अब अर्ना र बाह्रसिङ्गे चितवनमै

Posted on: 15 Jan, 2017

(नारायण ढुंगाना) | माघ २, रत्ननगर (चितवन) | बाघ र गैँडा पाइने चितवन निकुञ्जमा अब अर्ना र बाह्रसिङ्गे पनि खेल्छन् । यसले पर्यटकलाई लोभ्याउने त छँदै छ, जनावरको प्राकृतिक बासस्थानको विस्तार पनि हुन्छ । 

यस्तो अवसर जुर्न अब धेरै दिन बाँकी छैन । प्रकृतिले साथ दिए एक हप्ताभित्रमा सबै काम पूरा हुँदैछ । अहिले प्राविधिक टोलीहरु स्थानान्तरणकै प्रक्रियामा खटिएका छन् । पर्यटकलाई अर्ना हेर्न कोसीटप्पु नै जानुपर्ने बाध्यता हट्दैछ । यही माघ ३ या ४ गते टोली अर्ना लिन पूर्व प्रस्थान गर्दैछ । निकुञ्ज विभागले दुर्लभ वन्यजन्तु अर्नालाई कोसीटप्पुबाट ल्याएर चितवन राष्ट्रिय निकुञ्जमा यही माघ १० गते सार्वजनिक गर्ने गरी तयारी थालिसकेको छ । 

पूर्वयोजनाअनुसार प्रकृतिले साथ दिए पहिलो चरणमा दुईवटा अर्ना ल्याएर चितवन निकुञ्जमा सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । 

उहाँकै नेतृत्वमा आज संरक्षणकर्मी र प्रविधिज्ञ सहितको टोलीले अर्ना ल्याउने स्थान र त्यसलाई ल्याउन प्रयोग गर्ने काठको बाक्साको स्थलगत निरीक्षण गरेको छ । “अब एकदुई दिनमै टोली जान्छ कोसीटप्पुमा, अनि अर्नालाई ट्राप गरेर ल्याइने छ, चितवनमा राख्ने स्थानको भने सबै तयारी पूरा भइसक्यो,” उहाँले भन्नुभयो । 

कोसीको भौगोलिक बनावट अलि फरक छ । त्यसैले योजनाअनुसार अर्ना ट्र्याप सकिन्छ या सकिन्न यसमा संरक्षणकर्मी गम्भीर भएर लागेका छन् । अर्ना ल्याउन दुईवटा खोर बनाइएको छ भने दुईवटा खोर गैँडा स्थानान्तरणका बेलाको छ । फलाम र काठबाट बनाइएको खोरमा हालेपछि ट्रकमा राखेर अर्ना ल्याइन्छ । जुन दिन अर्ना समातिन्छ त्यही दिन ल्याउन जरुरी हुने भएकाले संरक्षणकर्मी आवश्यक तयारीमा जुटेका छन् । 

आज माघ २ गते नै टोली जाने भनिए पनि प्राविधिक तयारी नपुगेकाले भोलि या पर्सिमा टोली पठाउने उहाँको भनाइ छ । अर्ना यसरी एक ठाउँको संरक्षित क्षेत्रबाट अर्काे स्थानमा लान लागिएको यो पहिलो हो । 

यसअघि कोसीबाट चिडियाखानामा अर्ना लगिएको थियो । तर त्यो बेलामा हेलिकप्टरबाट डाट गरिएको थियो । यसपटक भने मानिसले नै डाट गरेर अर्ना ल्याइने भएकाले यो पहिलो अनुभव हुने खड्का बताउनुहुन्छ । 

पहिलो चरणमा दुईवटा अर्ना ल्याइने र त्यसको अनुभवका आधारमा क्रमैसँग ल्याइने जनाइएको छ । अर्ना ल्याएपछि बाह्रसिङ्गे ल्याउने प्रक्रिया थालिनेछ । दुर्लभ तथा संरक्षित बाघ र गैँडाको मुख्य बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जमा अब अर्ना र बाह्रसिङ्गे पनि थपिन लागेकाले यहाँका संरक्षणकर्मी उत्साहित छन् । 

