उम्मेदवारको टुङ्गो लगाउनै कठिन !

Posted on: 23 Apr, 2017

बैशाख १०, चितवन | लामो समयपछि स्थानीय तहको निर्वाचनमा आकाङ्क्षी बढेपछि दलहरुलाई उम्मेदवार चयन गर्न कठिन भएको छ । 

वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनमा जिल्लाबाट–५ सय चारजना जनप्रतिनिधि निर्वाचित हुँदैछन् । उनीहरुले मनोनित गर्ने २० जनासहित यो सङ्ख्या पाँच सय २४ पुग्ने छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छ । सबै दलले वडा तहको उम्मेदवारको टुङ्गो अन्तिम चरणमा पुर्याए पनि प्रमुख र उपप्रमुखमा भने आकाङ्क्षी बढी भएपछि टुङ्गाउन कठिन भएको जनाएका हुन् । 

नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठले राप्ति नगरपालिका र इच्छा कामना गाउँपालिकाको प्रमुख र उपप्रमुखसहित सातै तहका सबै ९८ वडा अध्यक्ष र सदस्य टुङ्गो लागेको बताउनुभयो । 

नेपाली काँग्रेसले राप्ति नगरपालिकाको प्रमुखमा किरणभूषण ओली र उपप्रमुखमा अनिता मैनालीलाई उठाउने भएको छ । त्यसैगरी इच्छा कामना गाउँपालिकामा गीता गुरुङ्लाई प्रमुख र कृतिकुमार श्रेष्ठलाई उपप्रमुखमा उठाउने भएको छ । भरतपुर महानगरमा प्रमुखका लागि मात्र ३४ जना र उपप्रमुखका लागि १५ जनाले इच्छा व्यक्त गरेको सभापति श्रेष्ठले बताउनुभयो । 

नेकपा एमालेले भरतपुर महानगरपालिका– २ नम्बर वडा र रत्ननगर नगरपालिकाको १, तीन र १५ बाहेक स्थानीय तहका सबै वडामा उम्मेदवारको टुङ्गो लगाएको जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले बताउनुभयो । नेकपा एमालेले भरतपुर महानगरका लागि प्रमुखमा केशवलाल श्रेष्ठ, देवी ज्ञवाली र विजय सुवेदीको नाम केन्द्रमा सिफारिस गरेको छ । 

रत्ननगर नगरपालिकाको प्रमुखमा नारायण वन, उपप्रमुखमा विमला दुवाडी, खैरहनी नगरपालिकाको प्रमुखमा लालमणि चौधरीलाई उठाउने भएको छ भने उपप्रमुखको टुङ्गो लाग्न बाँकी रहेको पोख्रेलले बताउनुभयो । 

त्यसैगरी राप्तिको प्रमुखमा प्रभा बराल, उप प्रमुखमा इमानसिंह लामा, माडि नगरपालिकामा नारदमणि पौडेल प्रमुखमा र ताराकाजी थारु उपप्रमुखमा, इच्छाकामना गाउँपालिकाको प्रमुखमा नारायण अधिकारी र उपप्रमुखमा जुनाराज भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । कालिका नगरपालिकाको प्रमुखमा खुमनारायण श्रेष्ठ र उपप्रमुखको टुङ्गो लाग्न बाँकी रहेको पार्टीले जनाएको छ । 

नेकपा (माओवादी केन्द्र)को भरतपुर महानगरपालिकाको प्रमुख, उपप्रमुख र चार वटा वडा बाहेक अन्य वडामा उम्मेदवारको टुङ्गो लागेको जिल्ला संयोजक यमबहादुर परियारले बताउनुभयो । केन्द्रको रत्ननगर नगरपालिकामा दुईवटा बाहेक अन्य वडाको उम्मेदवारको टुङ्गो लागेपनि प्रमुख र उपप्रमुखको टुङ्गो लाग्न बाँकी रहेको छ । केन्द्रले कालिका नगरपालिकाको प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामा, राप्ति नगरपालिकाको प्रमुखमा रामचन्द्र पाठक, उपप्रमुखमा कल्पना लामा र इच्छाकामना गाउँपालिकामा प्रमुखमा प्रताप गुरुङ र उपप्रमुखमा सावित्री चिलवाललाई उठाउने भएको छ । माडी, खैरहनी र रत्ननगर नगरपालिकामा वडामा टुङ्गो लागे पनि प्रमुख र उपप्रमुखमा टुङ्गो नलागेको संयोजक परियारले बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहका वडास्तरमा करिब टुङ्गो लगाउने अवस्थामा पुगेको जनाएको छ भने राप्ति र माडी नगरपालिकामा भने प्रमुखको पनि टुङ्गो लगाएको जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार वडामा ८० प्रतिशत उम्मेदवारको टुङ्गो लागिसकेको छ । 

राप्ति नगरपालिकामा प्रमुखमा एस के बर्तौलालाई उठाउने भएको छ भने उपप्रमुखको टुङ्गो लाग्नसकेको छैन । माडी नगरपालिका प्रमुखमा मदन पौडेल र उपप्रमुखमा मीना महतोलाई उठाउने भएको छ । इच्छाकामना गाउँपालिकाको प्रमुखमा पुरन सुनुवार उठाउन लागेको छ, भने उपप्रमुखको टुङ्गो नलागेको तिमिल्सिनाले बताउनुभयो । 

भरतपुर महानगरमा प्रमुखमा आफ्नै नाम प्रस्ताव आएको भए पनि टुङ्गो लगाइनसकेको तिमिल्सिनाले बताउनुभयो । आकाङ्क्षी बढी भएपछि दललाई उम्मेदवारको टुङ्गो लगाउन कठिन भएको हो । भोलिसम्ममा महानगरको प्रमुख र उपप्रमुख बाहेक अन्य पदका उम्मेदवारको टुङ्गो लाग्ने दलहरुले जनाएका छन् । महानगरको भने सबै दलहरुले केन्द्रमा सिफारिस गर्ने भएका छन् । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!