आजदेखि अखिल नेपाल किसान महासंघको राष्ट्रिय भेला सुरु

Posted on: 24 Sep, 2021

असोज ८, काठमाडौँ । शुक्रबारदेखि अखिल नेपाल किसान महासंघको संयुक्त राष्ट्रिय भेला चितवनमा शुरु भएको छ। सो भेलालाई नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापाले भरतपुरमा उद्घाटन गरेका छन् । 

कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरणलाई व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता रहेको बादलले बताए। भुमिहिन किसानको समस्या समाधान गर्न गठन भएको  भूमि समस्या समाधान आयोग खारेज गरेर यो बुर्जुवा सरकारले किसानहरुलाई दरिद्रता तर्फ धकेलेको आरोप लगाए। अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासंघ चितवनका ईञ्चार्ज शम्भु सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल, राप्ती नगरपालिका प्रमुख प्रभा बराल, बागमती प्रदेशका पूर्वकृषि मन्त्री दावाद्वोर्जे लामा लगायतले आ-आफ्नो भनाई राखेका थिए । 

विषयगत उत्पादक, सामुदायिक र वर्गाीय किसानका २२ संगठनका प्रतिनिधिहरुको कार्यक्रममा सहभागीता रहेको छ। भोलि शनिबारसम्म जारी रहने सो संयुक्त राष्ट्रिय भेलामा किसानका सबै प्रदेश कमिटी र ७७ जिल्लाका ३०० भन्दा बढी किसान प्रतिनिधिको सहभागीता रहेको अखिल नेपाल किसान महासंघ चितवनका सचिव सिपी अधिकारीले जानकारी दिए । 

उक्त  भेलामा २२ विषयगत संघको समुहगत छलफल हुनेछ भने कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकिकरणका सन्दर्भमा राष्ट्रिय भेलामा छलफल हुनेछ। सो भेलाले किसानको समस्या र मुद्दालाई एकताबद्ध ढंगले उठान गरि अगाडि लगिने अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दंगालले बताए। राष्ट्रिय भेला पश्चात किसान महासंघले शनिबार चितवन घोषणा पत्र जारी गर्ने समेत जनाईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!