानका लागि अनाज कृषिबाटै प्राप्त हुन्छ । लाउनका लागि लत्ताकपडा कृषिबाटै प्राप्त हुन्छ । औषधी कृषि उपजबाटै निर्माण गरिन्छ । निर्माणका अधिक सामग्री कृषिबाटै प्राप्त हुन्छ । इन्धन कृषिबाटै प्राप्त हुन्छ ।
तर दुःखको कुरा जीवन अस्तित्वसँग असाध्यै निकट सम्बन्ध राख्ने कृषि प्रणाली आज किन उपेक्षित बनिरहेको छ ?
नेपालीहरु किन यो क्षेत्रबाट पलायन हुँदै छन् ?
युवा जनशक्तिको आकर्षण किन दिनप्रतिदिन घट्दो छ ?
(बत्ती बाल्दै । उठेर टोलाउँदै ।)
हुन सक्छ ।
कृषि निर्वाहमुखी भयो । पुरानै पद्धतिबाट हामीले कृषि पेसा अपनाइरहेका छौँ । कृषिलाई व्यावसायिक बनाउन सकिएको छैन । बजार व्यवस्थापन कमजोर छ । कृषक र उपभोक्तालाई घाटा र बिचौलियालाई मात्र नाफा छ । युवा जनशक्ति वैदेशिक रोजगारमा पलायन भइरहेको छ । राज्यको लगानी र योजना निराशाजनक छ । कृषिलाई गौण पेसाको रुपमा हेरिन थालिएको छ । आधुनिक विज्ञान प्रविधीलाई कृषिमा भरपूर प्रयोग गर्न सकिएको छैन । स्थानीय उत्पादनले बजार र महत्व पाएको छैन । देशलाई कृषि उपजका दृष्टिले आत्मनिर्भर बनाउने कुनै रणनीति बनाउन सकिएको छैन । पढेलेखेको जनशक्ति यो पेसामा लाग्दैन । ज्ञान, सिप र श्रमको तालमेल मिल्न सकेको छैन ।
हो, हाम्रो कृषि प्रणालीमा यस्ता असंख्य समस्या त छदै छन् ।
यसलाई राज्यले देख्नु पर्छ कि पर्दैन ? एक सचेत र इमान्दार नागरिकका नाताले यसप्रति हाम्रो उत्तरदायित्व छ कि छैन ? हामी नागरिकले पनि राज्यलाई दिशानिर्देश गर्न सक्ने औद्योगिक कृषि क्रान्ती गर्न सकिन्छ कि सकिदैन ?
कृषि प्रधान मुलुकका नेपाली खान र लाउन समेत पराइको मुख ताक्नु पर्ने अवस्था आउनु इज्जत हो कि बेइज्जत ?
पराइ रिसाउँदा भोकभोकै मर्नु पर्ने अवस्था आउनु सुख हो ?
गाउँको अधिकांश खेतीयोग्य जमिन जङ्गलमा परिवर्तन भइरहेको छ । शहरीकरणका नाममा खेतीयोग्य जमिनलाई घडेरी बनाई बगर तुल्याइएको छ । एकातिर जग्गा दलालहरुले जग्गाको तस्करी गरिरहेका छन् । घडेरी बेचबिखनका नाममा बैंक र व्यक्तिलाई डुबाइरहेका छन् । अर्कोतिर दुई दिनको नाकाबन्धीले नेपालीहरु भोकमरीमा पर्ने अवस्था छ । बिरामीले औषधी नपाउने र एम्बुलेन्सले इन्धन नपाउने अवस्था समेत छ ।
देश विकासको मूल आधार कृषि नै हो । कृषिको विकास नभएसम्म देशको विकास पनि हुन सक्दैन । कृषि त विकासको मेरुदण्ड नै हो । प्रथम र द्वितीय विश्वयुद्धसम्म नेपाल कृषिप्रधान मुलुक भएरै धनी र आत्मनिर्भर मुलुकको रुपमा चिनिएको थियो । अहिले भने हामी कृषिबाट विरक्तिएर दामी र नामी त बनेका छौँ तर खान, लाउन र औषधीमुलो गर्न समेत अरुलाई गुहार्नु पर्ने अवस्थाले माग्ने पनि बनिरहेका छौँ ।
तर एउटा कुरा सम्झिनु अति नै आवश्यक छ । जति नै सुखले बाँचे पनि माग्नेको इज्जत हुँदैन । ऊ हतबुद्धि र हतभागी नै हो ।
कृषि प्रणाली कमजोर हुँदा हामी नेपालीहरु कदापि बलियो हुन सक्दैनौँ ।
कृषि प्रणाली भोको र निरीह हुँदा हामी अन्नपूर्ण बन्न कदापि सक्दैनौँ ।
देश र देशवासीलाई माथि उठाउन देशको समूल कृषि प्रणालीलाई माथि उठाउनु पर्छ नै ।
कृषि हाम्रो जीवन आधार हो ।
यसका लागि सबैले सोच्नु पर्छ । गर्नु पर्छ ।
अहो !
रातिको बाह्र बजिसकेछ । अब त निदाउनु पर्छ ।
(बत्ती निभ्छ । निद्रादेवीले निद्रालोकमा लिएर जान्छिन् ।)

यस बिषयमा तपाइको प्रतिक्रिया...!