प्रधानमन्त्रीकै अनुहारमा पर्ने गरि छ्यापिएको हिलो !

Posted on: 21 Feb, 2020

अनिल अधिकारी | प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भनिरहेको कुरा हो 'म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।' तर पछिल्लो काण्डले उनको अनुहारमै हिलो छ्यापिदिएको छ । उक्त हिलो प्रधानमन्त्रीकै अनुहारमा पर्ने गरि छ्यापिएपछि उनले गरेको लोकप्रिय टिप्पणी 'म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न' लाई थप हास्यासपद मान्न सकिन्छ । 

बिहिबार दिनभरी बहशको बिषय बनाईएको संचारमन्त्री गोकुल वास्कोटाको अडियो प्रकरणले प्रधानमन्त्रीको सबैभन्दा नजिकको विश्वासपात्रकै नियति त यस्तो छ अरु कस्तो ? भन्ने प्रश्नहरु तेर्सिएका छन् । मन्त्री गोकुल वास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा झन्डै ७० करोड कमिसनको मोलमोलाई गरेको अडियो सार्वजनिक हुनुले उनको पद त गयो नै उच्च पदस्थहरुले गर्ने क्रियाकलाप र तडकभडकमा थप आशंका थपिदिएको छ । दूइ महिना अघिनै अडियोबारे खबर पाएर पनि प्रधानमन्त्री ओलीनै मौन बस्नुले उनको भ्रष्टाचारप्रतिको शुन्य सहनशीलताको कथनमा समेत प्रश्न चिन्ह खडा भएको छ । 'म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न' भन्दै लोकप्रिय अभिव्यक्ति दिने प्रधानमन्त्रीले आफ्नै नेतृत्वको मन्त्रीमण्डलको सदस्य त्यसमा पनि आफ्नै विश्वासपात्रले त्यत्रो रकमको मोलमोलाई गरेको अडियोबारे पूर्वजानकारी पाउँदा समेत मौन किन बसे अचम्मको बिषय छ । यसले प्रधानमन्त्री ओलीको व्यवहार र बोलीको दुई किनारालाई प्रष्ट छुट्याईदिएको छ । 

पार्टीभित्र गोकुल बास्कोटा र केपी ओलीको छुट्टै सम्बन्ध रहेको बताइन्छ । वास्कोटालाई ओलीकै कृपाले संचारमन्त्री बनाइएको टिप्पणी गर्नेहरु पनि छन् । त्यसो त ओलीको कोर ग्रुप मेम्बर भीत्रको एक सदस्य मध्ये वास्कोटा मुख्य मानिन्छन् । ओलीलाई कमजोर अवस्थामा पार्टीभीत्र साथ दिएको कारणले र ओली ग्रुपको लामो समर्थनपछि गोकुल वास्कोटा ओलीको प्रिय पात्र बनेको बताइन्छ । प्रधानमन्त्री ओलीले बालकोटको आफ्नै घरलाई मन्त्री बास्कोटाको क्वार्टर बनाइदिएपछि नेकपा शक्तिकेन्द्र धाउनेहरुले वास्कोटालाई भेट्नु प्रधानमन्त्रीसंग भेटे सरह ठान्ने गरेको बताइन्छ । यसैले पनि के स्पष्ट हुन्छ भने गोकुल वास्कोटालाई प्रधानमन्त्रीले दिल खोलेर विश्वास गर्थे । त्यसो त आफ्नो मन्त्रालयले गर्न लागेको कामको प्रधानमन्त्रीलाई जानकारी गराउने वास्कोटाको बानी थियो । यसको कारण पनि ओलीले वास्कोटालाई थप मायाँ गर्थे । यसले के आशंका गर्ने छुट दिन्छ भने आफूले गर्न लागेको सबै कामको सूचना दिने बानी परेका वास्कोटाले कमिसनको बारेमा पनि जानकारी दिएका थिए कि थिएनन् होला ? अडियोबारे पुर्व जानकारी पाएर पनि मौन बस्नुको कारण के/किन ? 

