भरतपुर महानगरमा १२ तले बहुद्देश्यीय भवन बनाउँदै

Posted on: 30 Dec, 2018

पुस १५, चितवन (रासस) | भरतपुर महानगरपालिकाले सुविधा सम्पन्न बहुद्देश्यीय व्यावसायिक भवन निर्माण गर्ने भएको छ । 

महानगरपालिकाको वडा नं ३ नारायणगढको लायन्स चोकमा रहेको पुरानो सब्जीमण्डी भएको ठाउँमा व्यावसायिक भवन निर्माण गर्न लागिएको हो । सो ठाउँमा १० कठ्ठा १५ धुर जग्गा रहेको छ । महानगरपालिकाका शहरी योजनाकार ‘आर्किटेक’ इञ्जिनीयर अस्मिता खनालका अनुसार १२ तलाको बहुद्देश्यीय भवन बनाउन नक्साङ्कनको काम भइरहेको छ । महानगरपालिकाले अरनिको डिजाइनर्स एण्ड प्लानर्स प्रालिलाई नक्साङ्कनको जिम्मा दिएको छ । नक्साङ्कनलाई अन्तिम रुप दिनमात्र बाँकी रहेको खनालले बताउनुभयो । 

खनालका अनुसार भूमिगत तला पार्किङको व्यवस्था गरिँदै छ । एक हजार ७१२ स्क्वायर मिटरको भूमिगत तलामा ५० गाडी र ६५ मोटरसाइकल अट्ने खनालले बताउनुभयो । भुइँ तला एक हजार ५१५ स्क्वायर मिटरको छ । चार तलासम्म सोही हाराहारी क्षेत्रफलको हुनेछ । त्यसपछि क्रमश क्षेत्रफल घट्दै जाने खनालले बताउनुभयो । 

चार तलासम्म व्यावसायिक सटर हुनेछन् भने त्यसमाथि दुई व्यावसायिक हल, दुई सिनेमा हल, जिमहल, फुडकोट, रेष्टुरेन्ट, कार्यालय प्रयोजनलगायतका काममा प्रयोग हुने गरी नक्साङ्कन गरिएको छ । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शहरी विकास कोषको सहयोगमा भवन बनाउन लागिएको बताउनुभयो । यकिन लागत आई नसके पनि करीब रु ८० करोडको हाराहारी खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो । यस भवन बनेसँगै बजारको व्यवस्थापनमा सहजता आउने उहाँले बताउनुभयो । भवनलाई आकर्षक बनाइने भन्दै उहाँले व्यवस्थित बजार विकासमा सहयोगी बन्ने बताउनुभयो । महानगरपालिका वडा नं ३ का वडाध्यक्ष चन्द्रमित्र पण्डितले महानगरको मुख्य बजार नारायणगढ क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउनेका क्रममा बहुद्देश्यीय भवन बन्न लागेको बताउनुभयो । 

सो ठाउँको तरकारी बजार क्षेत्रपुरमा सरेपछि त्यहाँ भवन बनाउन लागिएको हो । केही दिनमानै नक्साङ्कनको टुङ्गो लागेर निर्माणको प्रक्रिया अघि बढ्ने पण्डितले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!