नारायणगढ-मुग्लिन सडक भासियो, यातायात अवरुद्ध

Posted on: 31 Aug, 2017


भदौ १५, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ । एकतर्फी सडक सञ्चालन गरेमा दिउँसो २ बजेसम्ममा काम सम्पन्न हुने भए पनि दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उहाँले बताउनुभयो । 

सडक भासिएका ठाउँका सडक नौ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो । 

सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ । 

सो सडकको पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध भएको हो । जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक÷एक स्थानमा पहिरो खसेको थियो । आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार जलबिरे बाहेक अन्यत्रको पहिरो भने पन्छाइसकिएको छ । केही समयमा जलबिरेको पहिरो पनि पन्छाइसकिने उहाँले बताउनुभयो । खोलाबाट लेदो झरेकाले सो ठाउँमा सडक अवरुद्ध भएको हो । 

पहिरोको जोखिमका कारण साउन अन्तिम साताबाट रातको समयमा सवारी आवागमन रोकिँदै आएका थिए । पहिरो खसेपछि हिजो साँझबाट सडकमा रोकिएका सवारीसाधन अलपत्र परेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!