मृत्यु आरोहण

Posted on: 17 Jul, 2016

–संजय पण्डित | 


हिमाल आरोहणलाई त्यसै रहस्यमयी यात्रा भनिएको होईन। थुप्रै नसोचिएका घटना झेल्नु, कहिल्यै अभ्यास नगरिएका सीपको सहारामा मृत्युको मुखवाट बालबाल बच्नु आरोहीका लागि असामान्य भईकन  पनि सामान्य जस्ता घटना हुन् । नेपालका सगरमाथा, मनास्लु, आइसल्याण्ड पिक, छुकुग्रीपिक, नागार्जुन पिक, तान्जेनियको किलिमिन्जारो, मेरु युरोपको एल्व्रस, अस्ट्रेलियाको कोजियस्को, जापानको फुजी, रसियाको चिगाद, अमेरीकाको एकान्कागुवा आरोहण गर्दा अविस्मरणिय घटनाका थाकै लागेका छन् ।

१२ जेठ ०६९ को राती ८ बजे हामी सगरमाथाको ८ हजार ६ सय ५० मिटर उचाईमा थियौं । चुचुरोमा त्यहि दिन पुग्नु थियो । मौसम पनि अनुकुलै थियो । तर अचानक हिम पहिरो गयो । हिउँको ठुलो ढिस्को मेरो हातमा बजारियो । पाखुरा च्यातिए झै भयो पछि गाइडले ८००० मि. मा झरेर भोलिपल्ट चढ्ने योजना बनायो । १३ जेठ वाट सरकारले आरोहण रोकेको रहेछ । चचुरो नजिकै पुगेर पनि फर्कनु पर्यो ।

सगरमाथाको मिसन थाती राखेर मैले प्राणघातक हिमाल भनेर कहलिएको मनास्लु चढ्ने निर्णय गरे त्यही वर्षको ७ असोजमा हाम्रो टोली मनास्लुको ७००० मिटर उचाईमा पुग्यो । क्याम ३ मा हामीले टेन्ट राख्यो । तर हाम्रा टिम लिडर दावा शोर्पाले फर्निने सुझाव दिए । हामी २८ जना राती १२ः०० बजे आधार शिविर मा झ¥यौ । ६१ जनाको भिन्दा भिन्दै टोली क्याम्प ३ मा बस्यो । विहान ४ः३० बजे ठुलो पहिरो गएर क्याम्प ३ पुरै बगाएछ । १४ जना आरोहीको मृत्यु भयो, बाँकी सबै घाईते भए । हाम्रो टोली आधार शिविरमा नै बसेकाले बच्यो । पहिरोले गर्दा पहिले बनाएको बाटो भत्कियो नयाँ बनाउनु पर्ने भयो । ८० प्रतिशत आरोहीले आरोहण त्यागे तर हामी ३ दिनको मिहिनेत पछि चुचुरोमा पुग्यौ ।

५ जेठ २०७० फेरी सगरमाथा आरोहणमा गए । साउथ कोल नजिकै पगे पछि अगाडी जाम होला जस्तो भयो । त्यहाँ जाम हुँदा १० घण्टा सम्म चुचुरोमा पुग्न सकिदैन त्यसैले मैले स्पिड बढाए । त्यही स्पिडका कारण मेरा गाइड छेपाल पछि परे । मलाई चाहिने अक्सिजन र अन्य सामाग्री उनै संग थियो । म ८५०० मिटरको आसपासमा पुग्दा त लासै लास रहेछन् । पछाडी परेका सबै आइ सक्दा पनि दुई घण्टा सम्म छेपाल आइपुगेनन् । छेउको लास हेर्दै मैले मनमनै सोच्न थालेँ, अब मेरो हालत पनि त्यस्तै त होला ।

साउथ समिट नजिकै पुग्दा त ढल्केको पाइप सोझ्याउन पनि  सकिँन । आरोहण गरेर फर्केका एक विदेशीले मिलाइदिए । जसो जसो हिलारी स्टेप क्रस गरेँ । ८ हजार ८ सय २५४ मिटरमा मेरो अक्सिजन पुरै सकियो । रेगुलेटर पनि बिग्रिएछ । त्यो ठाउँमा अक्सिजन सकिँदा बाच्ने आशा जोकोही ले मार्छन । तैपनि, मैले अन्य आरोहीलाई अक्सिजन सहयोग गर्न गुहार गरिरहेँ ।

