तम्घासको पहिचानः डोजर र लाकुरी मञ्च

Posted on: 01 Aug, 2018

(बिजय बिश्वकर्मा, तम्घास छापटोला) |

२०५४ को स्थानिय चुनाबपछी गाँउगाँउमा बिकासको लहर चल्यो । गाडी गुडने बाटाघाटा जतासुकै खनिन थालियो । हाम्रो जिल्लातिर पनि बाटो खन्ने प्रयोजनको लागी डोजर भित्रियो । बडेमानको फलामे ईन्जिन भएको अगाडी रुख, ठुलाठुला ढुङ्गा जे पर्छ सबैलाई सोत्तर बनाउदै पन्छाउदै बाटो खन्ने डोजर हेर्न हामीहरु झुम्मिन्थ्यौ । डोजर हेरेर रमाउने त उबेलाको कुरा भो अहिले म त्यो बाटो खन्ने डोजरको कुरा गर्न खोजेको छैन । 

एक डेढ वर्ष अघिसम्म पहिले तम्घास घर पुगेर बजार डुल्दा देखिने तर आजभोली तम्घास बजारमा मैले देख्न नसकेको डोजरको कुरा गर्दै छु । बडेमानको ज्यान, ज्यान भन्दा नि अझ ठुलो भारी बोक्ने काम, दिउसै तिनपाने सुर्काउने बानी, पौवाको बसाई र सुताई , दुःख मला कैले भैन सुखले मला कैले छोडिनु.... हा हा हा गर्दै टोलै थर्काउने गरी उन्मुक्त हाँसो । सोधे हुँला मैले पनि बेलाबखत घर कहाँ हो भनेर सोध्दा जहाँ बस्यो त्यहि घर भन्थे पछिपछि चासो राखिएन । कोही कसैले डोजरको घर बडागाँउतिर हो पहिला भारतीय आर्मीमा भर्ना भएर घरायसी समस्याले यस्तो भए भन्थे कोही कसैले एकपटक मानसिक समस्याले गर्दा यस्तो भएका हुन भन्थे । खैर जे सुकै होस उनलाई न परिवारको चिन्ता न साथीभाईको चिन्ता, नत परिआउने भबितब्यकै चिन्ता । एक किसिमले सोच्ने हो भने उनि विनोद चौधरी भन्दा सुखि थिए । 

जुन मान्छेमा धनको लोभ र महत्वाकांक्षा हुन्न त्यो मान्छे जस्तो सुखी अरु हुन सक्दैन । मेरो बुझाईमा डोजर त्यस्तै थिए । डोजर तम्घासको एक अंग थिए । जरकमरक र ठुला भारी बोकाउनुपर्ने काम पर्यो भने सम्झने पात्र भनेकै तिनै डोजर थिए । पहिला पहिला त बसपार्क, पुरानो बजार, लाकुरी मञ्च आसपास देखिन्थे खै आजभोली मैले नदेखेको धेरै भो । भारी बोकेर हात लाग्या पैसोले चिरिप्प तिनपाने सुर्काएर मस्त लाकुरी मञ्चमा सुतेको धेरै पटक मैले देख्ने गर्दथे । मोवाईल र नेटले बानी जातिविति बिगारेको छ मेरो । बिहान उठनसाथ फेसबुक खोल्दा ति डोजर र डोजर जस्तै अरु, अनि जिल्लाका सुकिलामुकिलाहरु सुस्ताउने ठाँउ लाकुरी मञ्चको लाकुरी ढलेको तस्विर देख्न पुगे । पहिलेको विकासे अड्डा जिविस, जिल्ला प्रशासन कार्यालय लगायतका अन्य कार्यालयको सामुन्ने रहेको लाकुरी मञ्चले ऐतिहासिक महत्व बोकेको थियो । 

राणाकाल, पञ्चायतकाल, बहुदलकाल र अहिलेको गणतन्त्रकाल भोगेको लाकुरी मञ्चको बलियो लाकुरी असार १० गते रातीको हुरीले ढालिदिएछ । यही मञ्चको शितलतामा धन हुने पनि रमाए, मन हुने पनि रमाए । जिल्लामा हुने गरेका असल कामको साक्षी बस्यो लाकुरी मञ्च तर गलत काम नदेखेर बसेन । असल कामको लागि मरिमेटेर योजना बनाउने मात्र हैन अरुलाई असफल गराउन कसरि छिर्के दाउ हान्न सकिन्छ भनेर पनि योजना बनाएको साक्षी हो लाकुरी मञ्च । कैयौंका घरबार जोडिदिने काममा सहयोग त गर्यो नै तैपनि कतिको विर्गान पनि त सम्पर्क स्थान बनिदियो । यही लाकुरी मञ्चले राणाहरुको जयजयकार सुनेहोला र सुन्यो विरोध पनि । हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भनेको सुनेको लाकुरी मञ्चको लाकुरीले ओख्रेनी अझ भनौ 'आर्यघाटले के भन्छ .......... ले भन्छ' भनेको पनि सुन्यो । यही लाकुरीले काङग्रेस, एमाले, माओबादी लगायतका दलका ठुला-साना नेतालाई धेरैपटक राम बनाएको पनि सुन्यो, रावण बनाएको पनि सुनेको थियो । गुल्मी जिल्लाको राजनितिक, सास्कृतिक, आर्थिक परिवर्तन र ईतिहासको साक्षी लाकुरी मञ्चको लाकुरी ढलेको छ । माघको अन्त्यतिर घर जाँदा रंग लगाएर चिटिक्क पारेर संरक्षण गरिएको देखेको थिए । लाकुरी बाहिरबाहिर चिटिक्क परेको तर भित्र चाहि धोद्रो परिसकेको रैछ ठयाक्कै एउटा राजालाई कुना पस्ने गराएर सयौं राजालाई पोस्न विवश कुनै लावण्य देशजस्तै ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!