भारतबाट चल्ला माग भएपछि व्यवसायीलाई राहत

Posted on: 19 Oct, 2020

कात्तिक ३, चितवन | भारतीय बजारमा यहाँ उत्पादित कुखुराका चल्ला माग भएपछि ह्याचरी व्यवसायीलाई राहत मिलेको छ । अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि उता पठाउन थालिएको हो । 

भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सले यहाँका चल्ला भारत पठाउन थालेका हुन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार सातामा २ लाख ५० हजार हाराहारीमा चल्ला भारत लान थालिएको छ । नेपालका ह्याचरीले अहिले एउटा चल्ला रु २५ देखि ३० मा बिक्री गर्ने गरेका छन् । ती चल्ला सप्लायर्समार्फत भारतमा पुग्दा भारु ५० सम्म पर्छ । पोख्रेलका अनुसार सातामा ३५ लाख ब्रोइलर चल्ला उत्पादन हुन्छ । मासुको मूल्य नपाएपछि साना कृषकले नोक्सानी व्यहोर्नु परेको छ । घाटा खानु परेपछि कृषक चल्ला राख्न उत्साहित छैनन् । उत्पादन धेरै तर खरिदकर्ता कम भएपछि चल्लाको मूल्य पाउन नसकिएको हो ।

नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट कोभिड १९ का कारण भारतीय सीमा क्षेत्रमा प्यारेन्ट नपाएका कारण चल्ला उत्पादन नहुँदा अभाव भएको बताउनुभयो । विस्तारै यो समस्या नेपालमा पनि आउने उहाँको भनाइ छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!