गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा, निःशुल्क मुटु परीक्षण

Posted on: 11 Jun, 2019

जेठ २८,चितवन | चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको सबै वडामा स्वास्थ्य सेवा पुगेको छ । गाउँपालिकाले यसअघि स्वास्थ्य सेवा नपुगेका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सबै वडामा स्वास्थ्य सेवा पुगेका हुन् । गाउँपालिकाले सबै नागरिकलाई वडाबाटै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित यसअघि स्वास्थ्य सेवा नपुगेका वडा र दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “वडाबाटै नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने अभियानअन्तर्गत सबै वडाबाट स्वास्थ्य सेवा दिन शुरु गरेका हौँ, हामीले स्वास्थ्यचौकी नभएका वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थपना गरी स्वास्थ्य सेवा शुरु गरेका छौँ ।”गाउँपालिकाले वडा नं १ भाराङ, वडा नं २ मायाटार, वडा नं ३ माझगाउँ र वडा नं ७ भालुमारा स्याङ्दीमा गरी चार सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । अहिले गाउँपालिकामा रहेको सात वडामा पाँच स्वास्थ्यचौकी र चार सामुदायिक स्वास्थ्य एकाइ गरी नौ स्वास्थ्य संस्था छन् । अध्यक्ष गुरुङका अनुसार सबै सामुदायिक स्वास्थ्य एकाइलाई बर्थिङ सेन्टरको रूपमा विकास गरिनेछ । गाउँपालिकाको विकट क्षेत्रमा आवश्यकतानुसार सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिने उहाँले बताउनुभयो ।यसअघि साविकको गाविस चण्डीभञ्ज्याङमा दुई, दारेचोकमा एक, काउलेमा एक र दाहाखानीमा एक गरी पाँच स्वास्थ्यचौकी थिए । यी चार गाविस मिलेर इच्छाकामना गाउँपालिका बनेको हो । पच्चीस श्ययाको अस्पताल बन्ने प्रक्रिया अघि बढिसकेको पनि अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

निःशुल्क मुटु परीक्षण

गाउँपालिकाभित्र रहेका सबै बालबालिकाको निःशुल्क मुटु परीक्षण गरिने भएको छ । गाउँपालिकाले हरेक महीना सबै गाउँका विद्यालयमा स्वास्थ्य टोली पठाएर बालबालिकाको निःशुल्क मुटुको परीक्षण गर्नेभएको हो । पछिल्लो समय बालबालिकामा मुटुको समस्या जटिल बन्दै गएकाले समयमै रोग पत्ता लगाई उपचार गर्न निःशुल्क परीक्षण गर्ने कार्यक्रम ल्याइएको अध्यक्ष गुरुङले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!