चारकिलोमा पहिरो, नारायणगढ–मुग्लिन सडक बन्द

Posted on: 21 Jun, 2017


असार ७, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो । अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । 

बेलाबेलामा पानी परिरहेकाले पहिरो पन्छाउन समस्या आउने गरेको प्रहरीले जनाएको छ । पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौँ तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको छ । 

दुई दिनअघि पनि यहाँको कालीखोलामा पहिरो खस्दा ८ घन्टा यातायात बन्द हुन पुगेको थियो । मुग्लिन सडक विस्तारका क्रममा रहेकाले यहाँ पहिरो खस्ने क्रम चलिरहेको छ । केही महिनाअघि यहाँ सुक्खा पहिरो खस्दा दुईजनाको ज्यानसमेत गएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!