ज्वालामुखी गाउँपालिका भित्रको भ्रष्टाचार छताछुल्ल, स्थानीय पत्रकारहरुको ध्यानाकर्षण होस्

Posted on: 29 Sep, 2018

अनिल अधिकारी |

पछिल्लो समय ज्वालामुखी गाउँपालिकाको डोजर काण्ड र धादिङकै नामुद पत्रकारहरुले समेत पैसा खाएर घटना लुकाउन तत्पर रहेको देखि गाउँपालिकासंग पत्रकारहरुले आर्थिक/भौतिक सहयोग मागेको बिषय सुन्नमा आएका छन् । यो घटना इंगित गाउँपालिका मात्र नभई अन्यत्र पनि सुनिएको कुरा हो । जसको बलमा पत्रकारसंग प्रत्यक्ष पैसाको मोलतोल गर्न जिम्मेवार कर्मचारी तथा पदाधिकारीहरु पछी पर्दैनन् भन्ने घटना बिहिबार दियोपोष्टले सार्वजनिक गरेको समाचार तथा अडियो रेकर्डले स्पष्ट पार्छ । 

सार्वजनिक अडियो एकतर्फी भएकाले रुपमा सम्पादित भएकाले मैले यसलाई समाचारको रुपमा नभई टिप्पणीको रुपमा प्रस्तुत गरेको छु । नेपालको कानुन अनुसार जानकारी बिना कसैसंग भएको कुराकानी रेकर्ड गरि सार्वजनिक नमिल्ने भएता पनि यो रेकर्डले सार्वजनिक महत्व  बोकेको बुझेर सार्वजनिक भईसकेको बिषयमा आफ्ना तर्क प्रस्तुत गरेको छु । 

सार्वजनिक अडियो रेकर्ड अनुसार ज्वालामुखी गाउँपालिकाका लेखापाल नामुद भ्रष्टाचारी हुन्, जो प्रत्यक्ष जिल्लाको खानेपानी तथा गाउँपालिकामा जोडिएर अनियमितता गर्नमा तल्लिन छन् । उनले एक जना पत्रकारसंग पैसाको बार्गेनिङ गर्दै जिल्लाका अन्य पत्रकारहरुको इमानमा समेत प्रश्नवाचक चिन्ह खडा गरिदिएका छन् । प्रस्तुत विषयमा कुरा उठान गर्दै-गर्दा केहि समय अघि मसँग धादिङकै एक गाउँपालिकाका जिम्मेवार व्यक्तिले धादिङकै एक जना नामुद पत्रकारको बिषयमा तितो कुरा पोखेका थिए । जुन कुरा गाउँपालिकाको काम गराईको पारदर्शितासँग सम्बन्धित थियो । ति पत्रकारले धम्कि दिएका रहेछन् - गाउँपालिकाले आफ्नो प्रस्ताव नमाने समाचारहरु फलोअप गरिरहने... ।' 

अब ज्वालामुखी गाउँपालिकाको डोजर काण्ड र त्यससँग सम्बन्धित घटनातिर लागौं । 'ज्वालामुखी गाउँपालिकाले जनतालाई समेत पत्तो नदीई डोजर किन्यो र ५ महिनादेखि अलपत्र पार्यो' भन्ने बिषय सार्वजनिक भएसँगै त्यस बिषयमा बिभिन्न टिकाटिप्पणीहरु आए । अधिकांसले नकारात्मक टिप्पणी गरे । बाहिरी नजरले हेर्दा डोजर किनेर थन्क्याएको भन्ने बिषय स्पष्ट बेथितिसंग जोडिन्छ । भीत्री रुपमा जवाफ खोज्दा अनुमति प्राप्त चालक नभएर थन्किएको भन्ने जवाफ आयो । शंका गर्ने बाटो छाडेपछी मुसा पनि बिरालो हो कि भन्नुपर्ने अवस्थामा अब झन उक्त डोजर काण्डको घटना बढ्दै गएर छाताछुल्ल भईदियो । 

बिहिबार ज्वालामुखी गाउँपालिकाका लेखापाल वेद प्रसाद पंगाली र एकजना पत्रकारबीच भएको अडियो कुराकानी सार्वजनिक भएपछी त्यस बिषयले गम्भीर रुप लिएको हो । 