यदी अडियोमा गरिएको बार्गेनिङ मन्त्री वास्कोटाकै आवाजमा हो भने ओलीले त्यसको सत्यताबारे पहिलेनै वास्कोटासंग प्रश्न गरिसकेका छन् । यदी सत्य होइन भने अडियो सार्वजनिक गरे लगत्तै राजिनामा दिनु आवश्यक नभएर त्यसको प्रतिकार गर्न सक्नु पर्ने हो । जसले अडियो रेकर्ड गर्यो उनको अनुसार प्रधानमन्त्री ओलीलाई यस अडियोबारे पुर्व जानकारी थियो र पनि उनले कुनै एक्सन लिन किन चाहेनन् ? यदी चाहेको भए र बिहिबार भनिएझै नैतिकताको आधारमा राजिनामा दिएको भए त्यो नैतिककता अडियो जनताले सुन्नु अघिनै देखाएर आफ्नो दुरदर्शिता देखाउने अवसर प्रधानमन्त्री ओलीमा थिएन र ? जब जनतामा अडियो भाईरल भयो तब नेकपाको सरकारमाथिको नैतिकता र उसको राजनीतिमा समेत प्रभाव पर्ने डरले राजिनामा दिईएको बुझ्न सकिन्छ । यदी प्रधानमन्त्री ओली भ्रष्टाचारमा साच्चै शुन्य सहनशील थिए भने उनले अडियो सुने लगत्तै वास्कोटालाई कारवाही गर्न वा उक्त अडियोको वास्तविकता खोज्न सक्नु पर्ने हो कि होइन । 

मोलमोलाईको बिषयलाई एकातिर राखेर अडियोमा बोलिएको कथित मन्त्रीको भाषालाई मात्र पनि समस्याको रुपमा लिने हो भने त्यत्रो उच्च निकायमा बस्ने व्यक्तिले प्रयोग गर्ने भाषा पनि त्यस्तो हुन्छ र ? भन्ने प्रश्न गर्न वाध्य पार्ने खालको छ । पदमा पुगेपछि बिभिन्न एजेन्टहरुको पासो र प्रलोभनमा पर्ने सम्भावना हुन्छन् नै । शक्तिकेन्द्रको पात्र बनेपछि अफर आउनु स्वभाविकनै होला तर सिधै प्रभावमा परेर उल्टो उनीहरुको मोलमोलाईलाई थपेर बार्गेनिङ गर्नु कतिसम्मको भ्रष्ट प्रवृति हो ? यदी अडियोमा सत्यता छ भने मन्त्री वास्कोटाले राजिनामा मात्र दिएर उन्मुक्ति पाउँछन्, थप कारवाही हुँदैन ?  

मन्त्री वास्कोटामाथिको अभियोग यदी असत्य हो भने त्यसको निस्पक्ष छानबीनमा डराउने कुरै हुँदैन । बिपक्षी पार्टी कांग्रेसको आरोप छ कि भ्रष्टाचार निवारणसम्बन्धी संवैधानिक अंग अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत नेकपाको पक्षमा छ । यही आरोपका बीच अख्तियारले वास्कोटाको काण्डलाई निस्पक्ष छानवीन गरेर कांग्रेसलाई गलत सावित गर्ने अवसर पाएको छ । त्यस्तै संसद्को सार्वजनिक लेखा समितिलाई समेत मुछेर जुन अडियो सार्वजनिक गरिएको छ, लेखा समितिले बिहिबारमात्रै सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धि ८ बुँदे छलफलको बिषयमा थप खोज गर्नुपर्छ र आफू यो काण्डमा ओभानो बन्ने अवसर अझै बाँकी छ । 

