नेपालको राजनीतिमा उम्मेद्वार छनोट प्रवृत्ति र आधार

Posted on: 16 Jun, 2018

राजबहादुर रोकाया । राजनीति राज्य संञ्चालनको मियो हो र सामाजिक, साँस्कृतिक र आर्थिक परिवर्तन र रुपान्तरणको संम्वाहक पनि हो । सकारात्मक, दुरदर्शिता, अग्रगामि सोच र ओझपूर्ण राजनीतिक शासन शैलीबाट  संञ्चालित राष्ट्रहरु संम्वृद्घ र विकासित  छन् । राष्ट्रको समग्र समुन्नति र विकास हुन स्थिर र स्थायी सरकारको आवश्यक हुन्छ । राष्ट्रको समुन्नत विकासकोलागि राजनीतिक नेतृत्वकर्ताले पश्चागमन वा अग्रागमन ? परिवर्तनशील वा यथास्थिति ? कुशासन वा सुशासन ? सदाचार वा व्यविचार ? र अस्थिर वा स्थिर ? आदि कुन किसिमको राजनीतिक शैली आत्मसाथ गरेर अगाडि बढेको छ त्यसमा भर पर्छ । 

सन् १९५९ मा नेपालमा प्रतिनिधि सभाको प्रथम आम निर्वाचन देखि सन् २०१७ सम्म प्रतिनिधि सभा, राष्ट्रिय पंञ्चायत सभा हुदै संविधान सभाको चुनाव गरेर १० पटक राष्ट्रिय रुपमा चुनाव भईसकेको इतिहास छ । विभिन्न कालखण्डमा स्थानीय निकाय हुदै स्थानिय तहको समेत चुनाव भएका छन् । यी राष्ट्रिय र स्थानीय निर्वाचनहरुमा पार्टीहरुले उम्मेद्वारी छनोट गर्ने सवालमा मुख्यतयाः तीन किसिमका शैलीलाई अधिकतम प्रयोग गरेका ज्वलन्त उदाहरणहरु छन् भने भविष्यमा हुने निर्वाचनहरुमा पनि यस किसिमको व्यवहार नदोहोरिएला भन्ने आधार हामीसँग छैन । 

पारिवारिक तथा व्यक्तिगत संम्बन्ध 

नेपालका राजनीतिक पार्टीहरुले लाभको वितरण गर्ने सवालमा आफ्नो परिवार, नातागोता, ईस्टमित्रका साथै व्यक्तिहरुलाई प्रमुख केन्द्रमा राखी कामहरु गरिरहेको सत्यतालाई ढाकछोप गर्न सकिदैन । नेतृत्वमा रहेको दलका नेताहरुदेखि कार्यकर्ताले समेत पारिवारिक तथा व्यक्तिगत संम्बन्धलाई जोड दिएका छन् । चाकडी, चाप्लुसी गर्ने, व्यवहारमा जहिले पनि भाइचारा भईदिनेलाई बिशेष गरी चुनावको क्रममा टिकट दिई सम्मान गर्ने प्रवृत्ति नेपाली राजनीतिक दलहरुमा प्रतिस्पर्धा नै हुने गरेको छ । विचार तथा क्षमतावान नेता कार्यकर्ताको बेवास्ता गर्दै पहुँच र संम्बन्धका आधारमा आफ्नो नातागोता, ईस्टमित्र, परिवारका सदस्यका साथै आफ्नो मान्छे, आसेपासेहरुलाई व्यवस्थापन गर्दै राजनीतिक जोड घटाउ गरिरहेका छन् । हालसम्म सम्पन्न भएका माथि उल्लेखित प्रवृत्तिको अधिकतम प्रयोग गर्र्दैै पार्टीहरु उम्मेद्वार तय गरी चुनावी मैदानमा उतार्ने गरेको वृतान्तहरुको भुक्तभोगी नै छौ ।

