मिति सकिनै लाग्दा पनि काममा अन्योल

Posted on: 12 Feb, 2018

माघ २९, चितवन | नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका लागि तोकिएको समय सकिनै लाग्दा भित्तो काट्ने कि क्यान्टिलिभर (सडकभन्दा बाहिर टप निकाल्ने कार्य) राख्ने भन्ने विषयमा अन्योल भएको छ । उक्त सडकखण्डको मुग्लिन नजिक भिरमा यसअघि क्यान्टिलिभर राख्ने भनिए पनि अझै निर्णय हुन सकेको छैन । 

ठेकेदार कम्पनीले बढी रकम माग गरेपछि टुंगोमा पुग्न नसकेको आयोजना स्रोतले जनाएको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले मुग्लिनदेखि नारायणगढतर्फ चेपाङडाँडासम्मको नौ ठाउँमा गरी १२३ मिटर क्षेत्रमा क्यान्टिलिभर राख्नु पर्ने देखिएको बताउनुभयो । ती ठाउँमा क्यान्टिलिभर राख्ने विषयमा ठेकेदार कम्पनीसँग आर्थिक कुरा नमिल्दा ठेक्का मिति सकिन लाग्दासमेत टुंगोमा नपुगेको हो । 

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार क्यान्टिलिभर राख्ने भनिएका ठाउँमा अग्ला पहाड छन् । सो क्षेत्रमा ५ दशमलव ५ मिटर फराकिलो सडक थियो । केही भित्तो काटेर ७ दशमलव ५ मिटर फराकिलो बनाइएको छ । 

खनालका अनुसार ती क्षेत्रमा नौ मिटर फराकिलो सडक बनाउनु पर्ने हुन्छ । सडक छेउको पहाड ५३ मिटरसम्म अग्लो भएकाले भित्तो काट्न कठिन भएको उहाँले बताउनुभयो । क्यान्टिलिभरबाट एक दशमलव ६५ मिटरसम्म फराकिलो बनाउन सकिने छ । नपुग चौडाइका लागि केही भित्तो काट्न सकिने हुँदा क्यान्टिलिभर नै उपयुक्त हुने आयोजनाको ठम्याइ छ । 

सो क्षेत्रमा सडकभन्दा तल त्रिशूलीसम्म पनि ठाडो भिर छ भने माथि पनि ठाडै पहाड छ । ठूला ठूला आरसिसी स्ल्याब निर्माण गरी सडकभन्दा बाहिरसम्म पुग्ने गरी बिछ्याएर सडक चौडा बनाउने प्रविधि क्यान्टिलिभर हो । नेपालमा हालसम्म भएकाभन्दा उच्चस्तरको क्यान्टिलिभर यहाँ निर्माण गर्ने योजना बनाइएको छ । क्यान्टिलिभर उठाउने, जडान गर्नेलगायतका काममा थप रकम ठेकेदारलाई दिनुपर्ने हुन्छ । जसका लागि ठेकेदार कम्पनीले रु पाँच करोडभन्दा बढी माग गरेको आयोजना स्रोतले जनाएको छ । आयोजनाले यसरी काम थप हुँदा सरकारी नियमअनुसार मात्रै दिने जनाउँदै आएको छ । 

उक्त क्षेत्रको ठेक्का सुप्रिम रौताहा जेभीको पाएको छ । आयोजनाको ठेक्का मिति आउँदो साता सकिँदैछ तर ठेकेदार कम्पनीले गतवर्षको वर्षात्, स्थानीय, प्रदेश र संघको निर्वाचन, चाडपर्वलगायतका कारण काम गर्न नपाएको भन्दै समय थप माग गर्दै आएको छ । 

हालसम्म तीन वटा खण्डमा गरेर १७ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको छ । उक्त सडक ३३दशमलव २ किलोमिटर लामो छ । सो सडक तीन तह कालोपत्र गरिँदै छ । समग्रमा उक्त सडकखण्डमा ७४ प्रतिशतमात्रै काम भएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!