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका अनुसार डोजर ५ महिनासम्म थन्किनुको कारण 'अनुमति प्राप्त चालक नभएर हो ।' तर डोजर चालक चाहिएको भन्दै कुनै सूचना समेत नआएको पाइएको छ । स्थानीय तहले आवश्यक पदपूर्ति गर्दा नियमानुसार गर्नुपर्छ भन्ने हुँदा ज्वालामुखी गाउँपालिकाको वेबसाइटमा समेत डोजर चालक चाहिएको बिषयमा कतै सूचना उल्लेख गरिएको छैन । किन सूचना जारी भएन होला भनेर बुझ्दै जाँदा अर्को अचम्मको रहश्य फेला पर्यो । राजनीतिक रुपमा गाडी र डोजरको लागि चालक खोज्न अध्यक्ष र उपाध्यक्षको भागमा भागबण्डा लगाइएको रहेछ । गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिना (कांग्रेसका हुन्)ले गाडी चालक राखेकोले डोजर चालक राख्ने भाग उपाध्यक्ष जानुका सिंखडा (नेकपाकि हुन्) को भागमा परेको रहेछ । तर यहाँ घटना त्यतिमै सिमित रहेन, आशंका थपियो कि उक्त डोजर कतिमा खरिद गरियो ? यहीनेर आएर अध्यक्ष र लेखापालको मत समेत बाझिन पुग्यो । यही बिषयको चासो लिंदा लेखापालले पत्रकारलाई बिकाउ ठानेर आँट गरेरै पैसा दिनेसम्मको बार्गेनिङ गरे । जुन कुरा सार्वजनिक भयो । 

तश्विर स्रोत: jwalamukhimun.gov.np 

ज्वालामुखी गाउँपालिकाका लेखापालले दियोपोष्टका पत्रकारलाई सिधै १ लाखको अफर गरेको देखि पत्रकार महासंघ धादिङका अध्यक्षलाई समेत १ लाख २० हजार राखिदिएको भन्न भ्याए । उक्त सार्वजनिक कुराकानीले डोजर खरिदमा अनियमितता भएको प्रमाणित त गर्यो नै, यसका साथै कर्मचारी र जिम्मेवार पदाधिकारीमा समेत पत्रकार बिकाउ हुन्छन भन्ने नराम्रो प्रभाव परिसकेको रहेछ भन्ने प्रमाणित गरिदियो । लेखापालको अडियो सुन्नेले सिधै बुझे - 'धादिङ पत्रकारहरु बिकाउ रहेछन ।' 

घटनाको गहिराई बुझ्ने हो भने डोजर खरिदको बिषयलाई लिएर खरिद प्रक्रिया र डोजर मूल्य समेत बढाइएको बिषयमा दियो पोष्टले समाचार तयार पारेको र उक्त समाचार सार्वजनिक हुँदा अनियमितता बाहिर आउने डरले लेखापाल वेद प्रसाद पंगालीले समाचार रोक्न बार्गेनिङ गर्न खोजेको देखिन्छ । सार्वजनिक समाचार र अडियो अनुसार गाउँपालिकाले १ लाख २० हजार पत्रकार महासंघका धादिङ अध्यक्ष नवराज छत्कुलीको लागि छुट्याइसकेको स्पष्ट भनिएको छ । यस बिषयले अध्यक्ष छत्कुलीको प्रतिष्ठामा समेत प्रश्नवाचक चिन्ह खडा गरिदिएको छ । त्यस्तै रेकर्डमा छ - 'भान्से भनेको म हुँ, जिल्लाका अरु साथिहरु (पत्रकारहरु)लाई पनि सोध्नुहोला, को-को लाई चिन्नुहुन्छ... ।' यो अभिव्यक्तिले अध्यक्ष छत्कुली मात्र नभई जिल्लाका अरु पत्रकारहरुको बिषयमा समेत प्रश्नचिन्ह खडा भएको छ । 

अब माथिको बिषयले धादिङ जिल्लाको सिङ्गो पत्रकारहरुको प्रतिष्ठा र त्यसको नेतृत्व लिएका पत्रकार नवराज छत्कुलीलाई समेत इंगित गरेकोले उठान भएको बिषय गलत हो भने यथासक्य यस बिषयमा गम्भीर भई सम्बन्धित गाउँपालिकाका पदाधिकारी, स्थानीय पत्रकारहरु र स्थानीय नागरिकहरु समेतलाई उपस्थित गराई सार्वजनिक सुनुवाई गर्नुपर्ने देखिन्छ । त्यस्तै गाउँपालिकाको पछिल्लो घटनाक्रमलाई गाउँपालिकाका जिम्मेवार पदाधिकारीहरुले जनता समक्ष स्पष्ट पार्नु आवाश्यक छ ।

साथै लेखापाल पंगालीको अभिव्यक्तिले उनि स्वत: भ्रष्ट प्रमाणित भईसकेको अवस्थामा यस्ता नैतिक रुपमा पतन भएका व्यक्तिलाई जिम्मेवार निकायले कस्तो कारवाही गर्छ, हेर्न बाँकी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!