दलालमार्फत कतारमा पुर्याइएका नेपालीहरुको अवस्था

Posted on: 07 Apr, 2020

मेरो परिवार, मेरा आफन्तले मेरो बारेमा थाहा पाउँदा दु:ख लाग्ला भनेर मेरो नाम र तस्बिर नराख्न अनुरोध गर्दछु । म त फसेर उक्सिसकेको मान्छे हुँ, अब अरु नफसुन् र मेरा साथीहरुको दु:ख देखेर लेख्न मन लाग्यो । त्यसैले यो 'कतारमा नेपालीहरुको अवस्था' बारे लेख लेख्दैछु । 

कतार मुलुकमा सायद अरु मुलुकमा भन्दा ज्यादा नेपाली छन्, सायद फसेका पनि धेरै यहीं छन् । धेरै पहिले लेख्नुपर्ने कुरा थियो थियो अहिले लेख्दैछु । यो लेखमा कतारमा कयौं नेपालीहरुलाई रहेको समस्याबारेमा केहि लेख्ने कोसिस गरिरहेको छु । 

'रूमसम्म जानलाई ट्यक्सि भाडा छैन, अलिकति पैसा दिनुन प्लिज, दाइ !'

'म फसें केही काम छ भने मिलाइदिनु न दाई !' 

यस्तै-यस्तै समस्या पोख्दै नेपालीहरुसंग ठोक्किन पुग्ने कतारमा कयौं छन् । कतिपयले यस्तै समस्या भोगेर अझै पनि रोजगारीको क्रममा कतारमा दु:ख पाईरहेका छन् । धेरै नेपालीहरु समस्याका बीच भौतारिईरहेको देख्न सकिन्छ । 

म आफै पनि यस्तै समस्यामा फसेको थिएँ र मैले बुझेको छु, दु:खी नेपालीको समस्या यो परदेसमा । 

कोहि आफन्त त कोहि साथीभाईको लह-लहिमा लागेर छिट्टो हुने र सजिलै काम लगाइदिने आशामा कतारमा आउँछन् र आएपछि महिनौंसम्म काम नपाउने र अन्त्यमा कि त घर फिर्ता हुने कि त जस्तो काम भन्यो त्यहि काममा अल्झनुपर्ने हुन्छ । म्यानपावर मार्फत श्रम स्वीकृति लिएर आउनेलाई समस्या कम छ तर जो दलालको भरमा कतार आउँछन् प्राय सबैको हविगत निकै दु:खदायी हुने गरेको छ । जुन सपना बोकेर आइएको हुन्छ, सबै चकनाचुर हुन्छ जब आफू आउदाको ऋणको सम्झना आउँछ तर त्यति पनि कमाई हुँदैन । तनाब घर कसरि जाने ? आफुले सोचेको भन्दा निकै कम तलबमा काम गर्नुपर्दा र सोचेभन्दा फरक काम अप्ठ्यारो काम गर्नुपर्दाको तनाब अर्कै छ ।

यसरी फस्नेहरुमा कोहि आफन्त साथी-भाइ, कोहि घर-गाउँ/छिमेककै मान्छेको आशामा वा दलालको भरोशामा त्यहि मुलुकमा छन् । कतार आउनु अघि 'आउ राम्रो काम छ, तलब पनि राम्रो नै छ, छिट्टो हुन्छ, के म्यानपावर धाईराख्छौ ?' भन्दै युवाहरुलाई फसाईन्छ । त्याशी आशमा QVC (कतार भिषा सेन्टर) मा एक मिति तोकिन्छ मेडिकल गर्न र त्यहाँ सोधिन्छ, यो काम र यति तलब हो ? भनेर । त्यहाँ दलालको भरमा जे-जे सिकाइन्छ हो-हो भनेर भन्न लगाइन्छ । 