गुट उपगुटको प्रयास 

नेपाली राजनीति पछिल्लो अवधिमा विचार र सिद्घान्तको नैतिक धरातलबाट बाहिरिएर व्यक्ति, समुह र संम्बन्धका आधारमा दलहरु भित्रै गुट उपगुटको संस्कार मौलाईरहेको छ । जसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव लाभको पद वितरणदेखि पार्टीको हैसियत प्रदान गर्नमा समेत परिरहेको छ । चुनावी मैदानमा होमिनकालागि समेत उम्मेद्वारको टिकट वितरणमा समेत गुट उपगुटले रामै्र प्रसय पाएको छ । राम्रा क्षमतावान दक्ष, सिद्धान्तनिष्ठा र संगठनमा प्रतिबद्दलाई उम्मेदवारी छनोट गर्ने भन्दा गुटको आसेपासे, गुटको विचार र संम्बन्धमा रमाउने र वरिपरि लाग्ने, राम्रालाई भन्दा हाम्रालाई पुरस्कृत गर्ने प्रवृत्ति बिस्तारै बढ्दै गईरहेको छ । जसले गर्दा निष्ठावान, स्वच्छ छवि भएका तथा जनताको हितमा जहिले नि सक्रिय नेता कार्यकर्तामा मनोबलमा हस आई राजनीतिबाटै सन्यास लिने बाध्यतात्मक वातावरण सिर्जना गरिरहेका छन । 

शक्ति र संम्बन्ध

नेपाली राजनीति साम, दाम र दण्डभेद जस्ता शक्तिको पछाडि दौडिरहेको उदाहरणहरु हाम्रो सामु झर्लङ्गै छ । टिकट वा पद प्राप्तिकालागि भुसतिघ्रे, चुल्ठे मुन्द्रेदेखि गुण्डाको परिचालन, चन्दा, बक्सिस, घुसका साथै पैसाको चलखेल अकल्पनीय रुपमा वृद्घि भईरहेको छ । पछिल्लो समयमा हुने गरेको चुनावमा त जो व्यक्ति आर्थिक रुपले सम्पन्न र सवल छ, गुन्डागर्दी र अनैतिक तवरले युवा परिचालन गर्न माहिर छ, सुरा सुन्दरीको जोहो गर्न सक्छ त्यस्ता व्यक्तिले पार्टी नेतृत्वबाट उम्मेदवारको टिकट पाई सम्मान पाउने गरेको दृष्टान्तहरु प्रशस्त छन् । विगतका आम चुनावहरुमा भएको उम्मेदवारीको टिकट वितरणका साथै समानुपातिक सभासदको छनोट संम्बन्धि प्रक्रियामा दलहरु प्रति आर्थिक हिनामिना र चलखेलको समाचारहरुले पनि थप पुष्टि गरेको छ । 

यसका साथै भनसुन, करकाप, डर धम्कीको आधारमा पार्टी भित्र तथा बाहिरको राजनीतिक लाभ, अवसर, प्रतिष्ठा आदि ईत्यादी वितरण गर्ने गरिएको छ । यो प्रक्रिया हिजोदेखि आजसम्म निरन्तर चलिरहेको छ । राजनीतिमा त्याग, तपस्या, लगानी, योगदानका साथै मानमर्यादा र प्रतिष्ठा अनि सिद्दान्त र व्यवहारलाई सम्मान, सिद्घान्तनिष्ठ र ईमान्दारीको राजनीति गर्ने वर्ग ओझेलमा परिरहेको छ । सह अस्तित्व, सहकार्य, समन्वय, सुसंम्बन्धको राजनीतिक आचरणको अभ्यासको कमी आएको छ । राजनीतिले अविश्वास, कुटता, जालझेल, झुठ, शंका उपशंका, बेईमानीका साथै पूर्वाग्राही, गुन्डागर्दी, अवसरबाद र उपभोगबाद चिन्तनलाई प्रसय दिईरहेको छ । जसका कारण नेपाली राजनीति आम जनसमुदाय र बिशेष गरी नयाँ पुस्ताहरुका बिच बेईमानी र फोहोरी खेलको रुपमा चित्रित भएको छ भने अर्कोेतिर नेपाली राजनीति विधान संम्मत, प्रक्रियागत रुपमा संस्थागत, दिगो र स्थायित्व हुन सकेको छैन । यस परिप्रेक्षमा राजनीतिक दलहरुले उम्मेद्वार छनोट गर्दा निम्न आधारहरुलाई ख्याल गर्न सक्नुपर्छ ।

