अब म तस्कर कहलाईसकें, एसएसपी होइन

Posted on: 03 May, 2018

अनिल अधिकारी | 

गर्न चाहे के हुँदैन ? पछिल्लो समय साढे ३३ किलो सुन प्रकरणको घटनाले नेपालमा ठूलो चर्चा पाएको छ । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका एक पूर्वडिआइजीसहित ९ जना प्रहरी अधिकारीमाथि सुन तस्करीमा सघाउनेदेखि शाक्यका हत्यारा भगाउनेमा भूमिका खेलेको आरोप लागेको छ । 

त्यसो त अदालतमा दायर मुद्धाको टुंगो नलागी बोल्न बर्जित छ तर नबोली बसियो भने झन् सुनका नामुद तस्करहरु अदालतमा समेत नछिर्लान भन्ने विश्वास हामी आम नेपालीलाई छैन । देशको समृद्धिको लागि तस्करी गर्न हुँदैन भन्ने कुरा तस्करहरुलाई थाहा हुँदो हो त आज मैले यो टिप्पणी लेखिराख्नुपर्ने थिएन । 

कानुनले बर्जित गरेको कुरा तिनै कानुन लागू गराउने भूमिका खेलेकाहरुले मान्न छाडेपछि र यसरी तिनका अपराध विरुद्ध हामीले टिप्पणी लेख्नुपरेपछि अझ त्यसमा पनि साधारण बर्दीधारी भएको भए पनि सहने कुरा हुन सक्थ्यो, पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउत र प्रहरी हवल्दार अमरबहादुर थापाले गोरे समूहलाई प्रत्यक्ष सहयोग गर्ने गरेको अभियोग लागेपछि यो देशमा खै के कानुनी राज्य छ भन्ने ? 


सुन तस्करीको तत्कालिन समयमा उनीहरूले पदको दुरुपयोग गर्दै विमानस्थल सुरक्षा गार्ड कार्यालयको कार्यकक्ष, साधन, श्रोत, जनशक्ति र अन्य लजिष्टिक्स लगायत प्रयोग गरेर आफ्ना ड्राइभर र व्यक्तिगत सुरक्षा गार्डलाई आपराधिक समूहको गतिविधिमा उपयोग गरेको देखिएको छ र यदी उनीहरुलाई अदालतले कुनै कसुर गरेको ठहर गरेन भने पनि उनीहरु जनताको अदालतका अपराधीहरु नै हुन् । विमानस्थलमा सुरक्षार्थ खटिएका व्यक्तिहरुको सहयोग बिना तस्करी सम्भव छ ? यो सबैभन्दा ठूलो प्रश्नको बिषय हो । अझै पनि बिमानस्थलबाट दैनिक सुन तस्करी हुने कुरा आई रहँदा अहिले त्यहाँ कार्यरतहरु प्रति पनि शंका उत्पन्न हुन्छ । बिमानस्थलमा चोरीनै नभए पनि चोर्छन कि भन्ने आशंका अहिले सबै विदेश जाने तथा फर्कने नेपालीहरुलाई हुनुको कारण उनीहरुको गलत नियत नै हो । चोरनै चोर बस्ने ठाउँमा एकाद सज्जनदेखि पनि डराउनुपर्ने हुन्छ भनेझैं अहिले बिमानस्थलदेखि त्यस्तै डर छ आम सर्वसाधारणलाई । 

सुन तस्करीको घटनामा अझै कयौं मोडहरु आउलान जिम्मेवार भएर सोच्ने हो भने त्यसै काण्डले बिमानस्थलका माथिल्ला तहका कर्मचारीदेखि तत्कालिन मन्त्रीसम्मलाई तान्नुपर्ने हुन सक्छ । किनकी देश चलाउन बसेर देश कसरी चल्दैछ भन्नेमा अन्जान रही कयौं तस्करहरुको सानदार पार्टी र तिनैसँग भेटघाटमा व्यस्त भईदिँदा यस्तै बिकृति सृजना भईदिन्छ भन्ने उनीहरुलाई हेक्का छैन । कुनै एउटा कार्यक्रममा गएर चाहिदा-नचाहिदा भाषणहरु गर्नुभन्दा जनताले समस्या देखेको निकायमा गएर नियमित अनुगमन गर्न सक्ने हो भने यस्ता तस्करीहरु आफैमा घट्छ । 

हामी नियतका कुरा गर्छौं । नियत सहि छ भने कसैलाई कसैले फसाउँन सक्दैन । तत्कालिन समयमा विमानस्थलमा तस्करी भईराख्दा टुलुटुलु हेर्नेदेखि अहिले तस्करी हुन्छ भन्ने जाँदाजाँदै पनि कुनै एक्सन नलिने जिम्मेवारहरु सबै दोषी हुन् । जे-जे गर्छन छाडा छाडीदिएर तस्करलाई सघाउनेहरु पनि तस्करनै हुन् । 