त्यसपछि दलालले एउटा म्यानपावर समात्ने रहेछ, श्रम गराउन । त्यसपछि विदेशमा फसेको खण्डमा हामी जवाफदेहि हुने छैनौं भनेर लेखिएको कागजमा हस्ताक्षर गराइन्छ । म्यानपावरको प्रयोग श्रम निकाल्नको लागि मात्र हुने रहेछ । म्यानपावरले भन्छ 'तपाईलाई जस्ले लान आटेको हो उसको जिम्मा हो अब, भनिन्छ । जसो-तसो आइन्छ अनि १०/१५ जना एउटै कोठामा राखिन्छ ।


कहिले-काही कतार ल्याउनमा सक्रिय दलाल आउँछ र जसरी पनि काममा लगाउछु भनेर जान्छ । दलालले घरि-घरी दर्शन दिदै जान्छ । अन्तर्वार्तामा कता-कता एक दलालले अर्कोलाई पास, अर्कोले अर्कोलाई पास गर्दै काममा लगाउने कोसिस हुन्छ । कतै पास त कतै फेल, अनि कतै पास भएर पनि तलब निकै कम त कतै पास भएर पनि कमिसन काम लगाउने दलालले कम्पनिको  'एचआर'लाई दिन नसकेर हो वा किन हो बोलाउछु भनेर पनि काममा बोलाउदैन । यतिकैमा कतिपयको ३ महिने भिसा सकिन लाग्दा प्रेसर आउन थाल्छ । जसरी पनि यो काम गर र त्यो काम गर नत्र म यो रुमको भाडा तिर्न सक्दिन भन्न थालिन्छ । कम तलबमा पनि काम गर्न जान बाध्य बनाउने प्रयास स्वरूप दलालले प्रेसर गर्छ र भन्छ 'म गएँ भने यहाँको रुमवालाले तिमीहरुलाई निकाल्छ, अनि कहाँ जान्छौ ?' यति भनेपछि बाध्य भएर जे काम पाइयो त्यतिमै गर्न बाध्य होइन्छ । कोहि घर फर्किन प्रयास गर्छन भने घरबाट ऋण गरेर आएको कारण र समाजले के भन्छ भन्ने डरले पनि विदेशमै जस्तो परिस्थितिको सामना पनि गर्न तयार हुन्छन् । कोहि आफै काम खोज्न हिड्छन् भने कोहि कतारमा कोहि साथी वा आफन्त छन् उनिहरुतिरै गएर गुहार माग्छन् । 

यो अवस्थामा घर-परिवारबाट पैसा पठाउने प्रेसर आउँछ, दलालले भन्ने बाटो हुन्छ कि 'काम लगाएको हो तर कम तलब भनेर गर्नै मानेन ।' 

दलाल पनि कति हो कति ? एक दलालले अर्को दलाललाई जिम्मा लाउने काम हुन्छ, मानिसको व्यापार खसी-बोका बेचे जस्तो यहाँ ! भाग्यले भनौं या कसरी एक/दुइ जनाले राम्रै काम पाउँछन् । तर अधिकांशको भनेजस्तो केहि हुँदैन । त्यसमा पनि जस्तो पायो त्यस्तो कम्पनीमा काम गर्न बाध्य हुँदा कम्पनीले भिसा नलगाइदिदा इलिगल भएरनै महिनौ र बर्षौं बिताएर डराई-डराई बस्नुपर्ने हुन्छ । कसैले गरेको कामको पनि तलबनै नपाउने त कोहि इलिगल भएर जुन कम्पनीमा भिसा लागेको छ त्यसै कम्पनिले फाइन तिर्नुपर्छ भनि अगाडि नै सिआईडीमा नाम दिन्छन् र कामदार आफैले फाइन तिर्नुपर्ने नत्र जेल जीवन बिताउनुपर्ने अवस्था आउँछ । यो समस्या चाहिँ एउटा कम्पनिमा काम गरिरहेर उक्त कम्पनिमा भिसा नभएर वा कुनै कारण भिसा अर्कै कम्पनिको लगाएर कतार आइडी नबनाइदिएको अवस्थामा हुन्छ । यस्तो अवस्थामा तलब नपाउदा पनि बाहिरी कम्पनीको आइडी भएको हुनाले नीतिगत तरिकाले तलब पाइन भनेर मुद्दा समेत लड्न पाइंदैन । तलबनै नदिने यस्ता कम्पनी थुप्रै छन् । थुप्रै साथीहरु छन् यस्तो अवस्थामा । तर आफ्नो दु:ख लुकाउन खोजेका हुन् कि सहयोगी संस्था नभएर हो कि बाध्यताले हो मौन बसिरहेका छन् । 