अडियोको फरेन्सिक परिक्षणपछि यसको सत्यतथ्य पत्ता लाग्ला तर नेताले भ्रष्टाचार गरेनन् होला भन्ने जनताले पत्यार मान्दैनन् । केहि दिन अघि नेकपाभीत्र नै आवाज उठ्यो - नेताका रवाफका बिषयमा, उनका जीवनशैलीका बिषयमा । जसरी पुर्व सभामुख कृष्ण बहादुर महरालाई अदालतले सफाई दिएर पनि जनताको नजरमा उनि दोषीनै देखिईरहेका छन् भोली मन्त्री वास्कोटाको अडियो झुट सावितनै भएछ भने पनि जनताले अब मन्त्री वास्कोटालाई भ्रष्टाचारी देखिसकेका छन् । यसको मुख्य कारण जनता-नेताबीचको विश्वासको खडेरी नै हो । नेता र उच्च पदमा बसेर आफ्नो पदको मर्यादालाईनै भुलेर जनहित, राष्ट्रहित विपरित कामहरु गर्दै आएको कारणनै जनताले गर्ने विश्वास गुमिसकेको छ । प्रधानमन्त्री ओलीले अडियो प्रकरण बारे पहिलेनै जानकारी पाएका थिए भने त्यसप्रति ध्यान नदिएर मौन बसिदिनुले चोर औंला प्रधानमन्त्री तर्फ पनि तेर्सिन पुगेको छ । यस विषयले प्रधानमन्त्री ओलीको लोकप्रिय भाषणको विषय 'म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न' लाई धक्का दिएको छ । आफ्नो दरिलो खम्बाको रुपमा रहेका वास्कोटालाई चलाउँदा आफ्नै शक्ति हल्लिने डरले प्रधानमन्त्री मौन बसेका थिए भने पनि नैतिक रुपमा त्यस्तो सोचलाई पनि भ्रष्टाचार नै भनिन्छ । जे होस् अबको छानबिन त्यो अडियोको सत्यता जाच्ने र अडियो काण्डका अरू रहस्य पहिल्याउनेतर्फ केन्द्रित हुनुपर्छ । सामान्य जनतालाई सुख दिने आश्वासन देखाई तिनैको भोटले नेतृत्वमा पुग्ने नेताहरुलाई जनताले आफ्नो गुनाशो सुनाउन नपाउने अवस्थामा एजेन्टहरुले सहजै भेट गर्न पाउनुनै शंकास्पद छ । आम जनतामा आईसकेको बिषयलाई लुकाउन खोज्नु वा राजिनामा मात्र दिएर पन्छिन खोज्दा यसको नकारात्मक नजिरले आगामी दिनमा भ्रष्टाचारलाई थप संस्थागत बनाउँछ । एकै काममा ७० करोडको मोलमोलाईलाई सामान्य मानेर चुप बसिदिने वा राजिनामालाई कारवाही मानेर उन्मुक्ति दिने हो भने त्यसले भविष्यमा भ्रष्टाचारलाई दोब्बर बनाउन सहयोग गर्छ । 

एउटा मात्र राजा भएको देशमा हजारौं राजाहरु आएर देशलाई थप खोक्रो बनाईरहेका छन् भन्दै बरु राजानै ठीक भन्ने आम जनतामा बहश चलिरहेको अवस्थामा यसरी एकै पटकमा सात पुस्तालाई पुग्ने गरि राज्यको रकम कमिसनको रुपमा कुम्ल्याउन खोजिनु सामान्य कुरा होइन । नोटमा भोट किनेर निर्वाचन जित्नु र अर्को पटक पुन: त्यसैको लागि अर्को काण्ड दोहोर्याउने नजिर स्थापित भईरहेको अवस्थामा त्यसको अन्त्यको लागि यस्ता काण्डहरु सतहमा आउनु आवश्यक छन् तर काण्डनै काण्ड आइरहनुलाई सामान्य मान्न सकिन्न । हिसावनै गर्ने हो भने देशको नागरिकहरुको औशत वार्षिक प्रतिव्यक्ति आय अनुसार ७० करोड कमाउन ५ हजार ३०० जनालाई एक बर्षको समय लाग्छ । तर यहाँ शक्तिकेन्द्रमा पुगेको एउटा व्यक्तिले ५ हजार भन्दा बढी नागरिकको एक बर्ष भरीको पसिनालाई एकै खेपमा एउटा हस्ताक्षरको भरमा कुम्ल्याउन खोज्नुलाई सामान्य मान्न सकिन्न । यो देशप्रतिको महा-अपराध हो । दोषी प्रमाणित भएको अवस्थामा यस्ता महा-अपराध गर्नेलाई राजिनामाको भरमा छाडिनु कदापी न्यायोचित हुँदैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!