नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी रोकेरै भित्तो काट्ने तयारी

Posted on: 23 Nov, 2016


मङ्सिर ८, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा चाडपर्व सकिएसँगै गाडी रोकेर भित्तो काट्ने र सडक फराकिलो बनाउने तयारी सुरु गरिएको छ । 

गत वर्ष केही महिना दिउँसो चार घण्टासम्म सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकखण्डको ३२ किलोमिटरमध्ये १९ दशमलब पाँच किलोमिटर क्षेत्रमा भित्तो काटेर सडक फराकिलो बनाउनुपर्नेछ । 

खनालले भने-, “अग्लो पहाड र साँघुरो सडक भएकाले गाडी नरोकी काम गर्न मिल्दैन ।” आयोजनाले निर्माण कम्पनीलाई गाडी रोक्दै गर्दा उपकरण र जनशक्ति बढाउनुपर्ने जनाउँदै आएको छ । 

के कति उपकरण र जनशक्ति निर्माण गर्न सक्छ, सोही आधारमा स्थानीय प्रशासनसँग सहकार्य गरी बाटो चौडा बनाउन सवारी रोक्न आग्रह गरिने खनालले बताए । 

सवारी नरोकी भित्तो काट्न भने असम्भव छ । सकेसम्म चाँडो भित्तो काट्नका लागि सवारी रोकिदिन निर्माण कम्पनीले दबाब दिँदै आएको छ । सो सडकखण्ड धुलाम्मे बनेपछि आयोजनाले फराकिलो बनिसकेका ठाउँमा कालोपत्रेको तयारी गर्न भनेको छ । 

इञ्जिनियर खनालका अनुसार पुसको दोस्रो साताबाट सडकखण्डमा कालोपत्रे थालिंदै छ । सो सडकको आँपटारी, रामनगर, दासढुङ्गा, घुमाउनेलगायतका ठाउँमा अत्याधिक धुलो उड्नाले सवारी साधन, यात्रु र स्थानीयले सास्ती व्यहोर्दै आएका छन् । 

सडकमा दैनिक तीनवटा ट्याङ्करले पानी छर्केको भएपनि त्यो अपुग भएको बताइएको छ । हालसम्म ४० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा ३० दशमलब पाँच प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ । 

ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ । 

सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ । विश्व बैंकको रु दुर्य दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवेअन्तर्गतको एएच४टु खण्डअन्तर्गत नारायणगढ मुग्लिन सडकखण्ड पर्दछ । 

इञ्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौंडा र वीरगन्जबाट भारतको मोजफ्रपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!