मुकुन्देको मुकुन्दल्याण्डको सपना: प्रधानमन्त्री ओलीको 'भ्रष्टाचार नसहने' भाषण जस्तै !

Posted on: 01 May, 2018

अनिल अधिकारी (काठमाडौँ) | प्रधानमन्त्री ज्यू, यो देशमा सपना धेरै बाडिन्छ, तर पुरा गर्ने पक्ष कति कमजोर छ, तपाइले ध्याननै दिन सक्नु भएको छैन । तपाइले कति बोल्नुभो र के-के पुरा गर्नुभो ? सायद तपाइँलाई नै याद नहोला । यदी याद छैन भने हरेक दिनको पत्रिका पढ्नुहोस् र एउटा जिम्मेवार प्रधानमन्त्री बनेर सोच्नुस कि तपाइले बोलेका कति पुरा भए र पुरा हुने आधार के-के छन् ? 

मैले तपाइको बिरोध गर्दै छैन । बरु तपाइँलाई सहयोग गर्न खोज्दैछु । बरु तपाइको आँखा खोल्दैछु । जो बन्द अवस्थामा छन् वा देखेर पनि बुझ पचाउनु भएको छ ।

तपाइले यस अघि प्रधानमन्त्री बन्दा जे-जे भाषण दिनु भो, जे-जे परिकल्पना गर्नुभो, त्यो पुरा होलान ? परिकल्पना गर्ने मानिसको आफ्नै महत्व हुन्छ, त्यसलाई मैले पनि महत्वपूर्ण मानेको छु । तर आफ्नै कार्यकालमा के-के पुरा गर्ने हो त्यसमा ध्यान पुगेको खै ? म यो पनि गर्छु, त्यो पनि गर्छु भनेर १०० बर्ष पछी हुन सक्ने काम समेत ओगटेर गर्न कसरी सकिन्छ, भन्ने बारे किन सोच्नु हुन्न ? देशको अवस्था के छ ? अर्थतन्त्रले धान्न सक्छ-सक्दैन ? यदी धान्दैन भने कसरी धान्न सक्ने बनाउन सकिन्छ ? बुझेर बोल्नु पर्छ कि पर्दैन ? 

तपाईको नेतृत्वदेखि देशको प्रशासनसम्ममा हरेक कुना-कुनाले भ्रष्टाचारीहरुलाई नियालीरहेका छन् । हरेक सरकारी कार्यालयमा भ्रष्टाचार हुँदा तपाइँको एक्सन खै ? भाषणले मात्र हुँदैन प्रम ज्यू ! भाषण त रत्नपार्कमा मुकुन्देले बर्षौंदेखि गर्दै आएको कुरा हो । तपाइले पटक-पटक दोहोर्याई-तेर्ह्याई भनेको 'म भ्रष्टाचार गर्दिन र सहन्न' भनेको कुरा त्यहि मुकुन्देको मुकुन्दल्याण्डको परिकल्पना जस्तै हो । जो हरेक दिन रत्नपार्कको रुखमा बसेर अबके केहि बर्षमा मुकुन्दल्याण्ड बन्छ र त्यसको राष्ट्रपति मुकुन्द ढुंगाना बन्छ भन्दै कराउने गर्छन् । त्यसैले तपाइले बोलेको कुराको हेक्का त्यहाँ गएर बुझ्दा मुकुन्देले बोलेजस्तो कुरा बन्दैछ । अब तपाइले निर्णय लिनुस कि मुकुन्दे बन्ने कि भविष्यमा लेखिने र पढिने के.पी शर्मा ओली बन्ने ? 

तपाइले केहि दिन अघि भ्रष्टाचार सहन्न भन्दै बोल्नु भएको भाषाण दिउँसो कुनै सरकारी निकायमा सरकारी कर्मचारीबाट ठगिएर घर आएको एउटा सर्वसाधारणले सुन्यो भने कति हास्ला ? त्यसैले भ्रष्टाचार नियन्त्रणको कुरा गरेर हसाउन छाड्नुस प्रधानमन्त्री ज्यु । सक्नुहुन्छ भने नियन्त्रणमा जागरुकता देखाएर आफुले गरेको र वास्तविक भएको उपलब्धि देखाउनुस ।