बुधबार एक जना एसएसपि जो तस्करीमा संलग्न भएको आरोपमा मोरङमा पक्राउ परेलगत्तै अदालत पेस गर्ने क्रममा संचारकर्मी माथि लात्ती बजारे । तिनको के कारण लात्ति बजार्ने साहश गरे तिनैलाई थाहा होला ? हुनसक्छ, त्यतिबेलासम्म तिनले आफूलाई एसएसपिनै हुँ भन्ने ठाने । उनले आफ्ना जवानहरुलाई जसरी सासन गर्थे त्यसरी नै सोचे । हुनसक्छ, तिनलाई आफैमा म यो देशको ठूलो मान्छे भन्ने लाग्यो वा यो देश म जस्ताकै मुट्ठीमा छ भन्ने लाग्यो । उनले लात्ती हान्नु अघि कुनै अक्कल पुर्याएको देखिन्न सिधा आफ्नो अगाडी कुनै संचारकर्मीले आफ्नो वास्तविकता उदांगो बनाउन लागेको सोचेर दायाँ-बायाँ कतै नसोची लात्ती उचाले । यसरी लात्ती बजार्ने तात्कालिन महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी हुन् । 


उनले भुले कि अब म तस्कर कहलाईसकें, एसएसपि होइन । उनि देशका लागि जिम्मेवार एसएसपी थिए भने त्यसरी पक्राउ परेर अदालत गईराख्नुपर्ने थिएन र दिमाग समेत गुमेकोझैं गरि कुनै पत्रकार माथि त्यसरी आक्रामक हुनुपर्ने थिएन । उनको कर्तुतले नै अब उनि दोषी हुन् भन्ने सावित गरिदियो । एउटा जिम्मेवार पदमा पुगेका व्यक्तिमा सानो संयमता भन्ने कुरा हुनुपर्दैन ? पैसा र पावर छ भन्दैमा जे पनि गर्ने छुट छ ? यदी छैन भने र उनि सुन काण्डका दोषि सावित नभए पनि जनताको सूचनाको लागि खटिएको संचारकर्मी माथि हमलाको आरोपमा हदैसम्मको कारवाहीको भागीदार हुनुपर्छ । 


अर्को कुरा, बुधबार मोरङमा आरोपीहरुमै जुन भेदभाव देखियो त्यसले जसलाई पनि नमज्जा लाग्न सक्छ । प्रहरीको नियममा के छ भन्ने कुरा मैले यो टिप्पणी लेख्दा जानाकार हुन आवश्यक ठानिन र जे नमज्जा लाग्यो त्यसलाई टिप्पणीमा राखें  । मोरङ अदालत पेस गर्नु अघि सर्वसाधारण आरोपीलाई हतकडी लगाइएको थियो भने प्रहरी अधिकारीलाई किन हतकडी लगाईएन ? जुन आरोपमा अरु अदालत पेस हुँदैथिए त्यहि आरोपमा प्रहरी अधिकारीहरु पनि अदालत जाँदै थिए, त्यसरी भेदभाव गर्न पाइन्छ ? हुनसक्छ संचारकर्मीमाथि बुधबार भएको आक्रमणको कारण पनि यही भेदभावले उब्जाएको हो किनभने आफूसमान अपराध गरेको आरोप लागेकाहरुलाई हतकडी लगाएर अदालत पुर्याउँदा प्रहरी अधिकारीहरु स्वतन्त्र रुपमा अदालत पुगेका थिए, सायद अझै पनि उनीहरुमा मनोवल छ कि म त अर्कै मान्छे पो हुँ ! त्यसकै बल हुनसक्छ एसएसपिले हात खोलेरै लात्ति बजार्ने हौशाला पाए । उनले सोचे - मेरो त अझै पावर छ, पैसा छ ! पैसाले गर्न नहुने काम पनि गर्छ र त्यहि पैसाले सुन तस्करीको दाग पखाल्नेछु । 

यसैबीच संचारकर्मीमाथि लोहनीले गरेको दुर्व्यवहारको संचारकर्मीहरु र सरोकारवालाहरुले खुलेर बिरोध गर्नुपर्छ । लोहनी सहित तस्करी तथा हत्यामा संलग्न भनिएकाहरुमाथि कडा अनुसन्धान सहित हदैसम्मको कारवाही हुनुपर्छ । त्यसमा पनि अदालत परिसरमै संचारकर्मी कुटिंदा अदालत तथा नेपाल प्रहरीले तात्कालिन महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई के सजाय गर्छ हेर्न बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!