मान्छे खाने बाघको आनीबानी पत्ता लगाउन सिसी क्यामेरा जडान

Posted on: 05 Oct, 2017

असोज १९, चितवन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा मान्छे खाने बाघको आनीबानी पत्ता लगाउन दुई वटा उच्चप्रविधिको सिसी क्यामेरा जडान गरिएको छ । 


बाघको आक्रमणबाट यही असोज १६ गते यहाँ निउरो टिप्न गएकी कुमरोजकी एलिना चौधरीको मृत्यु भएको थियो ।  मान्छेलाई आक्रमण गर्ने बाघ घाइते, रोगी हो या बच्चासँगै छ भन्नेबारेमा जानकारी लिन यहाँ क्यामेरा ट्र्यापिङ विधिको प्रयोग गरेर सिसी क्यामेरा जडान गरिएको चितवन निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । 

अवस्था पत्ता लगाएपछि नियन्त्रणमा लिनुपर्ने देखिएमा बाघलाई डाट गरेर नियन्त्रणमा लिइने पाठकको भनाइ छ ।  स्थानीय समुदायको सहभागितामा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकको टोलीले कुमरोज वनमा दुई वटा सिसी क्यामेरा जडान गरेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका अध्यक्ष ईश्वरी पाठकले जानकारी दिनुभयो । 

पछिल्लो समयमा गरिएको अध्ययनले पश्चिम चितवनमा एउटै बाघले २० जनालाई आक्रमण गरेको पाइएको छ । सो बाघलाई पनि सिसी क्यामेरा राखेर आनीबानी पत्ता लगाउने प्रयास गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा रहेका १२० बाघमध्ये पाँच प्रतिशत बाघ मात्रै समस्याग्रस्त रहेको अध्ययनमा पाइएको छ । 

चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकमा गएको आवमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!