तपाइकै जिम्मेवारीमा पर्ने गरि भ्रष्टाचारका अरु उदाहरण कयौं छन् - तर केहि त्यस्ता उदाहरण जसलाई तपाइ नेतृत्वको सरकारले कसरी नियन्त्रण गर्छ हेर्न बाँकी छ । तपाइकै पार्टीका महान नेताहरु, तपाईकै मन्त्रीमण्डल, तपाइकै पिएहरु, तपाइकै नियन्त्रणभित्र रहेका कर्मचारीदेखि कार्यकर्तासम्म, जब देशमा कुनै कुरामा रोक्का लाग्छ तब त्यसैमा प्वाल पारेर कमाउने धन्दा सुरु गर्छन । त्यस्तै कामले तपाइको पार्टी चल्छ, सायद ! निर्वाचनताका पैसा परिचालन गर्ने बजेट बनाउन कहाँबाट सुरु हुन्छ- हामी जस्ता सर्वसाधारणले बुझेकै कुरा हो । कतै-कुनै योजना बन्दैछ भने त्यो कसको स्वार्थको लागि बन्छ ? तपाइँलाई नै थाहा होला । किनकी त्यस्ता योजनाको प्रस्ताव आउने कुरा चल्ने बित्तिकै तपाइँका निकट स्रोतहरु सम्बन्धित ठाउँमा पुगेर फाइदा लुट्ने वा जग्गा हडप्ने र मुआब्जा लुट्नेसम्म गरेको कयौं उदाहरण छन् ।  

स्मार्ट सिटि भन्दै घोषणा गर्दिने अनि त्यसको व्यवस्थापन, पूर्वाधारको मतलबनै नगरी बस्दिने अनि जब तपाइको योजना जान्छन् तब त्यहाँ तपाइको सोच अनुसारको काम नबन्ने निस्चित छ । जब योजनानै बन्दैन भने त्यतिबेलासम्म कतिले कतिलाई त्यसै योजनाको बारे ठग्छन्, कति दलाल बन्छन भनेर साध्य छैन । तपाइँले बाहिरी चक्रपथको योजना ल्याउनुस वा रेल वा अरु कुनै, बन्नु अगावै चलखेल सुरु हुन्छ । 

प्रधानमन्त्री ज्यु, एउटा काम गर्न दुईतिरको निर्णय कुर्नुपर्ने त्यो पनि एउटाले गर भन्ने अर्को निकायले हुँदैन भन्ने बढो खेल खेल्ने ठाउँहरु राखिएका छन् । जहाँ तपाइका नेतादेखि कार्यकर्ता र तपाइको नियन्त्रणमा रहेका भ्रष्ट कर्मचारीहरुले करोडौं कमाउने बाटो पाएका छन् । दिउँसो सरकारी काम गर्ने मालपोतको कर्मचारी व्यक्तिगत कमाई भन्दै जब कुनै जग्गामा पुगेर १० मिनेट नापेको ५ हजार लिन्छ, जब उसले नापेको नापमा काम गर्न सजिलो हुन्छ, अरुले गरेको नापमा काम गर्न अफ्ट्यारो हुन्छ तब तपाइले बोलेको कुरा सुनेर हास्न मन लाग्छ । 

तपाइको मन्त्रीले एउटा बिषयको निर्णय गर्छन् तर त्यसमा पनि खेल्ने काम सुरु हुन्छ भने भ्रष्टाचार नियंत्रणको आशा कसरी गर्न सकिन्छ ? देशको अर्थतन्त्रलाई देश बनाउने आधारसित जोडेर हेर्ने हो भने नेपालमा भ्रष्टाचारकै कारण देशको राष्ट्रिय अर्थतन्त्र डामाडोल बनेको छ । बिकासको काममा हुने भ्रष्टाचारमा तपाइको पार्टीदेखि तपाइको मातहतमा रहेका निकायहरुले सक्रिय भूमिका खेल्ने गरेका छन् । जब हरेक बिकासको काममै भ्रष्टाचार छ भने तपाइले कसरी बोल्न सक्नुहुन्छ कि म भ्रष्टाचार सहन सक्दिन ?