यो समस्या म आफैले भोगेको र देखेको समस्या हो । यही समस्या भोग्ने कतारमा कयौं छन् । 

अहिले कोरोना भाइरसको महामारीको कारण मैले झैँ रोजगारीको लागि कतार आएका कयौं नेपाली साथीभाईहरु निकै पिडित बनेका छन् । बाध्यताले कतारमा फसेका र दलालको चंगुलमा परेर आएकाहरुलाई न कानुनले साथ दिन्छ नत कतारको सरकारले जारी गरेको राहत र नीतिगत व्यवस्थाले । नेपालबाट आउँदानै गलत बाटो आएको हुँदा दु:ख नपाए के पाइन्छ त भन्ने प्रश्न धेरैले गर्छन् तर त्यसरी फस्न बाध्यताले परेको हो । सरकारले फ्री भिषा-फ्री टिकट भने पनि म्यानपावरले लाखौँ अशुली गर्छन । त्यसमा पनि आफ्नै देशमा रोजगार नपाएर विदेश आउन म्यानपावर चाहार्दा चाहर्दै महिनौं/बर्षौं बित्छ । त्यसमा पनि दलाल मुक्त भनिएको वैदेशिक रोजगारमा अझै कयौं दलालको सक्रियता छ । तिनैको सक्रियतामा छिटो/छरितो र अनेक प्रलोभनमा कतार आउँदा यस्तो समस्या भोग्नुपर्ने रहेछ । मैले मात्र होइन कयौंले यो समस्या भोगे तर मिडियामा आईरहेको छैन । जसको कारण अरु युवाहरु यसरीनै दलालको फन्दामा फसिरहेका छन् । 

त्यसैले मैले माथि भने अनुसार कुनै दलालको भरोशामा कतारमा गएर काम पाइन्छ भनेर सरकारले पुर्व स्वीकृति नदिएको काममा कतार नआउनु होला । यहाँ दलालहरुले भनेजस्तो केहि हुँदैन । 

यहाँ आएपछि धेरै मानिसको घर जानुनै सपना जस्तो हुँदोरहेछ । त्यत्रो पैसा तिरेर आएर पनि यहाँ पैसा खाने दलालले ठूला-ठूला कुरा गरिराख्छन् । केहि नजाने/नबुझेकोलाई, सिप समेत नभएको भन्ने जान्दा-जान्दै पनि बिभिन्न प्रलोभन देखाएर कतार ल्याउँछन् तर यहाँ आएपछि तेरै कारण अन्तर्वार्ता पास भईनस । तेरो भाषा राम्रो नभएकोले पास भईनस, सिप नभएकोले पास गर्न सकेनस भन्दै बहाना बनाउँछन् ।  

यो लेख मैले मेरो भोगाई/देखाई र अन्य साथीहरुको दु:खलाई बुझेर तयार पारेको हुँ र यो तपाईहरुमाझ पस्किएको छु । माथिकै प्रक्रियाले दलालहरु मार्फत आएका मेरा साथीहरु अहिले ठूलो समस्यामा छन् । खाना समेत खान पाइएको छैन । दुतावासले समेत हाम्रो गुनाशो सुनुवाई गरेको छैन । दुतावासले यो कुरा मिडियामा पढेर सहयोग गर्छ भन्ने आशा गरेको छु । जसको लागि मेरो नम्वर +97470182488 रहेको जानकारी गराउन चाहन्छु । 

- कतारबाट एक नेपालीले पठाएको विशेष लेख ।
(लेखकले पठाएको लेखमा भाषा र केहि वाक्शयांशमा त्रुटी भएकाले सम्पादन गरिएको छ । लेखकले आफ्नो परीचय गोप्य राख्न अनुरोध गरेकाले गोप्य राखिएको छ ।)

यस बिषयमा तपाइको प्रतिक्रिया...!