पहिलोपटक यसरी अर्ना ल्याउन लागिएकाले आवश्यक अध्ययन भइरहेको छ । कुल पाँच भालेसहित २० अर्ना र २५ बाह्रसिङ्गे ल्याउन लागिए पनि पहिलो चरणमा दुईवटा अर्ना ल्याइने निकुञ्ज विभागले जनाएको छ । तिनीहरुलाई राख्न चितवन निकुञ्जको पूर्वी सेक्टरस्थित पदमपुर ब्लकमा ३० हेक्टर जमिन छुट्याएर ‘इन्क्लोजर’ तयार पारिएको छ । बाघ पस्न नसक्ने सुरक्षित विशेष क्षेत्रलाई इन्क्लोजर भनिन्छ । आवश्यक तयारी पूरा भएको चितवन निकुञ्ज पूर्वी सेक्टरका प्रमुख अभिनय पाठकले जानकारी दिनुभयो । चितवन निकुञ्जले पानीको स्रोत, ताल, घाँसेमैदानलगायत आवश्यक सबै व्यवस्थापन गरेर इन्क्लोेजर तयार पारेको हो । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका ओभरसियर आनन्द थापा इन्क्लोजर बनाउन सक्रिय हुनुहुन्छ । उहाँका अनुसार बीचमा जाली राखेर दायाँ बायाँ दुई–दुई फिटमा विद्युतीय तारबार बनाइएको छ । अनि रिङ्गै घेरिएको छ । बीचमा अर्ना र बाह्रसिङ्गे राखिनेछ । “यसले बाहिरका जनावरभित्र आउन दिँदैन र भित्रका जनावर बाहिर जान दिँदैन, विद्युतीय झड्का दिन्छ”, थापाले भन्नुभयो । साढे २ महिना लगाएर इन्क्लोजर बनाइएको हो । यहाँ वंश विस्तार भएपछि मात्रै अर्नालाई खुला छाडिनेछ । 

कोसीटप्पुमा अहिले चार सय ३२ वटा अर्ना रहेका छन् । त्यसमध्ये पाँच भालेसहित २० वटा चितवन ल्याउन लागिएको हो । दुई हजार दुई सयभन्दा बढी शुक्लाफाँटामा बाह्रसिङ्गे छन् । बर्दियामा एक सय जति छ । अर्ना भने कोसीमा मात्रै पाइन्छ । अर्ना ल्याइएपछि बर्दियामा गैँडा स्थानान्तरणको सुरु काम हुने निकुञ्ज विभागले जनाएको छ । गएको वर्ष बर्दियामा पठाइएको पाँचवटा गैँडा अहिले राम्रो अवस्थामा छन् । एउटाले बच्चा जन्माइसकेको छ । 

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पदमपुर क्षेत्रमा अर्ना र बाह्रसिङ्गे राखिने र बासस्थानका लागि चाहिने पूर्वाधारसमेत बनाइएको बताउनुहुन्छ । हरियो वन कार्यक्रमले तारजालीलगायत आवश्यक सामग्री उपलब्ध गराएको हो । अर्नाका लागि चार सय मिटर लामो ताल निर्माण भएको छ । घाँसेमैदान बनाइएको छ । “अर्नाका लागि उपयुक्त नै छ, तर बाह्रसिङ्गेका लागि छोटा घाँस चाहिने हुन्छ, हामी त्यसको व्यवस्थापन गरिरहेका छौँ,” निकुञ्जका सूचना अधिकारी अर्यालले भन्नुभयो । 

दुबै क्षेत्रका प्रविधिज्ञ र विज्ञको अनुसन्धानपछि यसरी वन्यजन्तु स्थानान्तरण गर्न लागिएको हो । वन्यजन्तुको वंश संरक्षणका लागि यसरी एक ठाउँबाट अर्का स्थानमा स्थानान्तरण आवश्यक हुने संरक्षणकर्मी बताउँछन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!