कि तपाइँलाई भ्रष्टाचार कसरी हुँदैछ भन्ने हेक्का छैन ? छैन भने हरेक निकायमा जनता बनेर जानुस । अरु त अरु देशको समग्र नीति र आफुले पाएको जिम्मेवारी पुरा गर्नुपर्ने तपाइको मन्त्रालयहरुबाटनै कहिले सचिव त कहिले उपसचिवको भन्दै फोनहरुबाट व्यावसायीहरुलाई ब्ल्याकमेल हुने गरेको छ । केहि दिन अघि एकजना व्यावसायीलाई कानुन मन्त्रालयबाट सहसचिव भन्दै फोनबाट गंगालालमा विरामी परेको एकजना व्यक्तिको सहयोगार्थ रकम भन्दै चन्दा मागे । यस्ता कयौं उदाहरण छन् । आफ्नो मन्त्रालयको समग्र कामको जिम्मेवारी पुरा गर्ने अधिकारीनै चन्दा उठाएर बस्ने फुर्सद पाउँछन् भने तपाइको सपनामा मैले हास्न नपाउने ?  

यस्ता घटना निकै साना घटना हुन् प्रधानमन्त्री ज्यू । मलाई भन्दा कयौंगुणा बढी यस्ता कुराहरु तपाईलाई थाहा छ तर पनि तपाई त्यसको नियन्त्रण गर्न छाडेर बोल्दै मात्र हिड्न खप्पिस हुनुहुन्छ ।

तपाइले साच्चै देशको समृद्धि सोच्नुभएको हो भने यस्ता क्रियाकलाप कमी हुनुपर्यो । देश बन्नको लागि राष्ट्र र राष्ट्रिय राजनीति सक्षम हुनुपर्छ, समग्र कुरा सकारात्मक दिशामा जानुपर्छ । विश्वमा आर्थिक रूपले कम विकसित देशहरूलाई हेर्दा ती देशहरूमा भ्रष्टाचार एउटा जटिल समस्याको रूपमा रहेको छ, जसलाई त्यहाँको राष्ट्रिय राजनीतिले निवारण गर्न सकिरहेको पाईंदैन । किनकी त्यस्ता देशको राजनीतिनै त्यस्तै भ्रष्टाचारको पैसाले चलेको हुन्छ । तपाइले नेतृत्व गरेको नेपालको वर्तमान स्थिति पनि यस्तै महा-भ्रष्टाचारको दवदवामा छ, त्यसैले देश बनाउने सवालमा भ्रष्टाचारको समस्यालाई निवारण नगरेसम्म देशको आर्थिक उन्नति गर्ने आधारहरू बलियो बन्न सक्दैन । प्रधानमन्त्री ज्यू, बोल्नुभन्दा बरु काम गर्नुस् । 

नेपालमा क्षेत्रगत आधारमा भ्रष्टाचार हुने सबैभन्दा बढी क्षेत्रनै राजनीतिक पार्टी हो । नेतादेखि कार्यकर्ता पोस्ने नाममा ७० प्रतिशत भ्रष्टाचार हुन्छ । यदी शक्ति अनुसार भाग लगाउने हो भने अहिलेको अवस्थामा तपाइको नेतृत्वमा रहेको एमालेले मात्र देशमा ३० प्रतिशतभन्दा बढी भ्रष्टाचार गर्छ । यदी तपाइले आफ्नो पार्टीका नेता, कर्मचारी युनियन र कार्यकर्तालाई मात्र सुधार्न सक्नु भयो भने भ्रष्टाचार  निवारणको लागि ठूलो राहत मिल्छ ।

अझ अहिलेको बाम गठबन्धनमा तपाइले सबै शक्तिको नेतृत्व लिनु भएकाले अबको ४ वर्षसम्म तपाइले देशको ७०% बढी भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न सक्नुहुन्छ तर के तपाईमा यसो गर्ने क्षमता छ ? यदी छैन भने  भाषणमा मात्र बोलेर भ्रष्टाचार नियन्त्रण हुँदैन प्रधानमन्त्रीज्यू ! 

