माडी–भरपतपुर सडक खुल्यो, ठोरी सडक अझै खुल्न सकेन

Posted on: 22 Jun, 2019

असार ७, चितवन | अविरल वर्षाका कारण बिहानैदेखि अवरुद्ध चितवनको भरतपुर–माडी सडक सञ्चालनमा आए पनि माडीदेखि पर्साको ठोरी जोड्ने सडक भने अझै खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाका अनुसार ठोरीबाट भरतपुरका लागि छुटेका यातयातका साधन बगई खोला तर्न नसके पनि ठोरीतर्फ फर्काइएको छ । बाढीका कारण सडक बिग्रिएकाले ठोरी–माडी सडक कहिले सञ्चालन हुन्छ भन्ने यकिन नभएको उहाँले जानकारी दिनुभयो ।

बाढीले माडी वडा नं १ को चैनपुर र लक्ष्मुनिया जोड्ने दौजर खोलामा निर्माणाधीन पुलमा क्षति पुगेको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ढलान गर्न तयार गरिएको ट्रस बाढीले भत्काएको उहाँको भनाइ छ । पुल जनश्रमदानसहित रु ६२ लाख ५० हजार लागतमा निर्माण गर्न लागिएको थियो ।

माडी नगरपालिका भएर बग्ने रिउ खोलामा पानीको बहाव उच्च रहेको प्रहरीले जनाएको छ । अझै सिमसिम पानी परिरहेको स्थानीयले बताएका छन् । रिउ नदी खतराको तहमा रहेकाले खोलाका तटीय क्षेत्रमा उच्च सतर्कता अपाउन माडी नगरपालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ । दक्षिण चितवनको माडी वर्षेनी बाढीका कारण प्रभावित हुने गर्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!