बाढीले बगाएर भारत पुर्याएको गैंडा नेपाल ल्याउने तयारी

Posted on: 16 Aug, 2017


साउन ३२, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ एकसिँगे गैंडालाई बाढीले बगाएर भारतसम्म पुर्‍याएको भेटिएको छ ।

हालसम्म पहिचानभएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् ।

निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंडाको खोजी गर्दै आएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार बाल्मिकीनगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा दुई वर्षको गैँडा देखिएको छ ।

नदीले बगाएर लगेपछि त्यहाँ उत्रिएको गैंडालाई ल्याउने प्रयास सुरू भएको छ । यस सम्बन्धमा भारतीय अधिकारीसँग कुराकानी भइसकेको भन्दै उनले नारायणगढ- बुटवल सडक खण्डको दाउन्नेमा बाटो सुचारु भएमा सो गैँडा बुधबार ल्याइने बताए ।

सौराहाबाट प्राविधिक टोली त्यसतर्फ गएको छ । बस्तीको बीचमा रहेकाले तत्काल उद्धार गर्न आवश्यक भएको अर्यालले बताए । भारतीय बाल्मिकी टाईगररिजर्बका डिएफओ र सरकारी अधिकारीसँग समन्वय भइसकेकाले बाटो सुचारु भएलगत्तै काम अघि बढ्ने उनले बताए ।

बाढीले अर्को एक गैंडा भारतकै बाल्मिकी नगरमा पुर्‍याएको छ । त्यसैगरी नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र बाल्मिकी आश्रममा एउटा गैंडा भेटिएका छन् ।

गैंडा जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । गैंडाको सुरक्षाका लागिआवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाढीकै कारण डुमरिया पोष्टमा एक रतुवा र एक चित्तल, अमलटारी क्षेत्रमा दुई चित्तल, ध्रुवमा एक चित्तल, निकुञ्जभित्रको सेरीमा एक चित्तल मृतअवस्थामा भेटिएका छन् । राप्ती र नारायणीको बाढीले अरु धेरै जनावर बगाएको र मरेको अनुमान गरिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!