हाम्रालाई भन्दा राम्रालाई छनोट 

माथि उल्लेख गरिए अनुसार नेपालको राजनीति नाताबाद, कृपाबाद, आफ्नो मान्छे, चाकडी, चाप्लुसी जस्ता प्रवृतिवाहकहरुको कमाउने उद्योगको रुपमा उदयमान भइरहेको छ । यस्तो अवस्थामा अगामी दिनहरुमा हुने चुनावको उम्मेद्वार छनोट गर्दा पार्टीहरुले हाम्रालाई भन्दा राम्रा र सक्षम, क्षमतावान, समाजको हित चाहने, व्यक्तिगत र पारिवारिक साथै नातागोता पोषण गर्ने सोँचबाट टाढा रहने प्रवृत्ति समेतलाई ध्यान दिनुपर्दछ । 

दीर्घकालीन सोच 

मुलुक संघीय संरचनामा कार्यान्वयन भईरहेको अवस्थामा संविधानले प्रदान गरेको राज्य संञ्चालनका ३ वटा शैलीहरु व्यवस्थापकीय, कार्यपालिका र न्यायपालिका संम्बन्धि संरचना संघ, प्रदेश र स्थानिय तहमा समेत छ । राज्यको तीन तहको संघीय संरचनाहरुलाई सामजिक, आर्थिक, राजनीतिका साथै संस्कृतिक विकासको मार्गतिर कुन तह र कसरी पु¥याउन सकिन्छ भन्ने सोंच र चिन्तन बोकेका साथै केन्द्रीय र प्रान्तीय सरकारप्रति हुने आर्थिक परनिर्भरतालाई घटाउन मनन, चिन्तन र दृष्टिकोण भएका व्यक्तिलाई पहिलो प्राथमिकता राख्नुपर्छ । विकास र संम्मृद्घिलाई उच्चतम बिन्दुमा पु¥याउने स्पस्ट नीति, रणनीति, कार्यक्रमका साथै बजेट निर्माण गरी उचित र मर्यादित तवरले व्यवस्थापन  र कार्यान्वयन गर्ने दृष्टिकोण भएका व्यक्तिलाई छनौट गर्न सक्यौं भने मात्र हामी दीगो विकासको लक्ष्यमा पुग्न सक्ने छौ । 

ज्ञान, सीप र क्षमता  

अब हुने ३ तहका निर्वाचनहरुमा उम्मेद्वार छनौट गर्दा कमसेकम आफ्नो तहको काम कर्तव्य, अधिकार र जिम्मेवारी संम्बन्धि बोध भएको, संविधान र कानुन संम्बन्धि ज्ञान भएको जनताको आम जनसरोकार र जनजिविकासँग संम्बन्धित सवालहरु जस्तो कि शिक्षा, स्वास्थ्य, खाद्यान्न, विकासका गतिविधिहरु, शान्ति सुरक्षा, अमनचयन जस्ता संविधान प्रदात्त मौलिक हक र अधिकार प्राप्तिको सुनिश्चतता गर्ने र रखावारी गर्ने ज्ञान र कुशलता भएको, फरक समुह, चिन्तन झुन्ड बोकेको व्यक्तिसंग कमसेकम सह–अस्तित्व, सहकार्य, समन्वय र सकारात्मक संम्बन्ध बिस्तार गर्दै सबैलाई व्यवस्थापन गरी एकिकृत विकास र सम्वृद्घिको ढोका खुलाउन सक्ने कौशल भएको, सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिक पक्षका साथै विकास पक्षका बारेमा पोख्त भएको र सम्रग आफ्नो तहको विकास र संम्मृद्घिकालागि अन्तर पालिकीयका साथै अन्तर्राष्ट्रिय तहमा सम्बन्ध सुधार गर्ने र  आफ्नो तहको सर्वोतम हितका लागि कार्य गर्ने क्षमता अब हुने उम्मेद्वारमा हुनैपर्छ । 

