चितवनमा केरा खेती फस्टाउँदै, एक अर्बको कारोबार

Posted on: 06 Apr, 2017


चैत २४, चितवन । चितवनमा केराखेती फस्टाउँदै गएको छ । 

गत वर्ष जिल्लामा दुईसय बिगाहामा केराखेती विस्तार भएको थियो । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार अघिल्लो वर्ष दुई हजार ४०० बिगाहामा केराखेती गरिएको थियो । यस वर्ष क्षेत्रफल विस्तार भई दुई हजार ६२० बिगाहा पुगेको छ । 

“राज्यले खेतीयोग्य जमिनलाई प्लटिङबाट रोक्नुपर्छ,” पन्त भन्नुहुन्छ – “प्लटिङले केराखेती घटदै गएको ।” एकसय बिगाहाभन्दा बढी केराखेती भएको जमिन प्लटिङ भएको छ । जिल्लामा हाल ६१५ केरा किसान छन् भने गत वर्ष ४६ हजार मेट्रिक टन केरा उत्पादन भएको थियो । 

“गत वर्ष करिब रु एक अर्बको केरा बिक्री भएको छ,” अध्यक्ष पन्तले भन्नुभयो । आम्दानीमात्रै रु २५ करोड भएको उहाँको भनाइ छ । सबैभन्दा बढी केराखेती सङ्घका पूर्वअध्यक्ष यज्ञ सुवेदीले ५५ बिगाहामा गर्नुभएको छ । उहाँले वार्षिक रु दुई करोडको कारोबार गर्दैआउनुभएको छ । 

रत्ननगर, पदमपुर, पिठ्वा, जुटपानी, चैनपुर, जगतपुर, मेघौली, ठिमुरा केराखेतीको पकेट क्षेत्र हुन् । एक गाउँ एक उत्पादन कार्यक्रमका कारण केराखेती ह्वात्तै बढेको अध्यक्ष पन्तको भनाइ छ । कृषि अनुदान कर्जा सहज भए र प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममा केरासमेत समावेश गरिएमा केराखेती अझै फस्टाउने व्यवसायीहरु बताउँछन् । 

यस्तै रोग निरोधक टिस्युकल्चर प्रविधिबाट उत्पादन गरिएका बिरुवालाई सरकारले अनुदानमा उपलब्ध गराउन सके केराखेती गर्नेको सङ्ख्या बढ्ने व्यवसायीको भनाइ छ । यहाँ उत्पादन भएको केरा ६० प्रतिशत जिल्ला बाहिर खपत हुन्छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!