चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालन

Posted on: 23 Oct, 2020

कात्तिक ७, चितवन | चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो । 

भरतपुर महानगरपालिकाको रु २५ लाख र समूहको सहभागितामा थप रु सात लाख रकम गरी रु ३२ लाखको लागतमा तालिम केन्द्रको निर्माण गरिएको हो । केन्द्रको उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सीप र क्षमताको आधारमा बहुउपयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्यमशीलताले मात्र परिवार र समाजलाई समृद्ध बनाउन सक्छ, तसर्थ आधुनिक प्रविधि सीपमार्फत उत्पादकत्व बढाउन सबै एकत्रित हुनुपर्छ ।”

रोजगार सिर्जना र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिँदै उहाँले यस्ता योजना लिएर महानगरपालिका आउनेलाई सबै प्रकारको सहयोग गर्न महानगर तयार रहेको बताउनुभयो । कार्यक्रममा वडा नं २१ का वडाअध्यक्ष चित्रसेन अधिकारीले नवनिर्मित तालिमकेन्द्र भवन यस क्षेत्रका समुदायलाई सीप सिकाइमा उपयोगी हुने बताउनुभयो । समूहका अध्यक्ष एवं दिव्या शर्माले समूहको आयव्यय तथा समूहले गरेका गतिविधिहरूको बारेमा जानकारी गराउनुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!