फेरि देखियो स्क्रब टाइफस, चारजनामा सङ्क्रमण

Posted on: 20 Jun, 2017


असार ६, चितवन । चितवनमा २०७४ सालको सुरुआतसँगै चारजनामा स्क्रब टाइफस रोग फेला परेको छ । 

गएको पुसदेखि नियन्त्रणमा आएको स्क्रब टाइफस रोग यो वर्षको सुरुआती दुई महिनाको अन्तरालमा चारजनामा रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित हुनेमा चारैजना महिला छन् । तीनजना चितवनका र एकजना नवलपरासीका बिरामी हुन् । 

चितवनमा वैशाख २५ र २९ तथा जेठ महिनाको १ र १२ गते टाइफस रोग लागेको बिरामी फेला परेको हो । असारको प्रतिवेदन भने आइसकेको छैन । चारैजना बिरामी चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा भेटिएका हुन् । 

चितवनमा गएको वर्षदेखि स्क्रब टाइफस रोग देखिएको थियो । गएको वर्ष वैशाखदेखि पुस महिनासम्म यहाँ कुल ५३३ जनामा टाइफस रोग देखिएकामा पाँचजनाको मृत्यु भएको थियो । 

अघिल्लो वर्ष देशभरि ४७ जिल्लामा देखिएको यो रोगबाट सङ्क्रमित कुल ८३० जना बिरामीमध्ये १४ जनाको मृत्यु भएको इपिडिमियोलोडी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिनुभयो । 

अब पुनः चितवनमा रोग देखिन थालेकाले देशभर ७५ वटै जिल्लामा परिपत्र गरेर आवश्यक तयारीका साथ रहन निर्देशन दिइएको लामिछानेले जानकारी दिनुभयो । देशका अन्य क्षेत्रबाट प्रतिवेदन आउन बाँकी छ । 

नेपालमा २०७२ सालमा पहिलो पटक पूर्वी नेपालमा यो रोग देखिएको थियो । त्यो बेला १०१ जनामा सङ्क्रमण हुँदा आठजनाको मृत्यु भएको थियो । 

माइट नामको मुसाको कानमा बस्ने एक प्रकारको सङ्क्रमित किराले टोकेमा यो रोग सर्छ । यो ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट सर्छ । यो रोग मानिसबाट मानिसमा सर्दैन । 

मुसाबाट झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । यो रोग लागेमा १०४ डिग्री जति ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीरका विभिन्न अङ्ग दुख्ने हुन्छ । मुख्यगरी मुसाको नियन्त्रण गर्ने, झारका काम गर्दा सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । 

चितवनमा गएको वर्ष गरिएको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोगको सङ्क्रमण पुष्टि भएको थियो । रोग पत्ता लागेमा उपचार सहज हुने जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका निमित्त प्रमुख नरहरि शर्माले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!