भरतपुर अस्पतालको स्तरोन्नति, अब ५०० श्ययाको सेवासुविधा प्राप्त हुने

Posted on: 20 Feb, 2019

फागुन ८, चितवन (रासस) | भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले मङ्गलबार अस्पताललाई पत्राचार गरी स्तरोन्नतिबारे जानकारी गराउनुभएको हो । मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताललाई मङ्गलबारदेखि भरतपुर विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा नामाकरण गरी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी पत्रमा उल्लेख गरिएको छ । 

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेलले अस्पतालको स्तरोन्नति भएको पत्र प्राप्त भएको बताउनुभयो । अब अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा सङ्घीय सरकारले उपलब्ध गराउनेछ । हाल अस्पतालमा सरकारले १५० श्यया सुविधा उपलब्ध गराएको छ । चार सय ५० श्यया विकास समितिमार्फत सञ्चालन गरिएको छ । अब केन्द्रीय सरकारबाटै ५०० श्ययाको सेवासुविधा प्राप्त हुने पौडेलले बताउनुभयो । 

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा दैनिक एक हजार ५०० हाराहारीमा बिरामी उपचारका लागि आउने गर्छन् । चितवनसहित १२ जिल्लाका बिरामी उपचारका लागि नियमित आउने गरेको पौडेलले बताउनुभयो । अस्पतालमा १३ विभागमार्फत बिरामीको उपचार गरिँदै आएको छ । 

महानगरमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र 

भरतपुर महानगरपालिका–९ मा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र मङ्गलबारदेखि सञ्चालनमा आएको छ । केन्द्रको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । दाहालले १०२ वर्षीया विष्णुकुमारी खड्का र ९५ वर्षीया भागिरथी खड्कालाई बिरामी जाँचको पूर्जी दिएर केन्द्रको विधिवतरूपमा शुभारम्भ गर्नुभएको हो । 

सो अवसरमा महानगर प्रमुख दाहालले महानगरवासी स्वस्थ र स्फूर्त हुनुपर्छ भन्ने मान्यताका साथ केन्द्रको शुरूआत गरिएको बताउनुभयो । सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क रूपमा प्रवाह गर्नुपर्ने नीतिअनुरूप नै यो सेवा भरतपुर महानगरपालिकाले शुरू गरेको हो । सो केन्द्रले प्रवाह गर्ने सम्पूर्ण सेवा निःशुल्क हुनेछ । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट अधिकतम सेवा लिन सेवाग्राहीलाई आग्रह गर्दै प्रभावकारी सेवा प्रवाह गर्न केन्द्रका कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो । महानगरपालिकाले ‘एक वडा एक स्वास्थ्यचौकी’को रूपमा विकास गर्ने योजना लिएको छ । 

शहरी स्वास्थ प्रवद्र्धन केन्द्र भरतपुर महानगरपालिकाले पहिलो पटक शुरू गरेको हो । केन्द्रमा सर्ने र नसर्ने रोगको निःशुल्क उपचार परामर्श प्रदान गरिनेछ । यहाँ बहिरङ्ग सेवा, निःशुल्क मातृत्व सेवा, सरूवा रोगसम्बन्धी सेवा, आयुर्वेद र परम्परागत सेवा, निःशुल्क औषधि सेवा, महामारी तथा विपत् व्यवस्थापन सेवा, योग तथा सहजीकरण सेवा, वृद्धवृद्धा स्वास्थ्य योग सेवालगायतका सेवा उपलब्ध हुनेछ । सेवा प्रवाह गर्न चिकित्सकसहित १० जनाको दक्ष जनशक्ति छ । भरतपुर महानगरमा १३ स्वास्थ्यचौकी, ६ आयुर्वेदिक औषधालय र चार बर्थिङ सेन्टर छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!