पार्टी-पार्टीको कर्मचारी युनियन बनाएर भित्र-भित्रै भएका बेथितिहरुलाई हटाउनुको सट्टा सम्मान गर्ने गरिएको छ । अधिकांश सरकारी निकायमा तपाइँको पार्टीका सम्पर्क व्यक्ति छन् जसको माध्यमबाट नीतिगत भ्रष्टाचार हुन्छन् । कर्मचारी नियुक्तिदेखि मालदार ठाउँमा सरुवा गर्नेसम्मको काममा पैसाको चलखेलमा तपाइको नेतादेखि तपाइको कर्मचारी युनियनका अधिकारीसम्मको हात हुन्छ । पहिले आफ्नो पार्टी सुधार्नुस अनि कांग्रेस माओवादी सुध्रिन बाध्य हुन्छन । नसुध्रिए सकिन्छन् । 

त्यस्तै कानुनी र नीतिगत तहमा गरिने भ्रष्टाचारमा पनि तपाइँहरुको हदैसम्मको साथ छ । हालसालै चर्चामा रहेको साढे ३३ किलो सुन तस्करमा कसको हात देखियो ? तपाइँहरुले चाहेमा यसैगरी दैनिक एक्सन गर्न सक्नुहुन्छ तर के त्यसो भएको छ ? साढे ३३ किलो सुनले ६ महिना चर्चा पाउने हाम्रो देशमा दैनिक हुने भन्सार छली, तस्करी, हुण्डी कारोबार गौण बनेका छन् । त्यस्ता गौण तस्करीमा कसको साथ छ ? जिम्मेवारी लिनुस त्यसमा तपाइको समेत साथ छ । किनकी त्यसरी तस्करी गर्न पाउने वातावरण बनिरहेको छ । 

देशमा भ्रष्टाचार रोकथामका लागि झण्डै एक दर्जन, नियम कानूनहरू पारित गरी कार्यान्वयनमा ल्याइएका छन् । तर के ति नियमको पालना भएका छन् ? 

म जन्मदादेखि नै यो देशमा संक्रमण काल जारी छ, उमेर अब आधा-आधी भईसक्यो तर अझै उस्तै अवस्था छ । अब केहि सुधार होला भन्ने आशा हुँदा पनि यसरी क्षेत्रगत भ्रष्टाचार मौलाउंदैछ भने कसरी मेरो बाँकी उमेरमा समृद्धिको सपना देख्नु । उमेरको हिसावले मैले नदेखेको समृद्धि तपाइले देख्नु अर्को हाँसो लाग्दो कुरा हो ।  

संक्रमण र व्यावहारिक रुपमा नियमित अनुगमन नहुँदा मौकाको फाइदा छोपेर दुई नम्बरी धन्दा गर्नेहरूले विशेष फाइदा उठाइरहेछन् । जसको पार्टनर राजनीतिक पार्टीनै हुन् । तपाइको नेतृत्व रहेको राजनीतिक पार्टीले समेत परोक्ष रूपमा देशमा सञ्चालित विभिन्न ठूला परियोजनाको ठेक्का पट्टामा कमिशन लिने, लागत बढाउने, समयमा पूरा नगर्ने आदि गरेको अवस्था भनिराख्नुपर्ने कुरा हैन । त्यसमा पनि एनजीओ मार्फत हुने आर्थिक अपचलन कुरा गरि साध्य छैन । एनजीओ भन्दै विदेशबाट आउने पैसा सिधा सरकारलाई आउने हो भने देशको काचुली फेरिन्छ तर एनजीओले जनतालाई परजीवी झैं बनाएको कुरा तपाइँहरुलाई हेक्का छैन । यस्तै अवस्थामा आफ्नाले गरेको कमजोरी र आफ्नाले गरेको भ्रष्टाचार तपाइँलाई सामान्य लाग्छ भने तपाइले भ्रष्टाचार सहन्न भन्नु हाँसो लाग्ने कुरा हैन र ?

प्रधानमन्त्री ज्यु, यो देशमा 'तपाइँ'देखि 'म'सम्मको कारण भ्रष्टाचार मौलाईरहेको छ । तर म र तपाइँमा आकास र पातालको फरक छ, किनकी म यो देशको ३ करोडको भीडमा हराएको एक हुँ, तर तपाइँ यो देशकै तीन करोडको नेतृत्व गर्ने स्थानमा पुग्नुभएको एक हुनुहुन्छ, त्यसैले भ्रष्टाचार नियन्त्रणमा बोली भन्दा कामको सक्रियता देखाउनुस् । अन्यथा तपाइले सोचेको समृद्धि मात्र हैन अबको सताब्दी पछीका हाम्रा भावी सन्ततीले समेत समृद्ध नेपाल देख नपाउँदा तपाइँ-हामीलाई धिकार्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!