सरकारको गतिविधिले आशा र आशंका दुवै पैदा गर्छ: अध्यक्ष थापा

Posted on: 28 Jun, 2018

असार १४, चितवन | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताउनुभएको छ । 

मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनाताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरेको भन्दै तर सरकारबाट दुई तिहाइ मतको दुरुपयोग गर्दै एक दलीय शासन पद्धति ल्याउने होकि भन्ने आशंका पनि रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “दुई तिहाइ मतको दुरुपयोगले गर्दा मुलुकमा बिखण्डनकारीले फाइदा लिन सक्ने खतरा पनि कायम नै छ ।” मुलकमा यो अवस्था आउन नदिनका लागि बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको उहाँको भनाइ थियो । 

अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकताका लागि कुरा भइरहेको भन्दै अघिल्ला पटकको जस्तो छोटो समयमा विभाजन हुने गरी नभई अबको एकता दीर्घकालीन हुने बताउनुभयो । 

एक फरक प्रसंगमा नेता थापाले हिन्दू राष्ट्रको विषयलाई लिएर राप्रपा सशक्त रुपमा अघि बढ्ने छ भन्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!