नैतिक तथा सामाजिक आर्थिक आचरण 

अब हुने चुनावमा राजनीतिक पार्टीहरुले नैतिक, सामाजिक तथा आर्थिक श्रोतलाई प्रभावकारी परिचालन गर्न सक्ने आचरण भएका उम्मेद्वारलाई प्राथमिकतामा राख्नुपर्छ । समााजमा नैतिक रुपमा पतन नभएका, ईमान्दारी, अनुशाासित, व्यक्तिगत स्वार्थ बिहिनता भएको व्यक्तित्व, जनताप्रति जवाफदेही, उत्तरदायी र पारदर्शी व्यवहार अंगालेका व्यक्तिलाई पहिलो रोजाईमा पार्नुपर्छ । आफ्नो व्यक्तिगत हित र स्वार्थ भन्दा समग्र सामुहिक र सामााजिक स्वार्थ र हितमा ओतप्रोत भएको, आर्थिक सवलीकरणको मुद्दा उठान गरी सोको पारदर्शीतापुर्ण व्यवस्थापन गर्न  सक्ने व्यक्तित्वका साथै जाँगर, ईच्छाशक्ति एंव सामाजिक, साँस्कृतिक रुपमा सम्मानित र आर्थिक प्रलोभनमा मोहीत नभएको र सम्रग समाजको भावनाको कदर गर्न सक्ने फराकिलो सोंच बोकेको व्यक्तिलाई चुनावको उम्मेदवारीकालागि अगाडि ल्याइनु पर्छ ।

देशको नेतृत्व गर्ने प्रतिनिधि जनताको प्रतिनिधि हुनुपर्छ र राजनीतिक दलका नेतृत्व पंक्तिले राजनीतिक, साम्प्रदायिक, पारिवारिक पुर्वाग्रही सोंचको मनोदशाबाट माथि उठेर देशको सम्रग विकास र सम्मृद्घिको मुलभूत मर्ममा रही कार्यान्वयन गर्ने प्रतिबद्दता भएका व्यक्ति र नेता कार्यकर्तालाई उत्प्रेरित गर्दै अगाडि बढाउनु पर्छ । किनकी जनता वर्तमान समयमा सजक र सचेत भई सकेका र यो पनि बुझेका छन् कि अब कुनै पनि पार्टीले कुनै ठोसो व्यक्तिलाई पार्टीको प्रतिनिधि स्वरुप कुनै चुनावमा टिकट दिएर उम्मेद्वारी बनाउदैमा भोट हालेर जिताउनै पर्छ भन्ने जमना र परिस्थिति छैन र यसको अलवा सम्रग समाजको विकास र संम्मृद्घिको  सोंच र योजना सहित कार्यान्वयन गर्ने हिम्मत भएका पार्टी ईतरका व्यक्ति छानी भोट हालेर जिताउनु पर्छ भन्ने मानसिकता सृजित भैसकेको छ । यदि माथि उल्लेखित गुण र व्यवहारका साथै ईच्छा शक्ति भएका व्यतिmहरु र माथि उल्लेखित राजनीतिक प्रवृत्तिबाट हाम्रा दलहरु र हामी आम नागरिकले समयमै सोंच राखेर उम्मेद्वारी छनौटका साथै प्रतिनिधित्व गराउन सकेनौ भने त्यस्ता व्यक्तिले कार्यकारी, न्यायिक र विधायिकी अधिकार सहितको शक्तिशाली अधिकार भएको तहहरु परम्परागत कार्य शैलीमा बसेर राष्ट्र चलाउने प्रयत्न गर्नेछन् । यस्तो बेला यो संविधानको दिगोपनका साथै संस्थागत रुपमा कार्यान्वयन हुन कठिनाई हुनेछ । यस स्थितिमा नेपाली जनताका लागि अभिशाप हुनसक्छ र नेपाली दलहरुले अधिकतम मुल्य चुकाउनु पर्ने अवस्था नआउला भन्न सकिदैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!