भाटभटेनी सहित चितवनमा बिभिन्न व्यवसायीलाई जरिवाना

Posted on: 15 May, 2020

जेठ २, चितवन | लकडाउनको मौका छोपी कालोबजारी गरेको अभियोगमा यहाँको भाटभटेनी सुपर मार्केटलाई स्थानीय प्रशासनले रु एक हजार जरिवाना र एक महिना कैदको सजाय सुनाएको छ । उपभोक्ताको गुनासोपछि प्रशासनले गरेको अनुगमनका क्रममा भाटभटेनीले प्रचलित मूल्यभन्दा बढीमा सामग्री बेचेको भेटिएको थियो । 

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार  तरकारीमा बजारको प्रचलित मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई कारवाही गरिएको हो । भाटभटेनीका तर्फबाट भरतपुरका व्यवस्थापक जमुना गुरुङलाई सो सजाय सुनाइएको थियो । निज गुरुङले कैद बराबरको जरिवाना रकम तिरेर छुटेको उहाँले जानकारी दिनुभयो । 

यसैगरी रत्ननगरमा रहेको पौडेल पुस्तक महलका सञ्चालक हरिनारायण उपाध्यायलाई बढी मूल्यामा पुस्तक बेचेपछि एक महिना कैद र रु एक हजार जरिवाना गरिएको छ । निजले पनि कैदवापतको जरिवाना तिरी रिहा भएको प्रशासनले जनाएको छ । 

यस्तै महङ्गो मूल्यमा फलफूल बिक्री गर्ने चार व्यवसायीलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा  काठमाडौँ फ्रुड्स र आचार्य फ्रुड्स नारायणगढलाई रु २५/२५ हजार र हिमालय फ्रुड्स तथा सुभम फ्रुड्सलाई रु १०/१० हजार धरौटी तोकिएको उहाँले जानकारी दिनुभयो । बजार अनुगमनका क्रममा उनीहरुले उपभोक्तालाई बजार मूल्यभन्दा महङ्गो मूल्यमा बिक्री गरेको पाइएपछि धरौटी तोकी तारेखमा छाडिएको सिम्खडाले बताउनुभयो । उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(५) बमोजिम कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । लकडाउनको मौका छोपी महङ्गोमा सामान बिक्री गर्नेलाई स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने काम गरिरहेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!