हवाई दुर्घटना बीमा रकम नेपाली र विदेशीलाई बराबर

Posted on: 17 Jul, 2018

साउन १, चितवन | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले हवाई दुर्घटनापछि नेपाली र विदेशीलाई दिइने बीमा रकममा अब विभेद नहुने बताउनुभएको छ । 

चितवनको सौराहाबाट पोखराका लागि उच्चस्तरको पर्यटकीय एसी डिलक्स बससेवाको आज शुभारम्भ गर्दै उहाँले नेपाली र विदेशी हवाई यात्रुले पाउने बीमा रकम फरक÷फरक भएकामा अब भने बराबरी हुनेगरी सोमबारको मन्त्रिपरिषद्बाट पारित भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार यसअघि दुर्घटना हुँदा नेपालीले रु ३० लाख र विदेशीले रु एक करोड ५० लाख पाउँदै आएका थिए । 

नेपालको विमानस्थल र विमान नै खतराको सूचीमा राखिएको प्रसंग कोट्याउँदै मन्त्री अधिकारीले अहिले एक ठाउँको हटाइसकेको र अब युरोपेली सङ्घले अझै हटाउन बाँकी रहेकाले त्यो पनि सकारात्मक दिशातर्फ उन्मुख भएको प्रतिक्रिया दिनुभयो । 

उहाँले नेपालमा जहाजको मार्गसमेत बढाएर आठ स्थानमा पुर्याइएको समेत जानकारी दिनुभयो । अर्काे २० दिनपछि नेपालमा अर्काे जहाज आउनेछ भन्दै उहाँले नेपालका विभिन्न क्षेत्रमा विमानस्थल निर्माणको क्रमसमेत तीव्र पारिएको जिकिर गर्नुभयो । 

नेपालमा एक करोड पर्यटक नभित्र्याएसम्म कसैले विश्राम लिन नहुने मन्त्री अधिकारीको भनाइ छ । आगामी एक वर्षमा लुम्बिनी, तीन वर्षमा पोखरा र पाँच वर्षमा निजगढ विमानस्थल बन्ने जिकिर मन्त्री अधिकारीले गर्नुभयो । 

नेपालको सिमीकोट, पोखरा, काठमाडाँै र भैरहवाको विमानस्थलको मुआब्जा विवाद हल भएको उहाँले जानकारी दिनुभयो । भरतपुर विमानस्थलमा अग्ला घर भएकाले केही समस्या छ भन्दै नेपाली सेनासँग मिलेर विमानस्थल बढाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सो विषयमा एक डेढ महिनामा केही नतिजा आउँछ ।” 

चितवन राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने टिकट एक दिनको लागि मात्रै भएकाले त्यसलाई तीन दिनसम्म पु¥याउनुपर्ने पर्यटन व्यवसायीको मागप्रति सकारात्मक रहेको बताउँदै उहाँले सो समस्या समाधानका लागि सचिवलाई निर्देशन दिइसकेकाले काम गराएर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा मन्त्री अधिकारीले चितवनको सौराहा बसपार्क निर्माणका लागि कम्तीमा रु ५० लाख संघीय सरकारबाट सहयोग हुने घोषणा गर्नुभयो । 

“पोखरा, सौराहा जोडियो, अब पोखरा, लुम्बिनी र सौराहा जोड्नुपर्छ”, मन्त्री अधिकारीको भनाइ छ । नारायणी र कोशीमा पानी जहाज सञ्चालन गर्ने योजना अघि बढेको जानकारी दिँदै उहाँले नारायणीमा जहाज शुरु भएपछि नदी किनार अर्को आकर्षक पर्यटकीय गन्तव्य हुने उल्लेख गर्नुभयो । 

कार्यक्रममा प्रदेश नं ३ का कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दावादोर्जे लामाले पर्यटकीय बस सञ्चालनसँगै सौराहा र पोखराको सम्बन्ध थप विस्तार हुने जस्तै गतिविधि सातै प्रदेशमा सञ्चालन हुन सके सरकारको समृद्धिको नारा सार्थक हुने बताउनुभयो । प्रदेशसभा सदस्य गीता वाग्लेले बस सेवालाई नाफासँग नजोडी उत्कृष्ट सेवा दिन सुझाव दिनुभयो । 

पोखरा जगदम्बा ट्राभल्सद्वारा आजदेखि सञ्चालित उक्त बसमा मिनी बारसहित यात्रुलाई खाजा र खाना, चिया कफी, पेय पदार्थको सेवासमेत उपलव्ध छ । प्रतियात्रु रु एक हजार ५०० टिकट रहेको उक्त एसी बसमा वाइफाइसमेत रहेको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

यसअघि काठमाडौँ पोखरा सेवा दिँदै आएको कम्पनीले आगामी भदौ १ गतेदेखि पोखरा– लुम्बिनी समेत बससेवा शुरु गरिने उहाँले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!