एमालेको मेची–महाकाली अभियान पुनः भोलिदेखि सुरु

Posted on: 08 Mar, 2017

चितवन, २५ फागुन । सप्तरीको राजविराजमा झडप भएपछि स्थगित भएको नेकपा (एमाले) को मेची महाकाली अभियान भोलिबाट पुनः हेटौडादेखि सुरु हुने भएको छ । 

नेकपा (एमाले) चितवनले पत्रकार सम्मेलनको आयोजना गरी फागुन २८ गते जिल्लामा वृहत र्याली र आमसभा गर्ने जनाएको छ । जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले केन्द्रीय अध्यक्षसहित तीन शीर्ष नेताले सभालाई सम्बोधन गर्ने बताए । 

बिहान जिल्लाको लोथरबाट शीर्ष नेतासहितको पाँचहजार भन्दा बढीको मोटरसाइकल र्याली भरतपुरको चौबिस कोठीमा आएर जम्मा हुने सहभागीसहितको वृहत र्याली नदी किनारमा पुगेर सभामा परिणत हुने  उनले जानकारी दिए । 

सभामा ५० हजार सहभागी हुने लक्ष्य राखिएको बताउँदै पोखरेलले र्यालीमा विभिन्न जातजाति, समुदायको झाँकी प्रस्तुत गर्ने पनि बताए । सो अवसरमा जारी विज्ञप्तिमा फागुन २३ गते सप्तरीमा भएको शान्तिपूर्ण आमसभा बिथोल्ने प्रयास भएकोमा दुःखव्यक्त गरिएको छ । 

फागुन २१ गते पूर्वको काँकडभित्ताबाट सुरु भएको अभियान चैत ७ गते सुर्खेतमा पुगेर सम्पन्न हुँदैछ । सप्तरीमा झडपपछि अभियान तीन दिनका लागि स्थगित गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!