सगरमाथाको चुचुरो भन्दा जम्मा १८÷१९ मिटर पर थिएँ म । झोला फालेर अगाडी बढ्ने प्रयास गरेँ । तर, नसकेर लडेँ । सगरमाथा आरोहणमा रहेको नेपाली–भारतीय सेनाको संयुक्त टोलीले मलाई एक छेउमा राख्यो । त्यतिखेरै मेरा लागि भगवान् बनेर आए , कर्म शेर्पा । उनले मलाई अक्सिजन दिए । त्यसले मेरो आशा फेरि पलायो । म चुचुरो पुगेँ । चुचुरोमा केहि बेर आनन्दले ढलेँ । म यति धेरै खुसी भए कि अव संसारमा मैले गर्न केही बाँकी छैन जस्तो लाग्यो ।

चुचुरोमा पुग्नु जत्तिकै चुनौती सकुशल भर्नुमा हुन्छ । नभन्दै ८ हजार ६ सय मिटरमा मेरो चस्मा खस्यो । धन्न ! त्यस दिन घाम लागेन, नत्र म आइस ब्लाइन्ड हुने थिए । क्याम्प ४ मा लाक्पा शेर्पाले चस्मा दिएर बचाए । तर, मैले दाहिने खुट्टाको औंला भने बचाउन सकिनँ । हाम्रा लागि आठ हजार मिटरमा क्याम्प खडा गर्दा एल्लो रकवाट खसेर सोलुखुम्बुका लोप्साङ शेर्पाले ज्यानै गुमाए ।

अफ्रिकाको सर्वोच्च शिखर किलिमान्जारो मैले दुई पटक आरोहण गरेकोछु । सन् २०१४ मा मण्डिरा शिविरवाट शिखरसम्म ६ घण्टा १३ मिनेटमा तीब्र गतिको आरोही धावकको रुपमा त सन् २०१५ मा नेपाली राष्ट्रिय पोशाक दौरा–सुरुवाल, भादगाउँले टोपी लगाएर २५ घण्टा १३ मिनेटमा उल्लो हिडेर । अष्ट्रेलियको सर्वोच्च शिखर कोजियस्कोमा पनि हिँडेर प्रथम प्रथम विश्व पर्वतारोही बनेँ म ।  युरोपको हिमाल एल्ब्रुसमा ६ मिनेट ३ सेकेन्डसम्म आधा नांगिएर अहिले सम्म युरोपको सर्बोच्च शिखरमा कसैले नगरेको कम पनि गरेँ ।

मैले ६ हजार ९ सय ६१ मिटर उचाईको दक्षिण अमेरिकाको एकोन्कागुवा हिमाल बिना अक्सिजन चढ्ने निर्णय गरेको थिए । आरोहणमा त्यस्तोे ठुलो समस्या आएन । तर फर्किदा आई अल्टिच्युडले समात्यो ।शरीरमा १८ प्रतिशत मात्र अक्सिन बाँकी रहेछ । जसो तसो ६ हजार मिटरमा भरेँ । एकोन्कागुवा चट्टान नै चट्टानले भरिएको सुक्खा हिमाल हो । शरीरमा अक्सिजनको मात्र अत्यन्त न्यून हुँदा होसहवास गुमाएँछु । गस्तिका प्रहरीलाई नेपालीमा नानाथरी गाली गरेछु । धन्य उनीहरुले मेरो अवस्था बुझेछन्  र राती १ बजे अक्सिजनको व्यवस्था मिलाए । विहान ४ बजे क्याम्प २ बाट बेस क्याम्पसम्म हेलिकप्टरमा ओराले । कम उचाईको हिमाल भए पनि म मृत्युको मुखैमा पुगेर बचेँ । अमेरिकाको डेनाली शृंखलामा ३० मिलटरको हिम खाडलमा खसेको क्षण सम्झादा पनि आङ सिरिंग भएर आउँछ ।

(संजय पण्डित नेपालका उल्टो हिडेर हिमाल आरोहण गर्ने पहिलो विश्व पर्वतारोही एवम लामो दुरीका धावक हन् ) लेख नेपालको राष्ट्रिय साप्ताहिक नेपालवाट साभार गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!